कारोबार


ट्विटर खरिदको संघारमा इलोन मस्क, आकाशियो सेयर मूल्य

ट्विटर खरिदको संघारमा इलोन मस्क, आकाशियो सेयर मूल्य

नेपालखबर
बैशाख १२, २०७९ सोमबार २२:५६, काठमाडौँ

सोमबार न्युयोर्क स्टक एक्सचेन्जमा सुरुवाती कारोबारमा सामाजिक सञ्जाल ट्विटरको सेयर मूल्य चार प्रतिशत बढीले वृद्धि भएको छ । अर्बपति इलोन मस्कले ट्विटर किन्ने सम्झौता हुने अन्तिम चरणमा पुगेको खबरसँगै सेयरबजारमा मूल्य आकाशिएको हो । 

ट्विटरको बोर्ड पदाधिकारीले मस्कसँग यही खरिदबिक्रीबारे छलफल गरेको बताइएको छ । उनले ४३ अर्ब डलरमा ट्विटर खरिद गर्न चाहेका छन् । ट्विटरले यसअघि भने मस्कको अफरलाई नस्वीकार्ने संकेत गरेको थियो ।

तर ब्लुमबर्गले सोमबार नै किनबेच सम्झौता हुनसक्ने समाचार सार्वजनिक गरेको थियो । समाचारमा उक्त सम्झौताका लागि अन्तिम चरणको छलफल भएको उल्लेख छ । यता रोयटर्सले पनि सोमबार नै यसबारे घोषणा हुनसक्ने जनाएको छ । 

योसँगै ट्विटरको सेयर चार प्रतिशतले बढेर ५०.६२ डलर प्रतिकित्ता मूल्य पुगेको छ । मस्कले भने प्रतिकित्ता ५४.२० डलर प्रतिकित्ता मूल्यमा ट्विटरको आफूले लिइसकेको बाहेक सबै सेयर खरिद गर्ने जनाएका छन् । अप्रिलको सुरुतिर मस्कले ट्विटर किन्ने प्रस्ताव गरेका थिए ।

उनी विद्युतीय कार टेस्ला र स्पेस एक्सका मालिक हुन् । उनले ट्विटरको ९.२ प्रतिशत सेयर किनिसकेका छन् । सोसँगै अहिले उनी ट्विटरको ठूलो लगानीकर्ता छन् । ठूलो लगानीकर्ता बनेपछि उनलाई ट्विटरको बोर्डमा निम्त्याइए पनि उनी गएनन् । 

उनले ट्विटर खरिद गर्ने बताएपछि त्यसलाई ट्विटर बोर्डले थप जटिल बनाएको थियो । तर उनले केही दिनअघि मात्र आफूसँग ट्विटर खरिद गर्ने रकमको जोहो गरिसकेको बताएका थिए ।

उनले बैंकहरुसँग साढे ४६ अर्ब डलर ट्विटर खरिदका लागि तयार पारेको बताएका थिए । उनले ट्विटर थप खुल्ला र पारदर्शी हुनुपर्ने वकालत गर्दै आएका छन् ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad