ad ad

कारोबार


हिमालको पानीमा ‘गर्वको व्यवसाय’, विदेशमा नेपालको ब्रान्डिङ

हिमालको पानीमा ‘गर्वको व्यवसाय’, विदेशमा नेपालको ब्रान्डिङ

रुद्रगंगा नेचुरल वाटर प्रालिका अध्यक्ष गणेश भण्डारी। तस्बिर : विशाल कार्की


वसन्त अर्याल
साउन २१, २०७९ शनिबार ९:५२, काठमाडौँ

ट्रेडिङ व्यवसायी गणेश भण्डारीले साढे २ दशक बढी समय नेपाल–चीन ओहोरदोहोरमै बिताए। चीनबाट इलेक्ट्रोनिक्स सामग्री नेपाल ल्याई बिक्री गरे। त्यहाँबाट केही कमाइ भयो। 

उनलाई नयाँ उद्योग खोल्न मन थियो। उद्योगका धेरै विकल्प थिए। ठूलो उद्योग खोल्न पर्याप्त पुँजी थिएन। सिमेन्ट, छडमा ठूलो लगानी चाहिन्थ्यो। मदिराको उद्योग खोल्न मनले मानेन। साथीहरुसँग पानी उद्योग खोल्ने सल्लाह भयो। तर कस्तो खोल्ने? 

काठमाडौंमै थिए पानीका सयौँ उद्योग। बजार माग धानेका। यसमा केही नयाँ गर्नेबारे सोचे– पानी उद्योग खोल्ने, विदेशमा निर्यात गर्ने। 

व्यवसायकै सिलसिलामा विदेशमा जाँदा त्यहाँको पानीको ‘टेष्ट’ गरेका थिए। नेपालको जस्तो थिएन। त्यही कारण हिमालै हिमालको देश नेपालबाट पानीलाई राम्रो प्याकेजिङमा विदेश पठाउन सके ‘गर्वको व्यवसाय’ पनि हुने उनीहरुलाई लाग्यो। त्यसपछि भण्डारीको सपनाले साकार रुप लियो। 

अनि जन्मियो ‘रसुवा’
पानी उद्योग खोल्ने निश्चित गरेपछि नेपाली बजारका पानीको स्वाद चाखे। भण्डारीलाई पुरानो ब्रान्ड ‘अन टप’को टेष्टले लोभ्यायो। सन् २०१६ मा भण्डारी अन टपको मूल हेर्न रसुवा उद्योगमा पुगे। पानी उद्योगबारे बुझे।

‘हाम्रो भाग्य! धुन्चेमा एउटा पुरानो दर्ता गरेर राखेको कम्पनी रहेछ’, उनी भन्छन्, ‘कम्पनी दर्तावालसँग कुराकानी भयो। उहाँले हिल टप ब्रान्डमा स्थानीय बजारमा पानी बिक्री गरिरहनुभएको थियो।’

त्यही कम्पनी थियो– रुद्रगंगा नेचुरल वाटर प्रा.लि। यो कम्पनी २०६६ सालमा सान्तेम्बा तामाङको नाममा दर्ता थियो। 

स्थानीयसँगको साझेदारीमा उद्योग सञ्चालन गर्ने सहमति गरेकाले भण्डारी र उनका साथीहरुको ७० प्रतिशत र ३० प्रतिशत सेयर तामाङ परिवारको रहने गरी सन् २०१७ मा स्वामित्व परिवर्तन भयो। योसँगै भण्डारी रुद्रगंगाको अध्यक्ष बने। यसले बिक्री गर्ने पानी ब्रान्डचाहिँ ‘रसुवा’ राखियो।

१२ करोड लागत, तीनथरि बोटल 
१५ रोपनी जग्गामा फैलिएको उद्योगलाई आधुनिकीकरण गर्न चीनबाट जर्मन प्रविधिको मेसिन ल्याए। उद्योग निर्माण सुरु भयो। भौगोलिक जटिलताले २०१९ मा उद्योग तयार भयो।  

त्यतिबेलै करिब १२ करोड रुपैयाँ उद्योग स्थापनाको लागि खर्च गरेको भण्डारी बताउँछन्। अहिले त्यो लगानी बढेर धेरै माथि पुगेको उनको भनाइ छ। 

‘निर्यात नै गर्ने उद्देश्यले उद्योग स्थापना गर्दा त्यही अनुसारको संरचना बनाएका छौँ’, भण्डारी भन्छन्, ‘तर निर्यातसँगै रसुवा ब्रान्डको पानी नेपालीले पनि चिन्नुपर्छ भनेर आन्तरिक बजारमा पनि प्रवर्द्धन गरिरहेका छौँ।’

अहिले ‘रसुवा’ ब्रान्डको पानी विदेश निर्यातमात्र होइन, नेपालमा पनि बिक्री हुन्छ। नेपालमा हिमालयन जाभा, ठमेलका पर्यटक जाने ठूला र चर्चित रेष्टुराँहरु, कूटनीतिक नियोगहरुमा ‘रसुवा’को माग उच्च छ। भाटभटेनीलगायतका डिपार्टमेन्टल स्टोरहरमा पनि यसका पानी उपलब्ध छन्। 

रसुवाले अहिले १ लिटर, ५०० एमएल र ३०० एमएलको प्रोडक्ट गरिरहेको छ। त्यसमा ५०० र ३०० एमएलको प्रोडक्ट निर्यात हुन्छ। चीनमा ३०० एमएलका बोटल मात्रै निर्यात हुन्छन्। 

‘कोभिडपछि ठूलोभन्दा सानो बोटलको खोजी धेरै छ। एक पटक खाने अनि फाल्ने बोटलको माग बढी छ,’ उनले भने, ‘ठूलो बोटल पठाउँदा कुच्चिने डर बढी रहन्छ।’

नाम्चे, मार्दी, बारपाक क्षेत्रमा निर्यात गर्ने उद्देश्यले नयाँ उद्योग खुल्दै छन्। अबको ५ वर्षमा नेपालको निर्यात तथ्यांकमा पानी हिस्सा ठूलो हुने भण्डारीको विश्वास छ।   

६० हजार उत्पादन क्षमता, २० प्रतिशत निर्यात
रुद्रगंगाले १६ घण्टामा दैनिक ६० हजार बोटल उत्पादन गर्छ। पानीको मूलबाट सुख्खायाममा ६ लाख लिटर पानी निस्किन्छ। त्यसमा ६० प्रतिशत पानी प्याकेजिङ गर्न सकिने भण्डारी बताउँछन्। 

अहिले उत्पादनको २० प्रतिशत मात्रै निर्यात भइरहेको छ। ८० प्रतिशत नेपाली बजारमै खपत हुने गरेको छ। 

रुद्रगंगा पुरानो मूल भएको ठाउँको नाम हो। गोसाइकुण्ड पुग्न नसक्नेले रुद्रगंगा धारोबाट पानी लिएर आउने गरेका छन्। अहिले उद्योग स्थापना भए पनि सर्वसाधारणको लागि छुट्टै धारो छाडिएको छ। 

भण्डारीका अनुसार दैनिक ४ लाख लिटर पानी अहिलेको उद्योगले प्याकेजिङ गर्न सक्छ। उद्योगको क्षमता बढाउन थप मेसिन आउँदै छन्। त्योसँगै निर्यात पनि बढ्ने उनी बताउँछन्।  

‘प्रत्येक महिना २–२ कन्टेनर पानी चाइना पठाउनुपर्छ। २०२२ डिसेम्बरसम्म २५ देखि ३० कन्टेनर पानी चीनमा पठाउँछौँ’, भण्डारीले भने। 

३ लाख बोटल पानी चीन पुग्यो
विश्वकै शिखर नेपाल जलस्रोतमा पनि दोस्रो धनी देश हो। त्यहीकारण पानी निर्यातको सम्भावना देखेर उद्योग खोलेको बताउँछन् भण्डारी। नेपालको तल्लोभन्दा माथिल्लो भेगको पानीको मिठास फरक रहेको उनको अनुभव छ।  

‘नेपालको सबै पानी मिठो छ तर माथिल्लो भेगको पानीको स्वाद छुट्टै छ’, भण्डारीले भन्छन्, ‘नेपालको पानी हिमालय ब्रान्डले पनि निर्यातमा सहज देखिन्छ।’

सरकारले तराईका क्षेत्रमा विशेष औद्योगिक क्षेत्र (सेज) स्थापना गरेको छ। तर पानीका उद्योग हिमाली भेकमा निकै सम्भावना देख्छन् उनी। त्यहाँ उद्योग खोल्ने ठाउँ बनाउनुपर्नेमा उनको जोड छ। 

‘हिमालको पानी प्याकेजिङ र ब्रान्डिङ नगरे बगेर समुद्रमा जान्छ। त्यसको भ्यालु हुँदैन’, उनले भने, ‘पानी निर्यातमा नेपालको ठूलो सम्भावना छ। हामी प्रयासरत छौँ। एउटा व्यवसायीले मात्रै निर्यात गर्छु भनेर हुँदैन। अरु पनि आउनुपर्छ।’

‘रसुवा’को ध्येय नै चिनियाँ बजार 
हुन त सरकारले खाडी मुलुकमा पानी निर्यात गर्ने नारा नै राखेको छ। तर ‘रसुवा’ले चीनकै बजारलाई लक्षित गरेको छ। 

झण्डै २ दशकदेखि चिनियाँ व्यवसायीसँग राम्रो सम्बन्ध बनाएका भण्डारी चीनमै निर्यात गर्ने लक्ष्य राखेको बताउँछन्। 

‘चिनियाँ व्यवसायीसँग चिनजान थियो। त्यहाँ सरकारी निकायसँग कुरा गर्दा नेपालको प्रोडक्ट खरिद गर्न तयार देखिए’, उनी भन्छन्, ‘गुणस्तरको पानी चाहिन्छ। चीनको स्ट्यान्डर्ड मिट हुनुपर्ने शर्त राखे।’

रसुवा ब्रान्डको पहिलो निर्यात चीनमै भयो। अहिले पनि चीनमा हुने थुप्रै प्रदर्शनीहरुमा ‘रसुवा’ को आफ्नै स्टल हुन्छ। चिनियाँ व्यवसायीले नै ‘रसुवा’ ब्रान्डको पानी बिक्री गरिरहेको भण्डारी बताउँछन्। उनका अनुसार चीनमा ३ लाख बोटल पानी निर्यात भइसकेको छ।

अरु देशमा पनि निकासी
मुख्य निर्यात चीनलक्षित भए पनि भण्डारीले कतार, अष्ट्रेलिया, दुबईमा पनि यही ब्रान्डको पानी निर्यात सुरु गरेका छन्। 

उनका अनुसार युरोपमा गुणस्तर पास भइसकेको छ भने अमेरिका र बेलायतको लागि पनि नमूना गइसकेको छ। जुन परीक्षणको चरणमा छ। 

भण्डारी भन्छन्, ‘कतारमा नेपाली दाजुभाइले नै बिक्री गरिरहेका छन्। जापानमा जापानी, अष्ट्रेलियामा अष्ट्रेलियाली र नेपाली एनआरएन रहेका छन्। जापानको सबै प्रक्रिया पूरा भएको छ। लेबलिङको काम भइरहेको छ।’  

जापानको ल्याब पास गर्न नै भण्डारीलाई १ वर्ष लागेको उनको भनाइ छ। त्यसपछि पानी प्याकेजिङको प्रोसेसिङ गर्दा धेरै समय लागेकाले यो बर्खा सकिएपछि प्याकेजिङ भई निर्यात सुरु हुने भण्डारी बताउँछन्। 

निर्यातको लागि विदेशमा भएका महावाणिज्य दूत र नेपाली राजदूतावासले सघाउनुपर्ने उनको भनाइ छ। 

यसरी भयो ‘रसुवा’को ब्रान्डिङ
भण्डारीले यसको ब्रान्डिङमा देशअनुसार फरक उपाय लगाएका छन्। २०१९ अगस्ट २ मा होटल याक एन्ड यतिमा ‘रसुवा’ लञ्च भएको थियो। हास्य कलाकारद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठलाई रसुवाको ब्रान्ड दूत बने। 

पानीको मुहान धुन्चेमा रहे पनि गोसाइकुण्ड यसको स्रोत हो। लोप हुँदै गएको रेडपान्डा संरक्षण गर्न सहयोग पुग्ने गरी लेबलिङको डिजाइन गरिएको छ। 

‘धुन्चे आसपासमा रेडपान्डा पाइन्छ। लाखौँ बोटलमा ‘सेभ द रेडपान्डा’ लेखेका छौँ’, बोटलको डिजाइन र ब्रान्डिङबारे भण्डारी भन्छन्, ‘सिमसार नै सिमसारको ठाउँलाई रसुवा भनिने रहेछ। त्यसैले हामीले रसुवा भनेरै ब्रान्डिङ ग¥यौँ।’

यसको लेबलिङ र प्याकेजिङ फरक रहेको उनको भनाइ छ। बोटलको लुक्स ग्लासजस्तो छ। पानीको बोटलमा हेर्दा राम्रो देखिन्छ। बोटलको बिर्को चाइनाबाट आउँछ। लेबलिङ भारतमा बन्छ। बोटल भने नेपालमै बन्छ। 

‘रसुवा ब्रान्डको पानी निर्यात गर्दा गोसाइँकुण्ड, लाङटाङ हिमाललाई प्रवर्द्धन गरिरहेका छौँ’, उनले भने, ‘प्राकृतिक उपहारको रुपमा विदेशमा ब्रान्डिङ भइरहेको छ।’

तत्कालीन सरकारले पनि नेपालको पानी खाडीमा लैजाने नारा बनाएको थियो। 

‘सरकार नेपालको पानी कसरी विदेश पठाउन सकिन्छ भनेर लागिरहेको। हामी निजी क्षेत्रबाट भर्खर उद्योग खोलेका,’ उनी भन्छन्, ‘सरकारको योजनासँग संयोग मिल्न गयो, हामीले नेपालबाट राम्रो गुणस्तरको पानी आउँदै छ है भनी सन्देश दियौँ।’

रसुवा लन्च भए पनि बजारमा जान चुनौती थियो। उनीहरुले आफ्नो प्रोडक्ट बजारमा नलगी ब्रान्डिङ र डिजाइनको मात्रै प्रचार गरे। त्यसपछि बजारले नै पानी खोज्न थाल्यो। 

‘पानी खोइ भन्ने प्रश्न आउन थाले। त्यसपछि मात्रै बजारमा रसुवा पुग्यो’, उनी भन्छन्, ‘हामीले खोजेकै त्यही थियो। २०१९ अक्टुबरमा एकै पटक बजारमा पानी ल्यायौँ।’ 

त्यसपछि त्रिभुवन विमानस्थलका ड्युटी फ्रिशपहरु, मार्टहरुमार्फत ‘रसुवा’ बजारमा गयो। 

चीनमा ‘बुद्धभूमि’, अन्य देशमा ‘हिमालको देश’ ब्रान्डिङ
रुद्रगंगाले जुन देशमा निर्यात गर्ने हो त्यही देशको भाषामा ‘रसुवा’ पानी पठाउँछ। चीन पठाउने बोटलको लेबल र कतार, जापान पठाउने लेबल फरक हुने भण्डारीले बताए।  

‘चीनमा पानी पठाउँदा बुद्ध जन्मिएको देशबाट आएको पानी भनी ब्रान्डिङ गरेका छौँ’, उनले भने, ‘अरु देशमा हिमालको देशबाट आएको पानी भनी ब्रान्डिङ भइरहेको छ।’

पानी बेचेर २ पैसो कमाउनु मात्रै ठूलो कुरा नभई देशको गर्वको कुरा रहेकाले ब्रान्डिङमा त्यहीअनुसारको ध्यान दिएको भण्डारीको भनाइ छ।  

३ वटा ल्याब टेष्टपछि बल्ल निर्यात 
रसुवा ब्रान्डको पानीमा कुनै पनि केमिकल नराखेको भण्डारीको भनाइ छ। 

‘मूलबाट निस्किएको पानीमा न हामी केही निकाल्छौँ न केही हाल्छौँ। पियोर नेचुरल वाटर हो’, रसुवा ब्रान्डको फिल्टरिङको प्रक्रियाबारे उनले भने, ‘हामी पानीको गुण फाल्दैनौँ। त्यसलाई प्रोसेसिङ ड्रिंकिङ वाटर भन्छन्। हाम्रो हिमालय नेचुरल स्प्रिङ वाटर हो।’

रसुवाको बोटलमै ल्याबटेष्ट गरेपछि के–के पाइन्छ उल्लेख गरिएको छ। रसुवा ब्रान्डको पानी बच्चादेखि बूढासम्मले खाँदा कुनै असर नगर्ने उनी बताउँछन्। 

‘भर्खर जन्मिएको बच्चालाई पानी खुवायो भने डाइरिया हुन सक्छ तर रसुवाको पानी खायो भने कुनै समस्या हुँदैन,’ उनको दाबी छ। 

रुद्रगंगाले बर्खाको पानीको प्याकेजिङ नै गर्दैन। साउन र भदौमा मूलको पानी टेष्टलेस हुने देखिएको भण्डारीले जानकारी दिए। 

‘पानी निर्यातमा व्यवसायीको कुरा मात्रै हुँदैन देशको पनि कुरा हुन्छ,’ उनी भन्छन्, ‘रसुवा ब्रान्डमा कुनै समस्या आउनेबित्तिकै हाम्रो मात्र होइन। नेपालकै पानीको गुणस्तरमा प्रश्न उठ्छ।’

सोही कारण नेपालको बदनाम हुने डरले ‘हाइजेनिक’मा गुणस्तरमा ध्यान दिएको बताउँछन् उनी। रसुवाले निर्यात गर्ने हरेक पानी ३ वटा ल्याबमा परीक्षण हुन्छ। एउटा उद्योगकै ल्याब छ भने अर्को निजी क्षेत्र र सरकारी ल्याबमा परीक्षण हुने उनले बताए।  

कोभिड महामारीले धक्का 
रसुवाले पानीको ब्रान्डिङ गरिरहेको समयमा नेपाल भ्रमण वर्ष २०२० मनाउने तयारी थियो। उनीहरुले सचिवालयमार्फत रसुवा ब्रान्डलाई अफिसियल पार्टनरमा राख्न आग्रह गरे। रसुवाले विदेश पठाउने पानीमा ‘भिजिट नेपाल २०२०’ लोगो निर्यात गर्ने समझदारी पनि भयो।

लाखौं लेबलिङ छपाए। भिजिट नेपालको ओपनिङ सेरोमनीमा १५ हजार बढी पानीका बोटल वितरण गरे। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित नेपालका नाकामा रसुवा ब्रान्डको स्वागत गेट राखे। नाकाबाट आउने पर्यटकलाई रसुवा ब्रान्डको पानी बाँडेर स्वागत गरे। 

छोटो समयमै नेपालमा पानीको ब्रान्डिङ राम्रो भयो। कतार एयरवेजसँग कुराकानी भयो। पानीको स्ट्यान्डर्ड एयरवेजले पठायो। पानीको गुणस्तर सिंगापुर, भारतसँगै नेपालका निजीक्षेत्रका ल्याब रिपोर्ट कतार एयरवेजलाई पठाए। 

कतार एयरवेजको दैनिक १२४ राष्ट्रमा २२० वटा उडान हुन्छ। कम्पनी बिजनेस क्लासमा रसुवा ब्रान्ड राख्न सहमत भए। उनीहरुकै भनाइअनुसार बोटलको डिजाइन हुनुपर्ने शर्त राखे। 

त्यही समयमा कतारमा रहेको नेपाली दूतावाससँग कुरा भयो। १२० बढी राष्ट्रको सहभागितामा एक्स्पो हुँदै रहेछ। दूतावाससँगको आग्रहमा रसुवा ब्रान्डको स्टल पाए। तर कोभिड १९ महामारीको कारण सबै योजना रद्द भए। 

भण्डारीका अनुसार २०२० जनवरीबाट बल्ल कतारमा पानी निर्यात सुरु भयो। अहिले पनि पानी खरिदकर्ताले कोभिड डरले ठूलो स्टकमा मगाएका छैनन्। 

मुख्य चुनौती ढुवानी
निर्यातको लागि पानी पठाउनभन्दा यातायात खर्च बढी छ। अहिले पानी समुद्र मार्ग र हवाइ दुवै मार्गबाट विदेशमा पानी निर्यात हुन्छ। दोहा र दुवईमा नेपाल एयरलायन्सको वाइडबडी विमानमार्फत कार्गो गरी पानी पठाइरहेको भण्डारीले बताए। 

‘पानी जहाजबाट पठाउँदा धेरै समय लाग्छ। प्याकेजिङ बिग्रिने समस्या हुन्छ,’ उनले भने, ‘हवाइबाट पठाउँदा भाडा महंगो छ। तर नेपालबाट पठाएको पानी २–३ दिनमै त्यहाँको बजारमा पुग्छ।’

एक ट्रक पानी पठाउँदा २ लाख बढी भाडा नै तिर्नुपर्छ। नेपाल भूपरिवेष्ठित राष्ट्र हुँदा ढुवानीको लागि समस्या भइरहेको उनको अनुभव छ। महंगो हुँदा पानीको मूल्य बढ्छ। 

‘रिसर्च नगरी आउँदा लगानी डुब्न सक्छ’
नेपालको पानी बिक्री गर्न समस्या नभएको उनको भनाइ छ। तर विना तयारी कम्पनी आए समस्या पर्ने उनको सुझाव छ। 

‘पानी निर्यातको लागि अरु कम्पनी आउनुपर्छ तर रसुवाले पानी पठाएको छ हामी सकिहाल्छौँ नि भनेर हुँदैन’, उनले थपे, ‘रिसर्च नगरी आउँदा लगानी डुब्न सक्छ। यहाँ एउटाले सुरु गरेपछि विना अध्ययन धमाधम त्यही व्यवसायमा आउने चलन छ।’

नेपालको पानी विदेशमा पहिलो पटक लैजाने अन टप हो। भण्डारी अनटपलाई नेपालको पानी उद्योगमा क्रान्ति ल्याउने कम्पनीको रुपमा व्याख्या गर्छन्। उनी भन्छन्, ‘हिमालको पानी भनेर चिनाएको नै अन टपले हो।’ 

नेपालको पानी निर्यात गर्न विदेशी उद्योग ल्याउनेभन्दा नेपालीलाई सरकारले प्रवर्द्धन गर्नुपर्ने उनको सुझाव छ। ‘सबैभन्दा गाह्रो त्यो देशको नियम पालना गर्नु हो’, उनले भने, ‘पानीको बोटल भरेर मात्रै निर्यात गर्न सकिँदैन। त्यो देशको स्ट्यान्डर्ड मेनटेन गर्नुपर्छ।’ 

यहाँबाट पानी पठाएपछि विदेशीले सरकारी ल्याबमा परीक्षण गर्ने गरेका छन्। त्यस्तोमा स्रोत देखाउनुपर्ने भण्डारीको अनुभव छ। विदेशमा २ हजार मिटरमाथिको पानीलाई राम्रो मान्ने गरेको पनि उनले सुनाए। धुन्चे २२ सय मिटर उचाइमा छ। 

‘हिजोका दिनमा हाइड्रोका धेरै प्रचार भए। थुप्रै लाइसेन्स लिएका छन्,’ अबको प्राथमिकता परिवर्तन हुनुपर्छ’, उनले भने, ‘विश्व बजारमा पानीमार्फत नेपाललाई ब्रान्डिङ गर्न सक्छौँ।’

कतिपय देशका सर्वसाधारणले नेपाल देश भनेरै नचिन्ने गरेको देखेका भण्डारी बोटलिङमै नेपालको पानी भनी निर्यात हुँदा देशलाई चिनाउन सहयोग पुग्ने बताउँछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .