कारोबार


तपाईंको भान्छासम्मै पुग्दैछ युद्धको असर– प्याकेजिङ र ढुवानी महँगिँदा खाद्यवस्तुको मूल्य बढ्ने

तपाईंको भान्छासम्मै पुग्दैछ युद्धको असर– प्याकेजिङ र ढुवानी महँगिँदा खाद्यवस्तुको मूल्य बढ्ने

सुमन सुस्केरा
चैत १०, २०८२ मंगलबार ११:१९, काठमाडौँ

मध्यपूर्वमा बढ्दो सैन्य तनावका कारण नेपालको आपूर्ति शृङ्खला गम्भीर रूपमा प्रभावित हुन थालेको छ। इजरायल, इरान र अमेरिकाबीचको बढ्दो द्वन्द्वले विश्वव्यापी ढुवानी र कच्चा पदार्थको उपलब्धतामा अवरोध पुर्‍याउँदा नेपाली बजारमा १५ प्रतिशतसम्म महँगी बढ्ने चेतावनी उद्योगीहरूले दिएका छन्।

उद्योग सङ्गठन मोरङका अध्यक्ष नन्द किशोर राठीका अनुसार द्वन्द्वका कारण विशेष गरी प्लास्टिकजन्य कच्चा पदार्थ, लुब्रिकेन्ट्स र पेट्रोकेमिकलको ढुवानी खर्चमा भारी वृद्धि भएको छ। सिपिङ कम्पनीहरूले ‘फोर्स मेजर’ (काबु बाहिरको परिस्थिति) को प्रावधान देखाउँदै प्रति कन्टेनर १ हजार ५ सयदेखि २ हजार डलरसम्म अतिरिक्त शुल्क थप गरेका छन्। यसको प्रत्यक्ष भार नेपाली उपभोक्तामा पर्ने राठीले बताए।

अध्यक्ष राठीका अनुसार प्लास्टिकजन्य उद्योगका लागि अनिवार्य पेट्रो केमिकल र पोलिमरको अभाव बढ्दै गएको छ। नेपालले यस्ता कच्चा पदार्थका लागि छिमेकी मुलुक भारतमाथि ठूलो भर पर्नुपर्ने हुन्छ, जसले अन्य मुलुकबाट 'क्रुड आयल' आयात गरी रिफाइन गरेर नेपाललगायतका देशलाई निर्यात गर्दै आएको छ । तर, अहिले भारत स्वयंले कच्चा तेलको समस्या झेल्नुपरेकाले नेपालतर्फको आपूर्ति अनिश्चित बनेको छ । "युद्ध लम्बिएमा प्लास्टिकजन्य मात्र होइन, अन्य उत्पादनमूलक उद्योगहरू पनि पूर्ण रूपमा बन्द हुने अवस्था आउन सक्छ," राठीले चिन्ता व्यक्त गरे।

नेपालमा प्लास्टिक सामग्रीका लागि आवश्यक कच्चा पदार्थ (ग्रेन्युल्स) मुख्यत: साउदी अरब, संयुक्त अरब इमिरेट्स र कतारबाट आउने गर्छ। युद्धका कारण ती मुलुकबाट आपूर्ति ठप्प भएपछि उद्योगीहरूले भारतीय रिफाइनरहरूतर्फ मोडिने प्रयास गरेका थिए। "तर, भारत सरकारले युद्ध सुरु भएको तेस्रो दिनमै सर्कुलर जारी गर्दै ग्रेन्युल्सको सट्टा एलपी ग्यास उत्पादनमा जोड दिन निर्देशन दिएपछि पाइपलाइनमा रहेका सामान समेत रोकिएका छन्," राठीले नेपालखबरसँग भने। प्लास्टिकको मूल्य वृद्धिले विद्युतीय तार, जुत्ता–चप्पल, प्याकेजिङ र टाइल्स निर्माणसम्म ‘चेन इफेक्ट’ पार्न थालेको छ। सामान पाइहाले पनि मूल्यवृद्धि बढ्ने देखिएको हो।

स्टक सकिँदै, सङ्कट नजिकिँदै
हाल बजारमा पुरानो मौज्दात (स्टक) रहेकाले तत्कालै चरम अभाव नदेखिए पनि नयाँ ढुवानी नआए आगामी एक–डेढ महिनाभित्र ठुलो औद्योगिक सङ्कट देखिने व्यवसायीको ठम्याइ छ। कतिपय विदेशी ढुवानीकर्ताले जोखिमका कारण बुकिङ नै रद्द गरेका छन् भने कतिपयले एलसी (प्रतीतपत्र) खोलिसकेका सामान समेत लोड गर्न मानेका छैनन्।

नेपाल उद्योग परिसङ्घ (सीएनआई) कोशीका अध्यक्ष पवन सारडाले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको अस्थिरताले प्लास्टिक र पीभीसीजस्ता वस्तुको मूल्यमा ४० प्रतिशतसम्म वृद्धि भइसकेको जानकारी दिए। डलरको अधिमूल्यन र नेपाली रुपैयाँको अवमूल्यनले आयात झन् महँगो बनाएको उनको भनाइ छ। "युद्धअघि र पछिको डलर दरको अन्तरले सुनदेखि नुनसम्मको खरिद महँगो भएको छ," सारडाले नेपालखबरसँग भने, "इन्धनको मूल्यवृद्धिसँगै ढुवानी भाडा बढ्दा उत्पादन लागत ह्वात्तै बढेको छ।"

अहिले बजारमा फलामे डन्डीको मूल्य समेत प्रतिकिलो १२ रुपैयाँले बढिसकेको छ।

तेल, चामल र दालको मूल्यलाइ पनि असर 
एमएम प्लाष्टिक ग्रुपका सुयश प्याकुरेलका अनुसार यो सङ्कटको चुनौतीपूर्ण पक्ष भनेको पहिले नै भइसकेका व्यापारिक सम्झौताहरू रद्द हुनु हो। सप्लायरहरूले पुराना दररेटमा सामान पठाउन अस्वीकार गर्दै रित्तै ट्रक फिर्ता पठाइरहेका छन्। विश्वभरका उद्योगहरूले कच्चा पदार्थ अभावका कारण उत्पादन क्षमता ५० प्रतिशतसम्म कटौती गरिसकेका छन्। यसको प्रभाव औषधि, खाने तेल, चामल र दालजस्ता खाद्यान्नको प्याकेजिङ र मूल्यमा समेत पर्ने प्याकुरेलको विश्लेषण छ।

यस्तो संवेदनशील समयमा सरकारले भारत तथा तेस्रो मुलुकसँग ‘जी–टु–जी’ (सरकार–सरकार) वार्तामार्फत आपूर्ति सहज बनाउन पहल गर्नुपर्ने माग व्यवसायीको छ। मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी पवन कुमार कोइरालाले कालोबजारी नियन्त्रणका लागि तथ्याङ्क सङ्कलन भइरहेको र अनुगमनलाई प्रभावकारी बनाइने बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad