निर्वाचन विशेष


यी ५ कारणले विष्णु पौडेलको निर्वाचन क्षेत्र जोखिममा

कांग्रेसले भत्कायो बुटवलमा एमालेको गढ
यी ५ कारणले विष्णु पौडेलको निर्वाचन क्षेत्र जोखिममा

फाइल फोटो


सुदीप भण्डारी
जेठ ७, २०७९ शनिबार १७:४३, बुटवल

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल मतदाता रहेको बुटवल उपमहानगरपालिका वडा नं. ८ मा नेपाली कांग्रेस विजयी भयो। 

शनिबार अपरान्हसम्म आइपुग्दा सिंगै बुटवल उपमहानगरपालिकाको नेतृत्व एमालेले गुमायो। मेयरमा कांग्रेसका खेलराज पाण्डेले जित निकाले। एमालेबाट सावित्रा अर्यालले उपमेयर जितेर सान्त्वना दिइन्। 

बुटवलमा एमाले नेता विष्णु पौडेल उभिइसकेपछि चुनाव जितिन्छ भन्ने विगतको नजिर यसपालि खण्डित भएको छ।

अघिल्लो पटक बुटवलमा मेयर र उपमेयरसहित एमालेले १६ वटा वडा जितेको थियो। एमालेले उपमहानगरपालिकामा अघिल्लो पटक जितेका १३ वटा वडा गुमाएको छ। ५ वटामा एमालेले वडाध्यक्ष जितेको छ।

पाण्डेले जितेसँगै एमालेले तीन दशकदेखि जित्दै आएको बुटवलको लालकिल्ला गुमाएको छ।

अघिल्लो पटक जस्तै यस पटक पनि एमालेबाट बुटवलका मेयरको उम्मेदवार बाबुराम भट्टराईसँग पौडेल घरदैलोमा हिँडेर प्रचार प्रसारमा खटे। तर, यसपटक उनको खटाइले एमालेलाई उपलब्धि दिएन। पौडेलका आश्वासनलाई मतदाताले पत्याएनन्।

बुटवललाई एमालेले भन्ने गरेको लालकिल्ला यही स्थानीय चुनावबाट भत्किएको छ। बुटवलमा एमाले पराजित भइसकेको छ।

संसदीय चुनावको जोखिम
वि.सं. ०५६ सालको संसदीय चुनावमा एमाले नेता विष्णु पौडेल पहिलो पटक बुटवल क्षेत्रबाट चुनाव लडेका थिए। त्यसबेला कांग्रेसका सूर्यप्रसाद प्रधानसँग उनी पराजित भए।

२०६४ सालको संविधान सभाको चुनावमा बुटवल र आसपासको क्षेत्रमा पर्ने तत्कालीन रुपन्देही क्षेत्र नम्बर ४ बाट पौडेल संविधान सभा सदस्यमा निर्वाचित भए। त्यसपछि उनी बुटवलमा बलियो हुँदै गए।

२०७० सालको संविधान सभामा चुनावमा बुटवलबाट उठेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई तेस्रो स्थानमा झारेर पौडेल फराकिलो अन्तरले विजयी भए। 

त्यसबेला कांग्रेसका सूर्यप्रसाद प्रधान दोस्रो स्थानमा आएका थिए। यो चुनावपछि पौडेलको चर्चा अझै चुलियो।

२०७४ सालको प्रतिनिधि सभाको चुनावमा पौडेल फराकिलो अन्तरले विजयी भएपछि धेरैलाई अब बुटवलमा कसैले एमालेलाई ढाल्न सक्दैन भन्ने परेको थियो।

२०६५ सालमा बुटवलमा भएको आठौँ महाधिवेशनबाट सचिवमा निर्वाचित विष्णु पौडेल नवौँ महाधिवेशनबाट उपमहासचिव बने। एमाले र माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बन्दा उनी उक्त पार्टीको शक्तिशाली महासचिव थिए।

पौडेल दसौँ महाधिवेशनबाट एमालेको उपाध्यक्ष बनेका छन्। उनले क्रमशः पार्टीको उच्च तहमा पनि प्रभाव विस्तार गर्दै गए। 

पटक–पटक मन्त्री र उपप्रधानमन्त्रीसम्म भए। रुपन्देहीमा पनि उनकै प्रभाव बलियो थियो। काठमाडौँबाट उनी बेला–बेलामा रुपन्देही आइरहन्थे। जिल्लाका विभिन्न कार्यक्रममा व्यस्त हुन्थे।

पाँच वर्षअघि स्थानीय चुनाव हुँदा पौडेल तत्कालीन बुटवलका मेयरका उम्मेदवार शिवराज सुवेदीसँग सँगै घरदैलोमा हिँड्थे। त्यसबेला उनैले सुवेदीलाई मेयरमा जिताए।

०७४ को संसदीय चुनावमा विष्णु पौडेल बुटवल क्षेत्र नम्बर २ बाट ४४ हजार ९ मत पाएर विजयी बनेका थिए। कांग्रेसका युवराज गिरीले २१ हजार ९४६ मत पाएका थिए।

रुपन्देही क्षेत्र नम्बर २ मा बुटवल उपमहानगरपालिकाका १ देखि १३ नम्बरसम्मका वडाहरू समेटिएका छन्। त्यसैगरी, सैनामैनाका १ देखि ४ नम्बर वडाहरू विष्णु पौडेलको चुनाव क्षेत्रमा पर्छन्। त्यस्तै, तिलोत्तमा नगरपालिकाका १ देखि ६ नम्बर वडाहरू पनि पौडेलको चुनाव क्षेत्रमा पर्छन्।

पौडेलको चुनाव क्षेत्रमा पर्ने २३ वडाहरुमध्ये यो स्थानीय चुनावमा एमालेले ३ वटा वडामा जितेको छ भने कांग्रेसले ११ वडा जितेको छ। 

माओवादीले २ र स्वतन्त्रले एउटा वडा जितेका छन्। यो हिसाबले हेर्दा पौडेलका लागि आगामी संसदीय चुनावमा जित निकाल्नु जोखिमपूर्ण हुने देखिएको छ।  

कांग्रेसबाट मेयरमा विजयी खेलराज पाण्डे

किन कमजोर बने पौडेल?
अघिल्लो पटक रुपन्देही जिल्लाका १६ पालिकामध्ये ७ वटा पालिकामा एमाले झण्डा फहराएको थियो। यो चुनावमा उसले देवदह नगरपालिका,  गैडहवा गाउँपालिका र ओमसतिया गाउँपालिका जितेको छ। तिलोत्तमा नगरपालिकामा मतगणना जारी रहँदा केही अग्रता बनाएको छ।

बुटवलको पश्चिममा पर्ने सैनामैनामा नगरपालिकामा पनि एमालेले पराजय भोगिसकेको छ। सैनामैनामा एमालेका मेयरका उम्मेदवार चित्रबहादुर कार्की विष्णु पौडेलनिकट हुन्।

रुपन्देहीमा एमालेले उठाएका उम्मेदवारमध्ये सैनामैनाका कार्की पौडेलसँग सबैभन्दा नजिक मानिन्छन्।

बुटवलमा एमालेको यो हारले स्थानीय नेता भन्दा पनि एमाले र विष्णु पौडेलको प्रतिष्ठालाई कमजोर पारेको छ। 

बुटवलसहित जिल्लाका धेरै ठाउँमा चुनाव हार्दा रुपन्देहीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय नेताको हैसियतले त्यसको जस–अपजस धेरै पौडेलको भागमा पनि पर्दछ।

यसको असर मंसिरमा हुने भनिएको संघीय चुनावमा पनि पर्ने देखिन्छ। बुटवलमा पराजित हुँदा आफ्नो क्षेत्रबाट चुनाव लड्न विष्णु पौडेललाई पनि चुनौति देखिन्छ।

अब रुपन्देहीमा एमालेको किल्ला भत्किने कारणबारे चर्चा गरौँ :

१. प्रदेश राजधानी प्रकरण
पाँच वर्षअघिको संसदीय चुनाव होस् वा स्थानीय, दुवै चुनावमा एमाले नेता पौडेलको मुख्य एजेण्डा थियो बुटवललाई प्रदेशको राजधानी बनाउने। संसदीय चुनावपछि बुटवल प्रदेश ५ को अस्थायी राजधानी बन्यो।

तर, तीन वर्षपछि प्रदेश सभाले प्रदेशको नामकरण लुम्बिनी राख्दै स्थायी राजधानी दाङ देउखुरी बनाउने प्रस्ताव पारित गर्यो। 

पार्टी केन्द्रको निर्देशन मान्दै लुम्बिनीमा एमालेका सबै सांसदले राजधानी सार्ने प्रस्तावको पक्षमा मतदान गरे। कांग्रेस मतदाताहरूले आ–आफ्नो भुगोलको पक्षमा मत दिए।

चुनावका बेला अनि सांसद भएपछि पनि विष्णु पौडेलले बुटवलबाट कुनै हालतमा राजधानी सर्दैन भन्ने गर्थे। तर, स्थायी राजधानीको दाङ सार्ने प्रस्ताव हुँदा पौडेलले कुनै जनाएनन्।

स्थायी राजधानीको प्रस्ताव पारित भएको केही दिनपछि पौडेल अर्थमन्त्री बने। उनलाई मन्त्री पदसँग प्रदेशको राजधानी साटेको आरोप लग्यो।

राजधानी दाङ सार्दा सर्वसाधारण भन्दा पनि व्यवसायीहरु बढी चिन्तित थिए। यसपटक बुटवलमा एमालेको भोट कम आउनुको मुख्य कारण प्रदेशको राजधानी सारिनु पनि हो।

२. बालुवाटार जग्गा काण्ड
बालुवाटार जग्गा काण्डका समाचार बाहिर आउँदा सबै भन्दा बढी चर्चामा विष्णु पौडेलकै भयो। बालुवाटारस्थित ललिता निवास परिसरमा पौडेलका छोराको नाममा चारआना जग्गा थियो। जग्गा भएकाले पौडेलको सर्वत्र आलोचना भयो।

यससँगै उनले नम्बरी जग्गा हुँदाहुँदै विगतमा बुटवलमा सुकुम्बासीका नाममा जग्गा लिएको भन्दै समाचार सार्वजनिक भए। 

बुटवलमा पाएको सुकुम्बासीको जग्गा बेचेर विभिन्न ठाउँमा किनबेच गर्दै बालुवाटारमा पनि जग्गा फेला परेको र काठमाडौंमा भव्य घर बनाएको भन्दै उनको आलोचना भएको थियो।

बालुवाटार जग्गा काण्ड सार्वजनिक भएपछि केही समय पौडेल रुपन्देहीमा देखा परेका थिएनन्। पछि भने आउजाउ गरिरहे। 

बालुवाटार जग्गा काण्डले छवि धमिल्याइँदा पनि पौडेल रुपन्देहीमा कमजोर भएका छन्। र, यसको असर यसपालिको स्थानीय चुनावमा एमालेका उम्मदेवारहरुमाथि परेको छ।

एमालेबाट मेयरमा विजयी सावित्रा अर्याल

३. सुकुम्बासी काण्ड
२०७७ फागुनमा अर्थमन्त्री हुँदा उद्योग मन्त्री लेखराज भट्टलाई लिएर पौडेल मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास गर्न पुगेका थिए। तर, शिलान्यास समारोह नसकिँदै उनी लखेटिनुपरेको थियो। 

आफूहरुले भोगचलन गरेको जग्गा मोतीपुर औद्योगिक क्षेत्रलाई दिइएको र आफूहरुलाई विस्थापित गर्न खोजेको भन्दै स्थानीय आक्रोशित थिए। शिलान्यास कार्यक्रममा ढुंगा प्रहार तनावको अवस्था उत्पन्न भयो।

स्थानीयलाई चित्त नबुझाइ हतार–हतार जबरजस्ती शिलान्यास गर्न पुगेको भन्दै पौडेलको आलोचना भएको थियो।

विष्णु पौडेलले शिलान्यास गरेको तिनाउ-दानव करिडोर पनि विवादमा परेको छ। करिडोरले सयौँ परिवार विस्थापित हुनुपर्ने भन्दै प्रभावित क्षेत्रका स्थानीयले आन्दोलन र विरोध गर्दै आएका छन्।

पौडेलले पटक–पटक सुकुम्बासीलाई पुर्जा दिने आश्वासन दिएका थिए। तीनै तहको सरकारमा एमाले हुँदा समेत पुर्जा पाउन नसकेको भन्ने कतिपय सुकुम्बासीहरूमा परेको छ। सुकुम्बासी क्षेत्रकाले मन र मत फेर्दा पनि पौडेल कमजोर भएको हुन सक्छ।

४. बुटवलको धुले सडक
बुटवलको राजमार्ग चौराहदेखि गोलपार्कसम्मको धुलाम्मे सडक र खाल्डाखुल्डीले पनि नागरिकहरु निराश थिए। एमालेका मेयर शिव सुवेदीको कार्यशैलीप्रति पनि पार्टीभित्रकै कार्यकर्ता रुष्ट थिए।

५. शंकर पोखरेल हावी
लुम्बिनी प्रदेशमा एमाले महासचिव शंकर पोखरेल र विष्णु पौडेलको प्रभाव बढी मानिन्छ। पोखरेल र पौडेल पक्षका कार्यकर्ता भनेर रुपन्देहीमा समेत चर्चा हुने गरेको छ।

एमालेको उपमहासचिव र नेकपाको महासचिव हुँदा विष्णु पौडेलको केन्द्र र जिल्लामा प्रभाव बलियो थियो। लुम्बिनीको मुख्यमन्त्री बनेपछि रुपन्देहीमा समेत फैलिएको शंकर पोखरेलको प्रभाव पार्टीको दसौँ महाधिवेशनबाट एमालेको महासचिव बनेपछि झनै बढ्यो।

लुम्बिनीमा पोखरेलको प्रभाव बढ्दा पौडेलको प्रभाव कमजोर हुँदै गएको ठानिएको छ। यो स्थानीय चुनावमा रुपन्देहीको उम्मेदवार छनोटमा समेत पौडेल भन्दा पोखरेल हावी भएको चर्चा हुने गरेको छ। बुटवलका मेयरका उम्मेदवार पोखरेलको इच्छामा तय भएको चर्चा छ।

मुख्यमन्त्री भएपछि पोखरेल प्रदेशको राजधानी आफ्नो जिल्ला दाङमा लैजान सफल भए। स्थानीय चुनावमा पनि पोखरेलको गृहजिल्ला दाङमा घोराही उपमहानगर एमालेले जितिसकेको छ ।

तुल्सीपुरमा मतगणना चलिरहँदा एमाले अघि-पछि भइरहेको छ। ताजा अवस्थामा तुलसीपुरको मेयर-उपमेयर दुवैमा एमाले अगाडि छ।

तर, रुपन्देहीमा बुटवलसहित धेरै पालिकामा एमाले हारेको छ। यसबाट लुम्बिनीमा शंकर पोखरेल बलियो बन्दै जाँदा विष्णु पौडेल भने कमजोर बनेको विश्लेषण हुन थालेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .