ad ad

कारोबार


५ महिनामा २८ अर्बको विद्युत् निर्यात गर्ने नेपालको योजना

५ महिनामा २८ अर्बको विद्युत् निर्यात गर्ने नेपालको योजना

ढल्केबर सबस्टेसन।


दीपक भट्ट
जेठ २३, २०७९ सोमबार ११:३४, काठमाडौँ

नेपालले ५ महिनाभित्र २८ अर्ब ७४ करोड रुपैयाँको विद्युत् निर्यात गर्ने योजना बनाएको छ। 

दैनिक ४२५ मेगावाट विद्युत् निर्यात गर्ने लक्ष्य राखेको नेपालले अहिले १७७ दशमलव ७ मेगावाट विद्युत् भारत निर्यात गर्न थालिसकेको छ। 

नेपाल विद्युत् प्राधिकरणले अहिले कालीगण्डकी ‘ए’को १४० मेगावाट, त्रिशूलीको २३ दशमलव २ मेगावाट र देवीघाटको १४ दशमलव ५ मेगावाट विद्युत् भारत निर्यात गर्न थालेको हो। 

गत वर्ष नेपालले ३९ मेगावाट बिजुली बिक्री गरेको थियो। वर्षायाममा नेपाललाई विद्युत् सरप्लस हुन थालेको छ। 

प्राधिकरणका अनुसार नेपालले अहिले भारतको विद्युत् एक्सचेन्ज मार्केटमा विद्युत् निर्यात गर्न थालेको छ। मार्केटले तय गरेको मूल्यमा नेपालले विद्युत् निर्यात गर्ने प्राधिकरणले जनाएको छ। 

नेपालले बेच्ने मूल्यमा कुनै खालको सेडिङ हुने चान्स नै नभएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताउँछन्। 

उनले भने, ‘बेच्नेले थोरै मूल्यमा गर्नुपर्छ र किन्नेले धेरै मूल्यमा टेन्डर गर्नुपर्छ। बेच्न चाहेकोले बेच्न सकोस् र किन्न चाहेकोले किन्न पाओस् तर पाउने मूल्य भनेको मार्केटले तय गरेको नै हुन्छ।’

सम्झौताअनुसार अहिले नेपालले ३६४ मेगावाट बिक्री गर्न पाउँछ। त्यसमा डीएसएम (डिविएसन सेटलमेन्ट) भनेर नेपालले थप ४८ मेगावट पनि निर्यात गर्ने सुविधा पाउन सक्छ। 

योअनुसार करिब ४१२ मेगावाट बिजुली नेपालले बिक्री गर्न पाउँछ। १३ मेगावाट हाराहारीमा बीचैमा लस हुने हुँदा नेपालले यताबाट ४ सय २५ मेगावाट निर्यात गर्न पाउने प्राधिकरणको भनाइ छ।

कार्यकारी निर्देशक घिसिङले भने, ‘४ सय २५ मेगावाट बिक्री गर्न सक्यो भने धेरै नै फाइदा हुन्छ। अझ नेपालबाट अरु थप एप्लिकेसनहरु समेत भइरहेको छ। कुल ५ सय मेगावाट नेपालले बिक्री गर्न पाउने सम्भावना पनि जीवित नै छ।’

नोभेम्बरसम्म नेपालले भारतमा बिजुली बिक्री गर्नसक्ने उनको भनाइ छ। ५ सय मेगावाटको लक्ष्य रहे पनि नेपालमा पनि माग बढ्दा दिनरात एउटै नहुने उनको आकलन छ। त्यसकारण चौबीसै घण्टा ४ सय मेगावाट हाराहारीमा बिजुली बिक्री जसरी पनि हुने प्रधिकरणको दाबी छ। 

‘४ सय १२ मेगावाटको हिसाब गर्ने हो भने पनि १९ करोड १६ लाख रुपैयाँ दैनिक कमाउन सकिन्छ’, घिसिङले भने, ‘यो प्रतियुनिट १२ रुपैयाँले हो। यसले एक महिनामा ४ अर्ब बढीको विद्युत् निर्यात हुन्छ। यसरी हेर्दा ५ महिनामा २८ अर्ब ७४ करोड रुपैयाँ बिक्री गर्न सकिने देखिन्छ।’

औसत बिक्री मूल्य प्रतियुनिट ११.२ रुपैयाँ 
विद्युतको औसत बिक्री मूल्य प्रतियुनिट ११.२ रुपैयाँ (७ भारु) रहेको प्राधिकरणले जनाएको छ। अधिकतम दर प्रतियुनिट १९ रुपैयाँ (१२ भारु), न्यूनतम २.३८ रुपैयाँ (१.४९ भारु) र औसत दर ११.२ रुपैयाँ (७ भारु) छ। 

आईएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा बल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ। त्यसैले हरेक बल्कको मूल्य फरक–फरक हुने गरेको छ। 

प्राधिकरणका अनुसार बिहीबार निर्यात गरिएको विद्युतको अधिकतम र न्यूनतम मूल्य प्रतियुनिट क्रमशः भारु १२ (१९.२ नेरु) र २.४९ (३.९८ नेरु) छ। त्यस दिनको औसत मूल्य प्रतियुनिट भारु ६.७२ (१०. ७६ नेरु) छ। 

यसैगरी, शनिबार प्रधिकरणले अधिकतम प्रतियुनिट मूल्य १९.२ रुपैयाँ (१२ भारु) र न्यूनतम ४.०८ रुपैयाँ (२.५५ भारु)मा विद्युत् बिक्री गरेको छ। औसत मूल्य ११.४८ रुपैयाँ (७.१८ भारु) रहेको छ।  

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको क्रममा भारतले नेपालको विद्युत् लिने सहमति गरेको थियो। यसअनुसार भारतीय बजारमा ३६४ मेगावाटसम्म विद्युत बिक्रीका लागि स्वीकृति 
मिलेको हो। 

त्यसमध्ये २०० मेगावाट प्रतिस्पर्धामार्फत जसले बढी दर कबोल गर्छ उसैलाई बिक्री गर्ने गरी वैशाख २२ गते टेन्डर आह्वान समेत गरिसकेको छ। बाँकी रहेको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स)मा बिक्री गर्ने योजना प्राधिकरणको छ। 

टेण्डरको सम्पूर्ण प्रक्रिया पूरा गरी १ जुलाईबाट छनोट भएका योग्य कम्पनीहरुलाई विद्युत् उपलब्ध गराइने प्राधिकरणले जनाएको छ। 

भारतले नेपालका ६ वटा विद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी भारतीय बजारमा बिक्रीका लागि प्राधिकरणलाई स्वीकृति दिएको छ। देशभित्र खपत गरेर जगेडा भएको विद्युत् ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तर्देशीय प्रसारणलाइनमार्फत  निर्यात हुनेछ। 

नेपालले प्राधिकरणको स्वामित्वका त्रिशूली, देवीघाट, कालीगण्डकी ‘ए’, मध्यमर्स्याङ्दी, मर्स्याङ्दी र निजी क्षेत्रको ग्रिन भेन्चर्स लिमिटेडको लिखु–४ बाट उत्पादित ३६४ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति पाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .