कारोबार


पर्यटकीय गन्तव्य बन्दै ‘छाँगे झरना’

पर्यटकीय गन्तव्य बन्दै ‘छाँगे झरना’

नेपालखबर
साउन १९, २०८२ सोमबार १२:४३, भाेजपुर

भोजपुरको षडानन्द नगरपालिका-३ खार्तम्छामा रहेको छाँगे झरनाको आकर्षक पर्यटकीय गन्तव्य बनेको छ। एक सय ३९ मिटर उचाइ रहेको यो झरनाको संरक्षण गरिएसँगै पर्यटकीय गन्तव्यका रूपमा स्थापित भएको हो।

भोजपुरको सबैभन्दा अग्लो यो झरनाको षडानन्द नगरपालिका र कोसी प्रदेश सरकारको बजेटमा पदमार्ग निर्माणसँगै आवश्यक संरचना निर्माण गरिएको छ। झरनाको संरक्षणसँगै यसको प्रचार प्रसारमा जोड दिइएको षडानन्द नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदासले बताए। यो स्थानलाई एक स्थापित पर्यटकीय गन्तव्य बनाउने उद्देश्यका साथ विकासमा जोड दिएको उनको भनाइ छ।

‘छाँगे झरनाको विकास तथा संरक्षणमा जुटेका छौँ’ प्रमुख उदासले भने, ‘झरना हेर्न आउने पर्यटकलाई लक्षित गरेर बाटोसँगै आवश्यक संरचना निर्माण गरेका छौँ । यो झरना हाम्रो नगरको एक महत्त्वपूर्ण पर्यटकीयस्थल हो।’

यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रलाई समेटेर एकीकृत विकासमा जोड दिएको प्रमुख उदासले जानकारी दिए। सती घाटमा रहेको सती ढुंगाको संरक्षणबाट कुन्सालिङ डाँडा, हाँस पोखरी साउने डाँडा हुँदै, छाँगे झरना र त्यहाँबाट नेपाले डाँडाको ओमकार शक्ति पिठ, योगमायाको समाधीस्थल मजुवा बेँसीलाई समेटेर एकीकृत पर्यटकीय क्षेत्रको रूपमा बृहत्तर विकास गर्ने योजना रहेको प्रमुख उदासले बताए।

यो झरना हेर्न आन्तरिक पर्यटक पुग्ने गरेका छन्। देश तथा अन्तरराष्ट्रिय स्तरमा चिनाउन सके राम्रो आम्दानीको स्रोत बन्ने स्थानीयवासी सुरज बस्नेतले बताए । झरना भएको स्थलमा खानेपानीको व्यवस्थासँगै बस्नका लागि फलैचासमेत निर्माण गरिएपछि पर्यटकलाई सहजता भएको उनले बताए।

‘छाँगे झरनाको संरक्षण भएपछि पर्यटकको सङ्ख्या बढेको छ,’बस्नेतले भने, ‘यसको उचित विकाससँगै देश विदेशमा चिनाउन सकिएको छैन। यो झरना हाम्रो क्षेत्रको प्रकृतिको उपहार नै हो।’

माथिबाट झरेको पानीको फोहराले पर्यटकको मन लोभ्याउने गरेको छ। स्थानीयले यसलाई प्रकृतिको सुन्दर उपहारको रूपमा लिने गरेका छन्। यो स्थान पर्यटकीयसँगै धार्मिक क्षेत्र रहेकोले यसको विकासमा ध्यान दिनुपर्ने स्थानीयको माग छ।

ओझेलमा परेका यस्ता पर्यटकीय स्थलको महत्वलाई उजागर गर्न आवश्यक रहेको स्थानीय गणेश अधिकारीले बताए। राज्यले यस्ता ठाउँको पहिचान गरेर लगानी बढाउनुपर्ने स्थानीयवासीको भनाइ छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad