निर्वाचन विशेष


बुटवलको चुनावी मैदान : खेलराजले खेल जित्लान कि बाबुरामले बल रोक्लान्?

बुटवलको चुनावी मैदान : खेलराजले खेल जित्लान कि बाबुरामले बल रोक्लान्?

सुदीप भण्डारी
बैशाख १४, २०७९ बुधबार २१:५४, काठमाडौँ

बुटवलको चुनाव यो पटक खेलराज पाण्डेको लागि ‘गर या मर’को अवस्था हो। कार्यकर्ता तथा शुभेच्छुक माझ उनी आफैले यसो भन्दै आएका छन्।  

उपमहानगरको प्रमुखको लडाईँमा पाण्डे दोस्रो पटक मैदानमा उत्रिएका हुन्। आगामी वैशाख ३० गते हुने स्थानीय चुनावको जितहारले उनको राजनीतिको अगाडिको बाटो पहिल्याउने छ।

अहिले पराजित भएमा तेस्रो पटक प्रमुखमा उम्मेदवार हुने सम्भावना कमजोर त हुन्छ नै, खेलराजको त्यसपछिको राजनीतिक यात्रालाई पनि धक्का लाग्ने छ। विजयी भएमा उनको प्रतिष्ठा मात्र उठ्ने छैन, कांग्रेसले बुटवलमा २२ वर्षअघि गुमाएको शाख पनि फर्काउने छ। 

यता खेलराजका प्रतिस्पर्धी बाबुराम भट्टराईलाई गढ जसरी पनि जोगाउनुपर्ने चुनौति छ। २०६४ सालको संविधान सभाको चुनावपछि एमालेले बुटवलबाट हार खानु परेको छैन।

अहिले असफल भएमा व्यक्तिगत रुपमा बाबुरामलाई केही क्षति त होला। तर त्यो भन्दा ठूलो कुरा बुटवलमा एमालेले शाख गुमाउने छ।  बुटवल एमाले उपाध्यक्ष विष्णु पौडेलको निर्वाचन क्षेत्र पनि हो। त्यसैले बुटवलको चुनाव बाबुरामको भन्दा बढि विष्णु पौडेल र एमालेलेको प्रतिष्ठासँग जोडिएको छ। 

कांग्रेस र एमाले दुवै दलले जित्न सक्ने ठानेरै बुटवलको प्रमुखमा उम्मेदवार उठाएका हुन्। कांग्रेसका बुटवल उपमहानगर समितिका सभापतिसमेत रहेका खेलराज पाण्डे जनस्तरमा भिजेका मान्छे हुन्। उनलाई बाहेक अरुलाई टिकट दिँदा पराजित भइन्छ भनेर खेलराजलाई कांग्रेसले उम्मेदवार बनाएको हो।

खेलराजको जीवनशैली सरल छ। आफ्नै गाडी र व्यवसाय छैन। 

बाबुराम भट्टराईलाई उठाउँदा एमालेका सबै पक्षलाई सन्तुलनमा राख्न खोजेको देखिन्छ। भट्टराईसँग गोपाल राना र शिव सुवेदी पनि प्रमुखमा प्रमुख दाबेदार थिए।

बुटवलको सडकको दुरावस्था लगायतका कारण शिव सुवेदीले भोट तान्न सक्दैनन् र रानालाई विष्णु पौडेल भन्दा अरु नेताले नस्वीकार्ने भएपछि बाबुराम भट्टराईले टिकट पाएका हुन्।

बाबुरामलाई उम्मेदवार बनाएपछि संगठन बलियो भएको बुटवलमा पार्टीको भोट दायाँ बायाँ जाँदैन भन्ने एमालेले ठानेको छ। 

पाँच वर्षअघि २०७४ सालको स्थानीय चुनावमा कांग्रेसका खेलराज पाण्डे एमालेका शिवराज सुवेदीसँग २ हजार ३९८ मतान्तरले पराजित भएका थिए। सुवेदीले २३ हजार २४९ मत ल्याउँदा पाण्डेले २० हजार ८५१ मत पाएका थिए।  

त्यसबेला बुटवलमा कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेको थियो। माओवादी केन्द्रका जगत पोखरेल उपप्रमुखका उमेदवार बनेका थिए। वडाअध्यक्षहरूको मतलाई आधार मान्दा बुटवलमा त्यसबेला माओवादी केन्द्रको ३५ सयको हाराहारीमा मात्रै मत थियो।

कांग्रेस उम्मेदवार पाण्डेले पाएको मतमा त्यो संख्या घटाउँदा १७ हजार मात्र हुन आउँछ। यो भनेको एमालेले पाएको भन्दा कांग्रेसको ६ हजार कम हो। 

तर अहिले बुटवलमा कांग्रेसका खेलराज पाण्डेलाई माओवादीसँगै एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादी पार्टीको पनि साथ छ। र प्रमुखको उम्मेदवार एकीकृत समाजवादीकै चिनबहादुर गुरुङ छन्। 

माओवादीले उपमहानगरकै केही वडा र जिल्लाका अन्य पालिकामा उपप्रमुख लिएर कांग्रेसलाई बुटवलमा सहयोग गरेको छ। त्यसैले खेलराजले बुटवलको प्रमुख जित्नको लागि एकीकृत समाजवादीको भोट कति छ त्यसमा निर्भर गर्दछ। राष्ट्रिय जनमोर्चाको केही मतले पनि कांग्रेसलाई थप सहयोग हुन सक्छ। 

यता एमाले पनि बुटवलमा एक्लै भने छैन। बुटवलमा ११ वटा वडा सदस्य दिएर उसले राष्ट्रिय जनमुक्ति पार्टीसँग तालमेल गरेको छ। त्यसबाट केही भोट थप्न सकिने एमालेको आशा छ। नेकपा विभाजित हुँदा विगतमा माओवादीमा रहेका कतिपय एमालेमा आएका छन्। त्यसैले विगतमा माओवादीबाट कांग्रेसलाई गएको केही भोट तान्न सकिन्छ कि भन्ने उसको बुझाइ छ। 

एमालेको ५ वर्षे कार्यकाललाई हेरेका मतदाताले अहिले खेलराज पाण्डेलाई भोट दिने कांग्रेस प्रदेश सदस्य दीर्घबहादुर केसीले बताए। 

‘विगतमा कांग्रेस थोरै मतान्तरले हारेको हो। त्यसपछि उहाँ (खेलराज पाण्डे) निरन्तर लाग्नुभएको छ। बस्ती बस्तीमा पुगेर बुटवलबासीको हरेक समस्या बुझ्नुभएको छ’ उनले भने, ‘एमालेले यतिका वर्ष चलाउँदा सुकुम्बासी समस्या समाधान गर्न नसकेको र अब कांग्रेसबाट स्थानीयले आशा गरेका छन्। अहिले कांग्रेससँग एकीकृत समाजवादी र माओवादी केन्द्रको मत पनि छ।’ 

सरकार चलाउन नसकेको एमालेप्रति जनतामा गलत सन्देश गर्दा पनि कांग्रेसले जित्ने केसीको भनाइ छ। 

५ वर्षको कार्यकालमा भएका काम र पार्टीको बलियो संगठनका कारण बुटवलमा आफ्नो पार्टी पराजित नहुने एमाले जिल्ला सचिवालय सदस्य बाबुराम पन्थीले बताए। 

‘बुटवलमा एमालेको संगठन बलियो, व्यवस्थित र चलायमान छ। ५ वर्षमा एमालेले पूर्वाधार, पर्यटन, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा धेरै काम गरेको छ’ उनले भने, ‘हिजोको माओवादीमा रहेको ठूलो शक्ति एमालेमा समाहित भएको छ। एमालेबाट चोइटिएको पार्टीको यहाँ भूमिका छैन। त्यसैले यहाँ एमाले कमजोर छैन।’

प्रमुखका उम्मेदवार भट्टराईको शालिन र बौद्धिक व्यक्तित्वको कारण पनि एमालेलाई चुनाव जित्न सहज भएको पन्थीको भनाइ छ।  

२०४६ सालपछि २०५६ सम्म भएको चुनावमा कांग्रेस र एमाले आलो पालो जस्तो विजयी हुन्थे। २०४८ र २०५६ सालको संसदीय चुनाव बुटवलबाट नेपाली कांग्रेस विजयी भएको थियो। २०५१ सालको संसदीय चुनावमा एमालेले जित हात पारेको थियो। 

२०४९ को स्थानीय चुनावमा कांग्रेस र २०५४ मा एमालेले प्रमुख जितेको थियो। २०६४ सालको चुनावपछि बुटवलमा एमालेले लगातार बाजी मारेको छ। यसपटक बुटवलको चुनावी मैदानमा खेलराजले खेल जित्लान कि बाबुरामले बल रोक्लान्? यो थाह पाउन वैशाख ३० पछिको केही दिन पर्खिनै पर्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .