ad ad

कारोबार


जनार्दन शर्मा २५ दिनपछि अर्थमा फर्किँदा के होला परिवर्तन?

जनार्दन शर्मा २५ दिनपछि अर्थमा फर्किँदा के होला परिवर्तन?

जनार्दन शर्मा


नेपालखबर
साउन १५, २०७९ आइतबार १४:४४, काठमाडौँ

गत असार २२ गते प्रतिनिधिसभा बैठकमा नै राजीनामा घोषणा गरेका निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा फेरि आज सोही जिम्मेवारीमा फर्किँदै छन्। 

आर्थिक विधेयकमा करको दरहरु बाहिरी व्यक्तिलाई हेरफेर गर्न लगाएको गम्भीर आरोपपछि उनले राजीनामा घोषणा गरेका थिए। योबीचमा उनीमाथि छानबिन गर्न संसदले विशेष समिति नै बनायो।  

उक्त समितिले शर्मामाथिको छानबिन सक्याएर प्रतिवेदन समेत सभामुख अग्निप्रसाद सापकोटालाई बुझाइसकेको छ। त्यसले शर्मामाथि आरोप लगाएजस्तो प्रमाण नभेटेसँगै अर्थ मन्त्रालयमा पुनः फर्किने तय भएको हो। 

योसँगै उनी २५ दिनपछि अर्थ मन्त्रालयको बागडोर सम्हाल्न लागेका हुन्। अर्थ मन्त्रालय बजेट निर्माण गर्ने र त्यसको कार्यान्वयन गर्ने गराउने मुख्य जिम्मेवारी भएको निकाय हो। चालू आर्थिक वर्षको बजेट कार्यान्वयनमा आउनथालेको १५ दिन भइसकेको छ। 

चालू आवको बजेट शर्मा आफैँले ल्याएका हुन्। आफ्ना योजनाअनुसार तयार भएको राजस्व र खर्चको लक्ष्यमा काम गर्न उनलाई केही सहज छ। 

कोर टिम हेरफेर होला? 
यद्यपि अर्थमन्त्रीका रुपमा शर्मालाई मन्त्रालयमा चुनौती नै नहुने भन्ने होइन। शर्माले फेरि अर्थ मन्त्रालय सम्हाल्दै गर्दा आफ्नो ‘कोर टिम’ निर्माण चुनौती हुनेछ। 

अर्थ मन्त्रालयका सचिवमा मधु मरासिनी नै छन्। त्यस्तै राजस्व सचिवमा कृष्णहरि पुस्कर छन्। यी दुई सचिवसँग नै काम गर्न रुचाउलान् वा फरक सचिव मन्त्रालय ल्याउलान्, त्यो प्रतीक्षाको विषय छ। यसमा भने शर्माले यसअघि मन्त्रालयमा रहँदा र बाहिर रहँदाको कार्यशैली मूल्याङ्कन गर्ने देखिएको छ। 

शर्मानिटक नेकपा माओवादी केन्द्रका एक नेताका अनुसार सचिव मरासिनीप्रति उनलाई दुःखेसो छ। 

‘मुख्यतया सचिव मधु मरासिनीको कार्यशैलीमा उहाँको ठूलो दुःखेसो छ’, ती नेताले भने। 
 
जेठ १५ मा बजेट सार्वजनिक गरेपछि जब शर्मामाथि आरोपहरु लाग्नथाले र बजेट निर्माणमा उनले जति भूमिका खेले, त्योभन्दा बढी भूमिका मधु मरासिनिको छ। मन्त्रीमाथि बजेटमा उल्लेख भएका विषयहरु र बजेट निर्माणको प्रक्रियामा नै आरोप लागेको थियो। 

त्यो आरोपमा अर्थसचिव मधु मरासिनीले कुनै खालको प्रतिरक्षा नगरेको शर्माको बुझाइ रहेको ती नेता बताउँछन्।  

मधु मरासिनी बजेट आएलगत्तै अमेरिका भ्रमणमा गएका थिए। लामो समय अमेरिका बसेर नेपाल फर्किने समयमा शर्मामाथिको आरोप चरम अवस्थामा थियो।  

यस्तो अवस्थामा त्यसलाई सुमधुर बनाउनको सट्टा मरासिनीले अर्थ मन्त्रालयबाट विदा मागे। तर जनार्दन शर्माले राजीनामा दिएलगत्तै मागेको विदा पूरा नहुँदै पुनः मन्त्रालयमा हाजिर भए।  

त्यसकारण मधु मरासिनीसँग काम गर्ने वा नगर्ने दोधारमा रहेको शर्मानिकट ती नेताको भनाइ छ। 

त्यस्तै कृष्णहरि पुष्करसँग भने शर्माको धेरै ठूलो गुनासो नरहेको उनले बताए। 

ती नेताका अनुसार पुष्करसँग सहयोग असहयोगभन्दा पनि उनको कार्यमूल्याङ्कन गर्न सकिने देखिएको छ।

भुपाल बराल राजस्व महाशाखा प्रमुख हुन्। बजेट महाशाखा प्रमुखबाट राजस्वमा तानिँदै ताका शर्माले केही असहमति राखेका थिए। बराल कांग्रेसनिकट कर्मचारी हुन्। 

त्यसकारण प्रधानमन्त्रीसँग आफैँ रिपोर्टिङ गर्नसक्ने हैसियत राख्ने उनलाई मन्त्री शर्माले नचलाउने देखिएको छ। 

आन्तरिक राजस्व विभागका महानिर्देशक रितेश शाक्यसँग भने अर्थमन्त्री शर्मा योभन्दा अघि पनि सन्तुष्ट थिएनन्। विभागको कार्यप्रगतिबारेको एक बैठकमा शर्माले उनीसँग असन्तुष्टि व्यक्त गरेका थिए। 

उनको स्थानमा सुमन दाहाललाई शर्माले राजीनामा दिनुअघि नै तयार गरेको मन्त्रालयमा चर्चा थियो। उनी यो पहिला भन्सार विभागको महानिर्देशक थिए। 

गभर्नर मुख्य चुनौती? 
जनार्दन शर्माको मुख्य चुनौती भने गभर्नर महाप्रसाद अधिकारी देखिएका छन्। बजेटलाई सहयोग पुग्ने मौद्रिक नीति छ वा छैन भन्ने विषयमा अर्थविद्हरु बीचमा नै दुईपक्षीय कुराहरु आइरहेका छन्। 

अब मौद्रिक नीति कार्यान्वयन र बजेट कार्यान्वयनमा गभर्नर र अर्थमन्त्रीबीच पहिले देखिएको मनमुटावले केही असर गर्ने अर्थविद्हरुको भनाइ छ। अर्थविद् केशव आचार्य अर्थ मन्त्रालय र राष्ट्र बैंकलाई बजेट र मौद्रिक नीतिसँगै सिंगो अर्थतन्त्रलाई सन्तुलन गर्ने महत्वपूर्ण निकाय भएको बताउँछन्। 

‘यी दुई व्यक्तिले गर्ने त आफ्नो आफ्नो काम हो तर पछि छलफल भएर काम गर्न जति सजिलो हुन्छ। त्यति अप्ठ्यारो खटपट हुँदा हुन्छ’, आचार्य भन्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .