निर्वाचन विशेष


जीतपुरसिमरा : एमालेको सत्ता, माओवादीको धावा!

जीतपुरसिमरा : एमालेको सत्ता, माओवादीको धावा!

सागर न्यौपाने
बैशाख १३, २०७९ मंगलबार १९:५०, काठमाडौँ

बाराको जितपुरसिमरा उपमहानगरपालिकामा प्रमुख पदका लागि १४ जनाको उम्मेदवारी दर्ता भएको छ। यीमध्ये सत्तारुढ गठबन्धनका उम्मेदवार राजन पौडेल र एमाले उम्मेदवार सरस्वती चौधरीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। 

सोमबार बेलुका अबेरसम्म ८ स्वतन्त्रसहित १४ जनाको उम्मेदवारी दर्ता भएको सहायक निर्वाचन अधिकृत बालाराम खड्काले नेपालखबरलाई जानकारी दिए।

‘८ स्वतन्त्रसहित जितपुरसिमरा उपमहानगरमा १४ जनाको उम्मेदवारी दर्ता भएको छ,’ खड्काले नेपालखबरसँग भने, ‘हामीले उम्मेदवारी दर्ता गर्ने अन्तिम नाम संकलन गरेका छौँ।’

खड्काका अनुसार नेकपा माओवादी केन्द्रबाट राजन पौडेल, नेकपा एमालेबाट सरस्वतीदेवी चौधरी, जनता समाजवादी पार्टी (जसपा)बाट सोहनकुमार तिपले, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट सञ्जयकुमार साहले प्रमुख पदमा उम्मदेवारी दिएका छन्।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट माधवप्रसाद त्रिपाठी र राष्ट्रिय जनमोर्चाबाट शेरबहादुर कार्कीले पनि जितपुर सिमराको प्रमुख पदमा उम्मेदवारी दिएका छन्।

त्यस्तै स्वतन्त्रबाट उमानन्द कँडेल, कृष्णकुमार अधिकारी, त्रिलोकविक्रम साह, पार्वती अधिकारी, प्रेमकुमार, मुकेश साह, राजकुमार न्यौपाने, विशाल चौलागाईले पनि उम्मेदवारी दर्ता गराएका छन्।  

यस्तै उपप्रमुखका लागि जसपाबाट चित्ररेखा चौधरी, राजमोबाट देवी आचार्य, एमालेबाट भोलाप्रसाद अधिकारी, नेपाली कांग्रेसबाट मेघा शाही, लोसपाबाट वीपी मोक्तान र राप्रपाबाट सुष्मा मिश्रले उम्मेदवारी दर्ता गराएको सहायक निर्वाचन अधिकृत खड्काले जानकारी दिए। 

तीनदलबीच गठबन्धन, दुई दल एक्लाएक्लै ! 
पाँचदलीय सत्ता गठबन्धनले ११ उपमहानगरपालिका बाँडफाँट गर्दा जीतपुरसिमरा माओवादी केन्द्रको भागमा परेको थियो। तर, उम्मेदवारी दर्ता गर्दासम्म जीतपुरसिमरामा कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीबीच मात्र गठबन्धन बनेको छ। गठबन्धनमा रहेको जसपाले तिप्लेलाई प्रमुख र चौधरीलाई उपप्रमुखको उम्मेदवार बनाएको छ ।

माओवादी केन्द्रबाट पौडेलले प्रमुख र कांग्रेसबाट शाहीले उपप्रमुखमा उम्मेदवारी दिएका छन्। सत्ता गठबन्धनमा रहेको जनमोर्चाले पनि कार्कीलाई प्रमुख र आचार्यलाई उपप्रमुख बनाई बेग्लै उम्मेदवारी मनोनयन गराएको छ। 

एकीकृत समाजवादीबाहेक दुई दल गठबन्धनबाट बाहिरिएको उम्मेदवारी मनोनयनले देखाउँछ। तर, १६ गतेसम्म उम्मेदवारी फिर्ताको समय भएकाले मुख्य प्रतिस्पर्धी को–को हुने भन्ने खुलाउन कठिन छ।

गठबन्धनभित्र सहमतिको प्रयास भइरहेकाले उनीहरु मिलेर जाने सम्भावना पनि छ। यदि त्यसो हुँदा आधिकारिक उम्मेदवारलाई सहयोग गर्ने निर्णय भएमा एउटा वातावरण बन्छ, यदि नबने गठबन्धनभित्र तीन दल एकातिर दुई दल दुईतिर हुने देखिन्छ। 

एमालेबाट उपप्रमुख नै प्रमुखको उम्मेदवार
२०७४ को निर्वाचनमा एमालेले यो उपमहानगरमा प्रमुख र उपप्रमुख दुबै जितेको थियो। एमालेका कृष्ण पौडेलले १४ हजार ८६८ मत ल्याएर विजयी हुँदा उपप्रमुखमा पनि एमालेकै सरस्वतीदेवी चौधरीले १४ हजार ४५९ मत ल्याएर विजयी भएकी थिइन्।

अहिले उनै चौधरीले प्रमुख पदमा उम्मेदवारी दिएकी छिन्। उनी क्षमतावान नेताका रुपमा एमालेभित्र चिनिन्छिन्। 

अहिले एमालेको केन्द्रीय सदस्य रहेकी चौधरी संघर्षबाट खारिएको बताउँछिन्। उनी चितवनमा भएको दसौँ राष्ट्रिय महाधिवेशनका बेलामा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएर चुनाव लड्ने तयारीमा थिइन्। तर, अध्यक्ष केपी शर्मा ओलीले फिर्ता लिन लगाएर पछि केन्द्रीय कमिटीमा मनोनित गरेका थिए। 

सरस्वतीले जीतपुरसिमरामा पुरानै बर्चस्व रहेकाले जीत निकाल्न सकिने दाबी गरिन्।

‘जीतपुरसिमरा उपमहानगरमा एमालेको पहिलेकै बर्चस्व छ,’ उनले भनिन्, ‘हाम्रो संगठन नै सजिलै जित्ने आधार बनेको छ ।’

जीतपुरसिमरा उपमहानगरमा २४ वडा छन्। ०७४ को वडागत नतिजाका आधारमा हेर्दा भने एमाले कमजोर देखिन्छ।

तर, बारा जिल्ला अध्यक्ष विनोद साहले गठबन्धनले केही फरक नपर्ने र एमालेले फेरि चुनाव जित्ने दाबी गरे। संगठित सदस्यता, विकास निर्माणको कामले जिल्लामा एमाले बलियो रहेको साहले बताए।

‘गठबन्धनले हामीलाई फरक पर्दैन, हामी चुनाव जित्छौं,’ साहले नेपालखबरसँग भने, ‘हामीले महिलालाई प्रमुख दिएका छौँ, संगठन बलियो छ, त्यहीअनुसार चुनावी प्रचार गरेका छौँ।’

यस्तो थियो अघिल्लो चुनावको मतपरिणाम
२०७४को निर्वाचनमा जितपुर सिमरा उपमहानगरपालिका प्रमुखका लागि स्वतन्त्रसहित १६ जना प्रतिस्पर्धामा थिए।

त्यसबेला कुल मतदाता ५६ हजार ६६० थिए । अहिले बढेर ७० हजार ६४ पुगेका छन् ।

प्रमुख र उपप्रमुखसहित एमालेले ६ वडा जितेको थियो ।

प्रमुखमा एमालेका पौडेल जित्दा नेपाली कांग्रेसका कृष्णवर्त सिंहले १२ हजार ४३ मत प्राप्त गरेका थिए। उपप्रमुखमा पनि कांग्रेसकी उम्मेदवार नारायणी रायमाझीले १२ हजार ४६५ मत प्राप्त गरेकी थिइन्।

तेस्रो स्थानमा रहेको माओवादी केन्द्रका उम्मेदवार राजन पौडेलले ११ हजार २ सय ५१ मत ल्याएका थिए। प्रमुखमा पराजित भएपनि १० वडा माओवादी केन्द्र एक्लै जितेको थियो। अहिले उनै पौडेल काँग्रेससँगको गठबन्धनबाट प्रमुखको उम्मेदवार बनेका छन्। 

को हुन् चौधरी ?
नेकपा एमालेको केन्द्रीय सदस्य रहेकी चौधरी सांगठनिक क्षमता राख्ने नेतृ भएको उनलाई चिन्ने नेताहरु बताउँछन्।

दसौँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएर फिर्ता लिएकी उनी अध्यक्ष केपी शर्मा ओली निकट छिन्।
उनलाई ओलीले केन्द्रीय सदस्यमा मनोनित गरेका हुन्। 

१४ वर्ष शिक्षण पेशा अपनाएकी उनले २०७४ मा पेशा छोडेर उपमहानगरको उपप्रमुख उम्मेदवार बनेकी थिइन।

उपमहानगरको निवर्तमान प्रमुख तथा नेकपा एमाले प्रदेश २ कमिटी सचिव डा. कृष्ण पौडेलले जित्ने उम्मेदवार भएरै चौधरीलाई अघि सारेको बताए।

उहाँले उपप्रमुख भएर चारवर्ष बढी काम गर्नुभयो, शिक्षित महिला, १४ वर्ष शिक्षण पेशा गर्नुभएको र सांगठनिक कुशलतानै उहाँको बलियो पक्ष हो,’ पौडेलले भने। 

यी हुन् पौडेल 
अखिल क्रान्तिकारीबाट २०५७ सालमा काठमाडौं क्याम्पसको स्ववियु सदस्य जितेर राजनीतिमा होमिएका पौडेल जनयुद्धमा सहभागी भएका थिए।

उनी २०५८ मा १३ महिना जेल परेका थिए त्यसपछि फेरि २०६० साल माघ गिरफ्तार भए र २०६३ जेठ १० गते रिहा भए। 

त्यसयता उनको राजनीति बारा जिल्लामै केन्द्रित भएको उनी बताउँछन्। 

सरस्वती र राजन नै मुख्य प्रतिस्पर्धी
अघिल्लो चुनाव र अहिले बढेको १३ हजार ४ सय ४ मतदातालाई आधार मान्दा जितपुर सिमरामा गठबन्धन र नेकपा एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ।

चुनावी मैदानमा १४ जना रहे पनि कांग्रेस–माओवादीबाट पौडेल र एमालेबाट चौधरीबीच निकै कडा प्रतिस्पर्धा हुने देखिन्छ।

हाल उपमहानगरकी उपप्रमुख रहेकी चौधरीले आफूलाई सहज रहेको प्रतिक्रिया दिएकी छन्। उता वडामा एमाले भन्दा बलियो रहेको माओवादी केन्द्रले उपमहानगरमा प्रभाव बढाएको प्रमुख पदका उम्मेदवार पौडेलले बताए। 

पौडेलले गठबन्धन नै बलियो आधार भएको हिसाव निकाले।

‘अघिल्लो चुनावमा कांग्रेसले करिब १२ हजार र माओवादीको ११ हजार मत जोड्दा पनि हामी सजिलै जित्छौं’ पौडेलले नेपालखबरसँग भने, ‘स्वतन्त्र उम्मेदवार बनेकाहरुले पछिसम्म सहयोग गर्नुहुनेछ।’

‘यसपटक कांग्रेस–माओवादी गठबन्धनले प्रमुख उपप्रमुख जित्छौँ, एमाले दोस्रो हुन्छ, अहिलेको मतलाई मात्र जोगाउँदा पनि खासै टक्कर हुँदैन,’ पौडेलले थपे। 

उपप्रमुखमा पनि गठबन्धनको साझा उम्मेदवार नेपाली कांग्रेसकी मेघा शाही र एमालेबाट भोलाप्रसाद अधिकारीबीच मुख्य प्रतिष्पर्धा हुने नेताहरु बताउँछन्। 

गठबन्धनमा गडबडी, एमालेसँग असन्तुष्टि
जीतपुरसिमरा माओवादी केन्द्रलाई दिएको भन्दै कांग्रेस असन्तुष्ट छ। त्यही भएर स्वतन्त्र उम्मेदवारी पनि धेरै परेको छ। तर, माओवादी नेता पौडेल १५ गतेसम्म सहमति हुने दाबी गर्छन्। 

उनले बारामा कांग्रेससँग २०६४ देखि नै सहकार्य हुँदै आएकाले समस्या नहुने बताए। 

त्यसो त सत्ता गठबन्धनमा गडबडी देखिएजस्तै एमालेमा पनि केही समस्या देखिन्छ। ०७४ मा एमालेबाट जितेका मेयर डा. कृष्णप्रसाद पौडेलले पालिकामा लोकप्रिय काम गर्न नसकेको र पछिल्लो समय ३ सय प्रतिशत कर बढाएको भन्दै जनतामा असन्तुष्टि देखिएको छ, जुन जीतपुरसिमरामा एमालेका थप लागि चुनौतीको पाटो हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .