कारोबार


स्नातकोत्तर गरेका भुवनले सुरु गरे ५० लाख लगानी गरेर कुखुरा पालन

स्नातकोत्तर गरेका भुवनले सुरु गरे ५० लाख लगानी गरेर कुखुरा पालन

नेपालखबर
कात्तिक ८, २०८१ बिहिबार १०:१७, पाल्पा

उच्च शिक्षा हासिल गरेर पनि गाउँमा नै कृषिकर्ममा रमाउने मानिस हिजोआज विरलै पाइन्छन्। व्यवस्थापनमा स्नातकोत्तर गरेका पाल्पाको रामपुर नगरपालिका–८ आँपचौरका भुवन अर्याल कुखुरापालन गरेर समाजमा उदाहरणीय बनेका छन्।

उनको व्यवसाय पाल्पामा नमूना बनेको छ। उद्यमी अर्यालले रामपुर–८ खैरेनीमा प्रशस्त धान उत्पादन हुने खेतमा संरचना बनाएर रामपुर एग्रो तथा कृषि फार्म सञ्चालन गरेका छन्।

‘गाउँका युवा साथी रोजगारीको क्रममा सहर, बजार तथा वैदेशिक रोजगारीमा पुगेका छन्, गाउँ नै युवा नरहने अवस्था आयो, यहीँ केही गरौँ भनेर कुखुरापालनमा लागेको छु’, उनले भने, ‘यो व्यवसाय देखेर अरुले पनि केही सिको गरुन् भन्ने मेरो चाहना छ।’ उनी विगत सात वर्षदेखि उनी यो व्यवसायमा आबद्ध छन्।

पाँच रोपनी जग्गामा चारैतिर घेराबार गरी उनले कुखुरापालन गरेका हुन्। उनको फार्ममा हाल एक हजार सात सय ५० बोइलर कुखुरा छन्। सुरुमा अण्डा उत्पादन र मासुका लागि कुखुरा पालेका अर्यालले हाल मासुका लागि मात्र कुखुरापालन गरेका छन्।

उनको फार्ममा हाल एक हजार बेच्न लायकका कुखुरा छन् भने सात सय ५० हुर्कदै गरेका चल्ला छन्। कुखुरा बिक्रीका लागि बजारको समस्या छैन। रामपुर बजारमा सहजै बिक्री हुने गरेको अर्यालले बताए। उनले एक वर्षमा १२ पटकसम्म कुखुराका चल्ला खरिद गर्ने र तिलाई हुर्काएर बिक्री गर्दै आएका छन्।

उद्यमी अर्यालले रु ५० लाख लगानीमा कुखुरा पाल्न थालेका हुन्। यसबाट वार्षिक रु सात लाखसम्म आम्दानी हुने गरेको उनी बताउँछन्। स्थानीय सूर्योदय सहकारीबाट चल्ला फार्ममै आउने भएपछि व्यवसायमा चल्ला खरिदको समस्या नभएको उनले बताए। व्यवसाय धान्न एक जनालाई रोजगार दिएका छन्। टिक्ने खालको संरचना बनाएर व्यवसाय गरेका छन्।

गाउँका तीन जना युवाको सहकार्यमा सुरु गरेको व्यवसाय डेढ वर्षदेखि अर्याल एक्लैले धान्दै आएका छन् । कुखुरापालनसँगै उनले माछापालन पनि गरेका छन्।

व्यवसाय ठूलो र नमूना खालको भएकाले पनि फार्म अवलोकन गर्न जाने गरेको पाइन्छ। फार्ममै पुग्ने सडक सुविधा भएपछि दाना ल्याउन र कुखुरा बिक्रीका लागि बजार लैजान धेरै सजिलो छ। अर्याललाई यो व्यवसायले दाम मात्र नभइ समाजमा नाम पनि दिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad