ad ad

कारोबार


जसको मेहनत र कमाइ देखेर विदेश गएका श्रीमान्‌ फर्किए स्वदेश

जसको मेहनत र कमाइ देखेर विदेश गएका श्रीमान्‌ फर्किए स्वदेश

अटो चलाउने क्रममा अनिता सारु


नेपालखबर
मंसिर १९, २०८० मंगलबार १२:०, नवलपरासी (बर्दघाट सुस्तापूर्व)

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–६ की अनिता सारुलाई हरेक दिन सबेरै घरधन्दा सक्ने हतारो हुन्छ।

उनले भनिन्, ‘जतिसक्दो चाँडो घरको काम सक्यो, उति चाँडो अटो लिएर निस्कन पाइन्छ।’

उनी छोरीसँगै अटो लिएर बिहान साढे ९ बजे घरबाट निस्कन्छन्। छोरीलाई स्कुल छाडेपछि अनिताको अटोको काम सुरु हुन्छ। 

महिलाले सवारीसाधन चलाउने काम गर्नु हुँदैन भन्ने सोचलाई परिवर्नन गर्न र आर्थिक उपार्जनका लागि पनि अटो चलाएको अनिताको भनाइ छ।

‘अटो चलाउन थालेको पाँच वर्ष बितिसक्यो, परिवारको पूरापुर सहयोग भएर यहाँसम्म आएको छु’, उनले भनिन्, ‘महिला भएर पनि अटो चलाउन सक्छौँ भन्नेले मेरो मेहनत देखेर अहिले प्रशंसा गर्न थालेका छन्।’

अटो चलाउन थालेपछि अनिताको दिनचर्या फेरिएको छ। आम्दानी बढेको छ, घरघडेरी जोडिएको छ। छोराछोरी पढाउन सजिलो मात्रै भएको छैन, विदेश गएका श्रीमान् पनि श्रीमतीको मेहनत र कमाइ देखेर स्वदेश फर्किएका छन्। ‘पहिले सानो एउटा घर थियो, अहिले अर्को पक्की घर बनाएकी छु’, उनले भनिन्, ‘मेरो काम देखेर श्रीमान् विदेश नजाने हुनुभएको छ, यही पसल गर्ने योजना बनाएका छौँ।’

महिलाहरू आत्मनिर्भर बन्दा हिंसाबाट गुज्रिनु नपर्ने उनको अनुभव छ। सम्पत्तिमा महिलाको पहुँच बढाउन सक्ने हो भने महिलाविरुद्धको विभेद र हिंसा घटाउन सकिने उनले बताइन्। ‘लगनशील र इमानदार भएर काम गरे जुनसुकै पेसाले पनि सन्तुष्टि दिनेरहेछ’, उनले भनिन्, ‘महिलाले सीप सिक्न र आत्मनिर्भर बन्न जरुरी छ, यसबाट महिलाहरूकै मेहनतले घर सम्पत्ति जोडेका उदाहरण पनि भेटिन्छन्।’

महिलालाई सीप सिक्न र स्वरोजगारमा जोडिएर आत्मनिर्भर बन्न अनिताको सुझाव छ। यसले परिवार र समाजबाट हुने हिंसा घटाउने उनको बुझाइ छ। अहिले नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा अनिताजस्तै अरू महिला पनि सवारी चालक बनेका छन्। गैँडाकोटमा दुई जना महिला व्यावसायिक रूपमा अटो चालक छन्। सङ्गठित भएका चालकहरूको सम्पर्कमा दुई जनामात्र महिला छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .