ad ad

कारोबार


हवाई मार्गको सट्टा काठमाडौँ र भैरहवाको ग्राउन्ड ह्यान्डलिङ दिनुपर्ने भारतको सर्त

हवाई मार्गको सट्टा काठमाडौँ र भैरहवाको ग्राउन्ड ह्यान्डलिङ दिनुपर्ने भारतको सर्त

वसन्त अर्याल
जेठ १२, २०८० शुक्रबार १९:३०, काठमाडौँ

भारतले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई हवाई मार्ग (एयर रुट) दिनुपर्ने हो भने नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरुको ग्राउन्ड ह्यान्डलिङको जिम्मेवारी आफूहरुले पाउनुपर्ने सर्त अघि सारेको छ। नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा हवाई मार्ग टुंगो लगाउने कोसिस गरिरहेका बेला भारतीय पक्षले अनौपचारिक रुपमा यस्तो सर्त अघि सारेको हो।

हाल नेपालमा अन्तर्राष्ट्रिय प्रवेश विन्दुको अनुमति सिमराबाट मात्रै छ। नेपाल सरकारले भारतसँग भैरहवा र महेन्द्रनगरबाट थप हवाई मार्ग दिन माग गर्दै आएको छ। प्रधानमन्त्री तहमै विभिन्न समयमा छलफल भए पनि अहिलेसम्म भारत हवाई मार्ग दिन तयार भएको छैन।

प्रधानमन्त्री दाहालको भारत भ्रमणमा पनि यसबारे छलफल हुँदैछ। 

यसै विषयमा भारतसँग छलफल गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय हवाई महाशाखा प्रमुख बुद्धिसागर लामिछाने सहितको टोलीले भारत भम्रण गरेको छ। लामिछानेको टोलीमा नागरिक उड्डयन प्राधिकरणमा महानिर्देशक प्रदीप अधिकारी लगायत थिए। नेपाली टोली भारतीय अधिकारीहरुसँग छलफल गरेर शुक्रबार फर्किसकेको छ। 

पर्यटन मन्त्रालयका अधिकारीका अनुसार भारतीय पक्षसँग बुधबार र बिहीबार छलफल भए पनि भारतीय पक्षले हवाई मार्ग दिने प्रतिबद्धता जनाएको छैन।

नागरिक उड्डयन मन्त्रालयका सहसचिव राजेन्द्रकुमार केसीले नेपाली टोलीले भारतमा दुई विषयमा छलफल गरेको जानकारी दिए। 

‘क्रसबोर्डर कनेक्टिभिटी र हवाई रुटको विषयमा भारतीय पक्षसँग छलफल भएको छ,’ मन्त्रालयका प्रवक्ता समेत रहेका केसीले भने, ‘अहिले केही निचोड आइसकेको छैन। दुवै प्रधानमन्त्री संवादपछि नयाँ केही आउँछ कि!’  

भारतमा उड्ययनका अधिकारीसँगै छलफल गरेर फर्किएका एक अधिकारीले कुनै निचोड ननिस्कएको स्वीकार गरे। 

‘भारतीय अधिकारीसँग छलफल गरेपनि कुनै निष्कर्ष निस्किएको छैन,’ ती अधिकारीले भने, ‘छलफल राम्रै भए पनि कसरी अगाडि बढ्छ स्पष्ट छैन। छलफलकै चरणमा छौँ।’

त्रिभुवन र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङमा चासो
भैरहवाको गौतमबुद्ध विमानस्थल २०७९ जेठ २ गते उद्घाटन भए पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन। जजिरा एयरले उडान गरे पनि विभिन्न कारणले रोकिँदै आएको छ। हिमालय एयरलाइन्सले बेलाबेला चार्टर्ड उडान गरिरहेको छ। अब नेपाल एयरलाइन्सले मलेसियाबाट भैरहवामा सिधा उडान गर्ने तयारी गरेको छ। 

त्यस्तै, सन् २०२३ को नयाँ वर्षको अवसर पारेर सञ्चालनमा ल्याइएको पोखरा विमानस्थलमा पनि अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन। भारतकै बनारसमा उडान गरिरहेको बुद्ध एयरले पोखराबाट उडान गर्न अनुमति माग गर्दा भारतले अहिलेसम्म दिएको छैन।

भारत भैरहवा विमानस्थलको ठेक्का चिनियाँ कम्पनीले पाएको विषयमा असन्तुष्ट छ भने पोखरा विमानस्थल चिनियाँ ऋण सहयोगमा निर्माण भएकोले उडनमा सहजीकरण गर्न मानिरहेको छैन। भैरहवामा मौसम खराब हुँदा जहाज अवतरण गर्ने उपकरण सञ्चालनमा समेत भारतले अनुमति दिएको छैन। 

भैरहवाको गौतमबुद्ध विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले बनाएको थियो। एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको आयोजनामा करिब ११ अर्ब खर्च भएको छ।

अहिले हवाई मार्गका लागि भारतले ग्राउन्ड ह्यान्डलिङको सर्त अघि सारेको हो। तर, त्यो सर्त पनि भारतले औपचारिक रुपमा भने नपठाएको पर्यटनमन्त्री सुदन किरातीले बताए। हवाई रुट दिने विषयमा भारत खासै बोल्न नचाहेको उनको भनाइ छ।

‘आफ्नो बोर्डरमा चिनियाँ कम्पनीले विमानस्थल बनायो भनेर असन्तुष्ट देखिन्छन्,’ मन्त्री किरातीले नेपालखबरसँग भने, ‘हवाई रुट अनुमति दिन बार्गेनिङ गर्ने टुलको रुपमा ग्राउन्ड हेन्डिलिङमा चासो हुन सक्छ।’

भारतले केही भारतीय व्यापारीहरुको माध्यमबाट अनौपचारिक रुपमा सो सर्त अघि सारेको मन्त्रालयका अधिकारीहरु बताउँछन्। भारतले त्रिभुवन विमानस्थल र भैरहवा विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ भारतलाई दिए हवाई रुटमा सहजीकरण गर्ने सन्देश ती व्यापारीमार्फत मन्त्रालयमा पठाउने गरेको छ। 

तर, मन्त्री किरातीले अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ विदेशी कम्पनीलाई दिन सक्ने प्रचलन रहे पनि भारतलाई दिने विषयमा औपचारिक छलफल नभएको दाबी गरे। 

नेपालमा अन्तराष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ नेपाल वायुसेवा निगमले गर्दै आएको छ। त्रिभुवन र भैरहवाको ग्राउन्ड ह्यान्डलिङबाट निगमले आम्दानी गर्दै आएको छ। 

निगमका अधिकारीहरु भने त्रिभुवन विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ अरुलाई दिए राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्स टाट पल्टिने बताउँछन्।

जीएमआर चाहन्छ, विमानस्थलको ग्राउन्ड ह्यान्डिलिङ
भारतको जीएमआर ग्रुपले उड्डयनका अधिकारी मार्फत सरकारलाई त्रिभुवन विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डिलिङ गर्न चाहेको अनौपचारिक सन्देश पठाएको छ। 

अन्तर्राष्ट्रिय रुपमा विमानस्थल, विद्युत, यातायात र सहरी पूर्वधारमा परिचित यो कम्पनीको छवि नेपालमा नराम्रो छ। जीएमआरले माथिल्लो कर्णालीको लाइसेन्स ओगेटेर बसेको छ। लगानी बोर्डसँग जीएमआरले २०७१ मा २ वर्षको लागि परियोजना विकास सम्झौता गरेको थियो। त्यसपछि लगातार म्याद थप हुँदै आएको छ। 

यो कम्पनीले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल, हैदरावाद अन्तर्राष्ट्रिय विमानस्थल र गोवाको मनोहर पार्रिकर अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डिलिङ गरिरहेको छ। 

जीएमआरले आन्ध्र प्रदेशको भोगपुरममा ग्रिनफिल्ड एयरपोर्ट निर्माण गरिरहेको छ। कम्पनीले विमानस्थल निर्माण र सञ्चालनबाहेक भारत बाहिर पनि विमानस्थल सञ्चालन गरिरहेको छ। जीएमआरले फिलिपिन्सको मेगावाइड कन्स्ट्रक्सन कर्पोरेसनसँग मिलेर मेक्टान चिबु अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ पनि गरिरहेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .