ad ad

कारोबार


लक्ष्यको आधा मात्रै उखु पेलेर बन्द भए सर्लाही र महोत्तरीका चिनी उद्योग

क्षमता ५० लाख क्विन्टल, उखु क्रसिङ जम्मा २९ लाख क्विन्टल
लक्ष्यको आधा मात्रै उखु पेलेर बन्द भए सर्लाही र महोत्तरीका चिनी उद्योग

सर्लाहीकाे हरिरवनमा रहेकाे इन्दु शंकर चिनी उद्योग /फाइल तस्बिर


नेपालखबर
चैत १, २०८० बिहिबार ९:३१, काठमाडौँ

सर्लाही र महोत्तरीका दुई ठूला चिनी उद्योग गएरातिबाट बन्द भएका छन्। 

क्षमताअनुसार उखु पेल्न नपाएपछि सर्लाहीको हरिवनमा रहेको इन्दु शंकर चिनी उद्योग र महोत्तरीको रामनगरमा रहेको एभरेष्ट चिनी उद्योगले यो सिजनको लागि उखु क्रसिङ बन्द गरेका हुन्। 

गएको पुस ६ गतेबाट सञ्चालनमा आएका यी दुई उद्योगले उखु पाएको भए चैत भरी चल्थे। ५/७ वर्षअघिसम्म यी उद्योग वैशाख पहिलो साता मात्रै बन्द हुने गरेका थिए। 

इन्दु शंकर र एभरेष्ट देशकै ठूला चिनी उद्योग हुन्। यी उद्योगले यस वर्ष ३५/३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखेका थिए। तर तराई मधेशका जिल्लामा उखु खेती नै घटेकाले यी उद्योगले भनेजति उखु पेल्न पाएनन्। यस वर्ष दुबै उद्योगले २९/२९ लाख क्विन्टल हाराहारीमा मात्रै उखु पेलेका छन्। यी उद्योगको क्षमता भने एक सिजनमा ५० लाख क्विन्टल भन्दा माथि छ। 

‘यस वर्ष हामीले ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखेका थियौँ,’ इन्दु शंकर चिनी उद्योगका उखु प्रवन्धक योगनारायण रजकले नेपालखबरसँग भने, ‘तर गएरातिसम्म २९ लाख ४८ हजार ६११ क्विन्टल मात्रै उखु क्रसिङ गर्न सक्यौँ। यस वर्ष पनि लक्ष्य भन्दा साढे पाँच लाख क्विन्टल कम उखुमै चित्त बुझाउनु पर्यो।’

क्षमतामा इन्दु शंकरभन्दा ठूलो रहेको एभरेष्टले यस वर्ष २९ लाख ४ हजार क्विन्टल मात्रै उखु क्रसिङ गरेको छ। एभरेष्टको दैनिक क्रसिङ क्षमता ५० हजार क्विन्टलभन्दा माथि छ। 

‘महोत्तरीमा उखु खेती नै घटेकाले हामीले यस वर्ष लक्ष्यअनुसार उखु पेल्न पाएनौँ,’ एभरेष्टका यार्ड सुपरभाइजर रामेश्वर कुमार निरौलाले भने, ‘हामीले क्रसिङ गरेको आधाभन्दा धेरै उखु त सर्लाहीसहितका बाहिरी जिल्लाबाट ल्याएका हौँ। महोत्तरीको उखुले त एक महिना पनि उद्योग चल्न मुस्किल पर्छ।’ 
 
उत्पादन लागत अनुसार उखुको मूल्य नपाउँदा र तोकिएकै मूल्य पनि समयमै भुक्तानी नहुँदा तराई मधेशका किसानले उखु खेती मास्दै गएका छन्। 

सहज ढंगले उखु नपाएपछि इन्दु शंकर र एभरेष्टले यस वर्षबाट किसानलाई काँटा भएको एक सातामै उखुको भुक्तानी दिएका थिए।  

देशमै सबैभन्दा धेरै उखु खेती हुने सर्लाही जिल्लामा यसवर्ष झण्डै ६० लाख क्विन्टल उखु उत्पादन भएको अनुमान छ। सर्लाही जिल्लाबाट यस वर्ष महोत्तरीको एभरेष्ट चिनी उद्योगले साढे सात लाख क्विन्टल उखु लगेको छ। 

त्यसैगरी सिराहामा रहेको हिमालय चिनी उद्योगले अढाई लाख, बाराको बाबा बैजु चिनी उद्योगे साढे ३ लाख क्विन्टल उखु सर्लाहीबाट लगेका छन्।

बाँकी उखु सर्लाहीकै दुई चिनी उद्योगले पेलेका हुन्। 

भनेजति उखु नपाउँदा चिनी उद्योगहरुले क्षमताअनुसार उखु क्रसिङ गर्न नपाउने समस्या वर्षेनी बढ्दै गएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .