कला


राज्यलाई बिझाएको एउटा पेन्टिङ

कोरोना महामारीका बेला अंग्रपक्तिमा अहोरात्र खटिनेहरुको सम्मानमा कोरिएको चित्रको भित्री कथा, जुन राज्यको कुदृष्टिका कारण लामोसमय बाँच्न सकेन।
राज्यलाई बिझाएको एउटा पेन्टिङ

दुजाङ र उनका साथीहरुले रत्नपार्कको आकासे पुलमुनि बनाएको चित्र (तस्बिर: सुजन श्रेष्ठ)


यज्ञराज जोशी
काठमाडौँ, असार १८

कोरोना संक्रमण भएर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत हजुरआमालाई भेटेर फर्किंदै गर्दा दुजाङ शेर्पाको आँखा रत्नपार्कको आकासे पुलमुनि भित्तामा पुगेर अडियो। संगसंगै संक्रमणका बेला अग्रपंक्तिमा खटिएकाहरुको सम्मानमा केही गरौँ भन्ने उनको हुटहुटी पनि जाग्यो।

खाली भित्तामा रङ र रङहरुमा जीवन भर्ने पुरानो योजना पुरा गर्ने अभियानको सुरुवात दुजाङले त्यहीँबाट गरे। यो गत जेठ दोस्रो साताको कुरा हो। 

‘महामारीका कारण हामी घर बस्यौँ। तर हाम्रा लागि अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, सरसफाइकर्मी, स्वयंसेवी जस्ता फ्रन्टलाइनर ज्यानको परवाह नगरी खटिइरहेका थिए,’ ३० वर्षे दुजाङ आफ्नो योजनाबारे सुनाउँदै थिए, ‘केही स्थानमा उहाँहरुमाथि हातपात भएको, गालीगलौज भएका नकरात्मक समाचार आइरहेका थिए। यस्ता कुराले पनि उहाँहरुको मनोबल कसरी बढाउन सकिन्छ भनेर मैले पहिलेदेखि नै सोच्दै आएको थिएँ।’ 

सम्मान दर्शाउने अरु उपाय नभएका होइनन् तर पेन्टिङ आफ्नो पुरानो रुचि भएकाले त्यही नै छानेको उनको भनाइ छ। 

‘सम्मान भनेको कुरा पैसाले मात्रै हुँदैन भनेर चित्र कोरेर सम्मान दिने योजना बनाएको हुँ,’ उनी थप्छन्, ‘उक्त चित्र हेरेपछि उहाँहरुको परिवारले मेरो आफन्त, भाइ, श्रीमान्, छोरा देशका लागि खटेको छ सेवा गरेको छ भन्ने खुसी प्राप्त होस्।’ 

स्नातकोत्तर तहमा अध्ययनरत दुजाङले सुरुमा त्रिचन्द्र कलेजको पर्खालमा पेन्टिङ बनाउने सोच बनाएका थिए। उक्त पर्खालमा अर्काे कुनै पार्टीको प्रचारप्रसार सामाग्री थियो। दुजाङले क्याम्पस प्रमुखसँग पनि सहमति लिइसकेका थिए। तर पहिले नै भित्ते लेखन गरिसकेकाहरुले उनलाई आफ्नो सामाग्री नमेटाइदिन आग्रह गरेपछि उनी रोकिए।

सोहीक्रममा उनको नजर रत्नपार्कस्थित आकासे पुलको भित्तामा परेको हो। रत्नपार्क आफैंमा काठमाडौंको मुख्य गन्तव्य हो, त्यहाँका हरेक चिजमा दैनिक हजारौंको आँखा पर्छ। ‘हार्ट अफ द सिटी’ भएकै कारण उक्त ठाउँ रोजिएको दुजाङ बताउँछन्।

दुजाङले वडा कार्यालय, महानगरीय ट्राफिक कार्यालय र महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट सहमति लिए। फ्रन्टलाइनरको सम्मानमा पेन्टिङ बनाउने सोच र योजनासहितको कागजात बोकेर वडादेखि प्रहरी कार्यालय सबैतिर धाउँदासम्म उनलाई असहयोग गर्छु कसैले भनेनन्, बरु राम्रो काम गर्न लागेका रहेछौ भनेर धाप नै मारे। 

पेन्टिङ बनाउन सुरुमात्रै भएको थियो। पहिलो दिन नै काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत राजेश्वर ज्ञवाली त्यहाँ पुगेर सोधे– ‘के गर्दै हुनुहुन्छ, कसले अनुमति दियो?’ 

दुजाङले आफ्नो परिकल्पना बताएर वडाले दिएको स्वीकृतिपत्र देखाए।

त्यसपछि ज्ञवालीले भने, ‘महानगरले पनि केही योजना बनाएको थियो तपाईंहरुले गर्नुभएछ, राम्रो भयो।’

यसरी सबै प्रक्रिया पुरा गरेर, राज्यलाई जानकारी दिएर जेठ २४ गते पेन्टिङ थालेका दुजाङको समूहलाई काम सक्न एक हप्ता लाग्यो।

लकडाउनका कारण सुरुमा कलाकार खाज्नै सकस थियो। उनलाई चारजना कलाकारले पेन्टिङ गर्न सघाएका थिए। दुजाङको सपना साकार पार्न सानेठिमी लामा, सुमिना श्रेष्ठ, दीपा शेर्पा र विशाल महर्जनले कुची चलाए। त्यसमा कुन्जाङ शेर्पा, मात्रिका तिमिल्सिना, अभिषेक आत्रेय पौडेल र चन्द्र चौधरीले स्वयमसेवकको रुपमा साथ दिए। अनि सबै फ्रन्टलाइनरको आकार निस्कियो। 

माथि बादल, जहाँबाट भगवान्ले हेरिरहेका थिए। तलपट्टि नागरिकहरुले सलाम गरिरहेको, बीचमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सरसफाइकर्मी, सञ्चारकर्मीलगायत फ्रन्टलाइनका पोट्रेट अनि छायाँमा विभिन्न मानिसहरुका विभिन्नथरि कहानीहरु। दुजाङको समूहले बनाएको चित्रले बोलेको कहानी जम्माजम्मी त्यतिमात्रै थियो। तर, यो राज्यको आँखामा बिझायो। चित्रको सबैभन्दा माथि लेखिएको थियो ‘वि विल राइज अगेन’ अर्थात् हामी फेरि उठ्नेछौँ।

फ्रन्टलाइनमा काम गर्ने कोभिडका कारण ज्यान गुमाएका असइ देवीबहादुर पुरीका भाइ नवीनबाट उक्त चित्रको उद्घाटन भयो। उद्घाटनका दिन फ्रन्टलाइनमा बितेका परिवारका सदस्यहरुले दीप प्रज्वलन गरे। आआफ्नो प्रतिछाया देखेर सबैसबै पुलकित भए, तर खै के डरले हो राज्यलाई त्यो चित्र पच्दैपचेन। 

‘भित्ताको तस्बिर निकाल्यौ, मनको तस्बिर कसरी निकाल्छौ?’
बुधबार दाँत दुखेर घरमै आराम गरिरहेका उनलाई आएको एउटा फोनले टाउको पनि दुखायो। एकजना चिनेका भाइले फोन गरेर उनले बनाएको पेन्टिङलाई महानगरले मेटाउन लागेको खबर सुनाउँदा सुरुमा त उनलाई पत्यारै लागेन। 

ती भाइले नै फोटो पठाएपछि भने उनको टाउको रन्थनियो। तुरुन्त उनले वडाअध्यक्षलाई फोन गरे। वडाअध्यक्षलाई त्यसबारे केही थाहा थिएन। महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यलाई फोन गर्दा फोन उठेन। चारचोटी कार्यकारी प्रमुख ज्ञवालीलाई फोन गरेपनि उनले फोन नउठाएको दुजाङ बताउँछन्। 

फ्रन्टलाइनरको सम्मानका लागि बनाएको पेन्टिङ महानगरले मेटाएपछि दुजाङको मन नराम्ररी दुखेको छ। चित्र त फेरि पनि बनाइएला तर फ्रन्टलाइनरलाई दिइएको सम्मानमा जुन चोट लाग्यो, त्यसको क्षतिपूर्ति के त? दुजाङलाई महानगरपालिकाले जवाफ दिइसकेको छैन।  

‘राम्रो काम गर्नु भनेको पाप रहेछ भन्ने लागेको छ। स्वीकृति लिएर बनाएको पेन्टिङ मेटाउनुअघि कमसेकम एक चोटी भन्न त पथ्र्यो,’ दुजाङ दुखेसो पोख्छन्, ‘यसले हाम्रो मन दुखाएको त छ नै फ्रन्टलाइनरमा खटिएको सम्मानमा राज्य कति अनुदार छ भन्ने पनि देखाएको छ।’

महानगरले उक्त चित्रमाथि सेतो पोतिरहेको दृश्यहरुसहित चिकित्सकहरुले लेखेका छन् ‘भित्ताको चित्र त मेट्नुभयो तर हाम्रो मनमा मेट्न सक्नुहुन्न।’

दुजाङ कांग्रेस समर्थक हुन्। आफ्नो पार्टी फरक भएपनि सकारात्मक भावका साथ गरिएको सामाजिक कार्यलाई नकारात्मक ढंगबाट लिन नहुने उनी बताउँछन्। 

दुजाङ उक्त पेन्टिङ किन हटाइयो, जवाफ नलिई नछाड्ने पक्षमा छन्। आफू ज्ञापन पत्र लिएर मेयर, उपमेयर र वडाअध्यक्षसँग उत्तर माग्न जाने र माफी माग्न लगाउने उनको योजना छ। मेयरले माफी मागेर त्यही ठाउँमा पेन्टिङ पुर्नस्थापना नभए आउनसक्ने परिस्थितिको जिम्मेवारी मेयरले लिनुपर्ने आक्रोश उनले पोखे। 
 

असार १८, २०७८, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .