ad ad

कारोबार


तरकारीखेती गरेर छोराछोरीलाई डाक्टर र इन्जिनियर बनाउँदैछिन् उर्मिला

तरकारीखेती गरेर छोराछोरीलाई डाक्टर र इन्जिनियर बनाउँदैछिन् उर्मिला

नेपालखबर
भदौ २९, २०८१ शनिबार ७:१, कञ्चनपुर

मेहनत र साहस गरियो भने हरेक कुरा सम्भव हुन्छ भन्ने प्रमाणित गरेकी छन् कञ्चनपुरको बेदकोट नगरपालिका–७ मन्दिरपुरका उर्मिला डगौराले।

तीन दशकअघि एक कट्ठा जग्गामा तरकारीखेती सुरु गरेकी उनले तरकारीखेतीबाटै घर जग्गा जोड्नुका साथै छोरा रविन र छोरी रविनालाई उच्च शिक्षा पढाएकी छन्। उनले छोरा रविनलाई भारतको चण्ढीगढमा सफ्टवेयर इन्जिनियर पढाएकी छन् भने छोरी रविना चितवन मेडिकल कलेजमा एमबीबीएस अध्ययन गरिरहेकी छन्। 

‘हामीले तरकारीखेतीबाट आम्दानी गरेरै छोराछोरीको पढाइ खर्च जुटाएका छौँ,’ उर्मिलाले भनिन्,  ‘तरकारीखेती गर्न थालेको २०५२ सालदेखि हो।’

२०५२ सालमा एक कट्ठा जग्गामा तरकारीखेती सुरु गरेकी उनले तरकारीखेतीकै आम्दानीले दुई वर्षपछि दुई कट्ठा जग्गा खरिद गरिन्। त्यसपछि आम्दानी गर्दै जग्गा थप्दै गरेर तरकारी खेती विस्तार गरेको उनको भनाइ छ। उनको मेहनतमा श्रीमान् रामबहादुरको ठूलो सहयोग छ। तरकारीखेतीसँगै स्थानीय लालपुर बजारमा उनका श्रीमान्ले किराना पसल सञ्चालन गर्दै आएका छन्। 

उनले पसलमा आफ्नै खेतमा उत्पादन गरेको तरकारी बिक्री गर्दै आएका छन्।  ‘तरकारी र पसल गरेर हामीले जग्गा थप्दै गयौँ अहिले १५ कट्ठा जग्गा छ ’, उर्मिलाले भनिन्,   ‘अहिले १५ कट्ठा जग्गामा तरकारीखेती गरेका छौँ त्यसबाट सन्तोषजनक आम्दानी  भइरहेको छ।’

उनले छोरी रविनालाई डाक्टर पढाउन हालसम्म रु ६० लाख खर्च भइसकेको बताइन्। सबै खर्च तरकारीखेतीबाटै धानेको उनको भनाइ छ । लहरे तरकारीबाटै सिजनमा रु दुई लाख बचत हुने गरेको उनले बताइन्।

तरकारीखेती सुरु गरेको केही वर्षपछि महेन्द्रनगरको उदयदेव सहकारीले गाउँमै पुगेर उद्यम गरिरहेका महिलाहरुको समूह गठन ग¥यो। सहकारीले गठन गरेको तुलसी उदयदेव महिला केन्द्रमा उनी आवद्ध छिन्। सरकारीले उक्त समूहमा आबद्ध तरकारीखेती गरिरहेका महिलाहरुलाई निःशुल्क प्राविधिक सहयोग गरेपछि खेती गर्न सहयोग पुगेको छ।

उनले सहकारीको सहयोगपछि तरकारी उत्पादनमा वृद्धि समेत भएको बताइन्।  ‘हामीले परम्परागत रुपमा खेती गर्दै आएका थियो’, उनले भनिन्,  ‘सहकारीले धेरै ज्ञान दियो त्यसले उत्पादनमा फाइदा भयो।’ उक्त समुहमा १६ महिला आबद्ध छन्। 

सहकारीले तराईको उत्पादनलाई पहाड र पहाडको उत्पादनलाई तराईसम्म ल्याउन शाखासमेत विस्तार गरेको उदयदेव सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत गणेशबहादुर चन्दको भनाइ छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .