ad ad

कारोबार


एनसेलको २ दशक : बजारमा प्रतिस्पर्धा, कम मूल्यमै टेलिकम सेवा

एनसेलको २ दशक : बजारमा प्रतिस्पर्धा, कम मूल्यमै टेलिकम सेवा

नेपालखबर
भदौ ३१, २०८१ सोमबार ११:५९, काठमाडौँ

एनसेलले नेपाली बजारमा २ दशक पूरा गरेको छ। २ दशक लामो विश्वसनीय सेवा, आक्रामक बजार विस्तार र सेवाको मूल्य गिरावटमा एनसेलको योगदानले यो अहिले प्रमुख लोकप्रिय टेलिकम बनेको छ। 

सरकारी स्वामित्वको एक मात्र दूरसञ्चार कम्पनीसँग एनसेलको प्रतिस्पर्धाले नेपालका दुर्गम क्षेत्रमा जीएसएम नेटवर्क र फोरजी विस्तार भएको छ। एनसेल नेपालको पहिलो निजी क्षेत्रबाट सञ्चालित जीएसएम दूरसञ्चार सेवा प्रदायक हो। 

यसले सन् २००४ मा स्थापना भई २००५ बाट आफ्नो सेवा सुरु गरेको थियो। 

सन् २००५ मा एनसेलले नेपाली बजारमा सेवा सुरु गर्दा ६ प्रतिशतसँग मात्रै सिम थियो। अहिले एनसेलका ग्राहक नै १ करोड ६० लाख छन्। नेपालमा मोबाइल प्रयोगकर्ता ११५ प्रतिशत पुगेका छन्।

नेपालमा एनसेलले नै जीएसएम नेटवर्क र ईडीजीई, थ्रिजी प्रविधिको सुरुवात गरेको थियो। सन् २०१० मै थ्रिजी ल्याएको एनसेलले डेटालाई अझै द्रुत बनाउन २०१७ मा फोरजी स्थापना गर्‍यो। यसले नेपालमा इन्टरनेट गति बढ्न पुगी सहजै डिजिटल सिस्टम सुरु गर्न सहयोगी बन्यो।

‘नेपालको ईकमर्स, टेलिमेडिसिन, इन्टरनेट/मोबाइल बैंकिङ सेवासँगै सूचना प्रविधि क्षेत्रमा फड्को मार्न एनसेलको मुख्य भूमिका रह्यो’, एनसेलका एक अधिकारीले भने। 

नेपालको ९० प्रतिशत क्षेत्रमा फोरजी कभरेज रहेको छ तर १० प्रयोगकर्तामध्ये २ जनाले मात्रै दैनिक रुपमा डेटा प्रयोग गर्छन्। यो भनेको दक्षिण एसियाभरकै सबैभन्दा कम डेटा प्रयोग हो। मोबाइल प्रयोगकर्तामध्ये १३ प्रतिशतले मात्रै नियमित डेटा प्रयोग गर्छन्। धेरै पैसा काट्ने डरले कतिपयले डेटा चलाउने गरेका छैनन्।

मेरो मोबाइलदेखि एनसेलसम्म
एनसेलका लगानीकर्ता फेरिए पनि सेवा निरन्तर छ। लगानीकर्ता फेरिँदा विभिन्न विवाद आए पनि बजारमा नयाँ प्रोडक्ट ल्याएर एनसेलले आफुलाई प्रमुख प्रतिस्पर्धीका रुपमा राखिरहेको छ।

सन् २०२३ डिसेम्बर १ बाट बेलायतमा दर्ता रहेको स्पेक्ट्रलाइट युके लिमिटेड नयाँ लगानीकर्ताको रुपमा भित्रिएको छ। उसले आजियटा ग्रुपअन्तर्गतको अराइनोल्ड होल्डिङ लिमिटेड युकेको शतप्रतिशत सेयर खरिद गरेको छ। जुन एनसेलको करिब ८० प्रतिशत सेयर हो। 

नेपालमा कम्पनी स्थापना हुँदा मेरो मोबाइलबाट ब्रान्डिङ सुरु गरिएको थियो। मेरो मोबाइल सन् २००८ मा स्विडेनको कम्पनी टेलिया सोनेरा ग्रुपले खरिद गरी सन् २०१० मा रि–ब्रान्डिङ गरेपछि एनसेल जन्मियो। 

फेरि सन् २०१६ मा स्विडेनको कम्पनीसँग मलेसियन आजियटा ग्रुप ब्रेहादले सेयर खरिद गर्‍यो। ७ वर्षपछि लगानीको वातावरण नभएको भन्दै आजियटा बाहिरियो र अहिले एनसेलमा नयाँ लगानीकर्ता भित्रिएको छ। 

प्राइभेट कम्पनीका रुपमा रहेको यो सन् २०२० मा एनसेल आजियटा लिमिटेड नाम राखेर पब्लिक कम्पनीको रुपमा स्थापना भएको छ। 

दुई दशकमा एनसेलले ३ खर्ब २० अर्बभन्दा बढी राजस्व तिरिसकेको छ। एनसेलले देशको एक सबैभन्दा ठूलो करदाताका रुपमा योगदान गरिरहेको छ। 

गत आर्थिक वर्ष २०८०/८१ मा मात्र कम्पनीले विभिन्न कर तथा शुल्कहरुअन्तर्गत २० अर्बभन्दा बढी सरकारलाई तिरेको छ। सन् २०१६ मा आजियटाले एनसेलको सेयर खरिद गर्दा ४७ अर्ब रुपैयाँ पुँजीगत लाभकर तिरेको छ। प्रत्यक्ष, अप्रत्यक्ष गरी करिब २५ हजार जनालाई रोजगारी दिएको छ। 

कम्पनीले व्यवसायसँगै व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत २ अर्बभन्दा बढी योगदान गरी सामाजिक विकासमा काम गरेको छ। एनसेलले मुख्यगरी शिक्षा, वातावरण र स्वास्थ्य क्षेत्रमा बढी खर्च गरेको छ। कलंकी–कोटेश्वर विस्तार भएको चक्रपथमा ग्रिन बेल्ट निर्माण, टेलिमेडिसिन, व्यक्तिगत स्वास्थ्य कार्यक्रम सेवा सञ्चालन गरेको छ। देशभर ६० हाईटेक डिजिटल आईटी ल्याब स्थापना गरेको छ। 

एनसेलले बिजनेस रिजिलेन्स अवार्ड २०२४, फास्टेस्ट मोबाइल नेटवर्क इन नेपाल २०२२, एसियन टेलिकम अवार्ड २०२२, एक्सिलेन्स इम्प्लोयर अवार्ड २०२२, टीएम फोरम २०२१ क्याटालिस्ट, वल्र्ड कम्युनिकेसन अवार्ड २०२१ लगायत एक दर्जन अवार्ड पाएको छ।

दक्षिण एसियामै खराब अवस्थामा नेपालको दूरसञ्चार
नेपालमा हाल २ वटा दूरसञ्चार सेवा प्रदायक मात्रै सञ्चालनमा छन्। एनसेल र नेपाल टेलिकम दुवै कम्पनीले पछिल्लो समय आम्दानीमा गिरावट सामना गरिरहेका छन्। डिजिटल सर्भिसले डेटा खपत बढाउन सहयोग गरेको छैन। प्रतिस्पर्धाले डेटाको मूल्यमा कमी आए पनि प्रयोग भने खासै बढ्न सकेको छैन। 

दूरसञ्चार सेवा प्रदायकको पछिल्लो ५ वर्षमा ५ प्रतिशत आम्दानीमा गिरावट आएको छ। सार्क मुलुक बंगलादेश, श्रीलंकामा भने ४० प्रतिशतसम्म सेवा प्रदायकको आम्दानी बढेको छ। नेपालमा प्रतिव्यक्ति डेटा खपत मासिक ४.५ जीबी मात्रै छ। भारतमा एकै व्यक्ति २० जीबी खपत छ।

नेपालमा डिजिटल साक्षरता कमी हुँदा डेटाको प्रयोगमा कमी आएको छ। एनसेलले सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी र निजी क्षेत्रको एनसेललाई गर्ने व्यवहारमा समानता नरहेको बताउँदै आएको छ। 

नेपालको दूरसञ्चार क्षेत्रमा नेपाल टेलिकम र एनसेलको ५ प्रतिशत योगदान रहेकोमा घटेर २ प्रतिशतमा सीमित भएको छ। वार्षिक १ अर्बको बजार घटेर ७५ अर्बमा झरेको छ। पछिल्लो ६ वर्षमा सरकारी नियम परिवर्तन हुँदा १३ अर्ब रुपैयाँ बढी राजस्वमा कमी आएको छ।

‘नेपालमा मुख्य प्रवृत्ति राजस्व मात्रै हेर्ने गरिन्छ। कम्पनीहरुले पूर्वाधार निर्माण र नयाँ प्रविधि भित्र्याउन करपछिको आम्दानीमा कैयौँ गुणा बढी खर्च गरिरहेका छन्’, एनसेलका ती अधिकारीको दाबी छ, ‘भविष्यलाई हेरेर लगानी गरेका छौँ।’

आम्दानीमा गिरावट आए पनि आफ्नो नेटवर्क मेनटेन गर्न दूरसञ्चार सेवा प्रदायकले २ देखि ३ गुणा बढी लगानी गर्नुपर्ने अवस्था छ। विश्व बजारमा प्रयोगमा आइसकेको फाइभजी प्रविधि सञ्चालन गर्नका लागि ६० अर्ब डलर खर्च हुन्छ। जुन नाफाको तुलनामा १२ प्रतिशत बढी हो।

सरकारले १० वर्षमा ३० खर्बको आईटी निर्यात गर्ने लक्ष्य राखेको छ। १५ लाख सूचना प्रविधि क्षेत्रमा काम गर्ने जनशक्ति उत्पादन गर्ने रहेको छ। यो लक्ष्य पूरा गर्न दूरसञ्चार क्षेत्रको समेत महत्त्वपूर्ण योगदान हुन्छ।

प्रविधिले छलाङ मार्दा दूरसञ्चार ऐन वर्षौँदेखि जहाँको त्यहीँ 
नेपालमा दूरसञ्चार ऐन २७ वर्ष पुरानो छ। ३ दशकमा प्रविधिले छलाङ मारिसक्दा ऐन मन्त्रालयमै थला परेको छ। उक्त ऐनअनुसार नवीकरण गर्दा २० अर्ब रुपैयाँ तिर्नुपर्छ।

यसले टेलिकम क्षेत्र कसरी टिक्छन् भन्नेमा प्रश्न उठेको छ। नेपालको सानो बजारमा बढी स्पेक्ट्रम शुल्कले टेलिकम क्षेत्रलाई महंगो बनाएको कम्पनीहरुको दाबी छ। 

अन्तर्राष्ट्रिय लगानीकर्ता टेलियासोनेरा र आजियटाले नेपालको अनिश्चित कानुन रहेको भन्दै एनसेलबाट लगानी झिकेका थिए। 

‘टेलिकम कम्पनीले आम्दानीको ५० प्रतिशत कर तिर्नमै खर्च हुन्छ। टेलिकम क्षेत्रमा नेपाल सबैभन्दा बढी कर लाग्ने देश मानिन्छ’, कम्पनीहरुको भनाइ छ।

नेपालमा दर्ता भई सञ्चालनमा आइसकेका युनाइटेड टेलिकम लिमिटेड, स्मार्ट टेलिकम, नेपाल सेटलाइट टेलिकम र सीजी टेलिकम बन्द भएका छन्। नेपाली बजारमा प्रतिस्पर्धा गर्न स्वच्छ र अनिश्चित बजार भएकाले यी कम्पनीहरु टिक्न सकेनन्। 

अबको ५ वर्षमा १६ अर्ब थप राजस्व घट्ने अनुमान गरिएको छ। जसबाट सरकारले पनि ३.७ अर्ब रुपैयाँ गुमाउने जानकार बताउँछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .