कारोबार


मौद्रिक नीतिमा मोरङ उद्योग व्यापार संघको ११ बुँदे सुझाव

मौद्रिक नीतिमा मोरङ उद्योग व्यापार संघको ११ बुँदे सुझाव

नेपालखबर
असार ११, २०८२ बुधबार १४:४, विराटनगर

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याउने मौद्रिक नीतिमा वित्तीय मोरङ उद्योग व्यापार संघले ११ बुँदे सुझाव दिएको छ।

बुधवार पत्रकार सम्मेलन गर्दै व्यापार संघका अध्यक्ष अनुपम राठीले नेपाल राष्ट्र बैंकलाई पठाएको औपचारिक सुझाव पत्रमा वर्तमान मौद्रिक व्यवस्था केही क्षेत्रहरूमा सुधार गर्नुपर्ने देखिएको उल्लेख छ।

निजी क्षेत्रको सहभागिता र समावेशी आर्थिक विकासलाई सुनिश्चित गर्न आफ्ना प्रस्तावहरूलाई मौद्रिक नीतिमा समेट्न पनि राठीले आग्रह गरे। 

संघले दिएको सुझावमा स्थायित्वसहित उद्योग, व्यापार तथा समग्र आर्थिक क्षेत्रको प्रवर्द्धनका विषय समेटिएका छन्। 

संघद्वारा प्रस्तुत प्रमुख सुझावमा हाल व्यक्तिगत तथा पारिवारिक लगानीकर्ताका लागि कायम १५ करोड रुपैयाँको शेयर धितो कर्जा सीमा बढाएर ३० करोड पुर्‍याउनुपर्ने प्रस्ताव गरिएको छ। यसले पूँजी बजार विस्तारमा सहयोग पुग्ने संघको विश्वास छ।

नेपाली पूँजी बजारमा आप्रवासी नेपालीहरूले पनि नियमनसहित प्रत्यक्ष लगानी गर्न सक्ने स्पष्ट तथा सहज व्यवस्था गर्नुपर्ने माग गरिएको छ।
सुझावमा भनिएको छ, ‘घरजग्गा मूल्यांकनको आधारमा हाल ५० प्रतिशत मात्र कर्जा दिइने व्यवस्था छ। त्यसलाई ७० प्रतिशतसम्म बढाएर घरजग्गा कारोबारलाई चलायमान बनाउनुपर्छ।’

बैंकहरूमा पर्याप्त तरलता रहेकाले सो तरलता उत्पादनमूलक उद्योगमा प्रवाह गर्न चालु पुँजी कर्जाको सीमा ४० प्रतिशतबाट ६० प्रतिशतसम्म पुर्‍याउनुपर्ने सुझाव दिइएको छ।

अध्यक्ष राठीले हाल साना तथा मझौला उद्योगहरूका लागि दुई करोड रुपैयाँको कर्जा सीमा रहेकामा त्यसलाई पाँचदेखि दश करोडसम्म पुर्‍याउनुका साथै कर्जा पुनर्संरचना र पुनर्तालिकिकरणको व्यवस्था मिलाउनुपर्ने प्रस्ताव छ। पर्याप्त इक्विटी भएका व्यवसायलाई खराब कर्जामा वर्गीकरण गर्न नहुने माग राखिएको छ। चालु पूँजी कर्जाको तुलनामा स्थिर पूँजी कर्जामा ब्याजदर न्यून कायम गरिनुपर्ने प्रस्ताव संघले अघि सारेको छ।

नयाँ नवप्रवर्तक व्यवसाय (स्टार्टअप) हरूलाई बैंकिङ पहुँच सहज बनाउने गरी नीतिगत स्पष्टता ल्याउन आग्रह गरिएको छ।

विदेशी मुद्रा सञ्चिति पर्याप्त रहेको अवस्थामा विगतमा प्रतिबन्ध लगाइएका खाद्य वस्तुहरूको आयात पुनः खुला गरी समुचित विदेशी मुद्रा व्यवस्थापन गर्नुपर्ने सुझाव संघले दिएको छ।

अत्यधिक बैंक विदा भएका कारण व्यवसाय प्रभावित हुने भन्दै संघले साप्ताहिक विदाबाहेक वार्षिक अधिकतम १३ दिन मात्रै विदा दिनुपर्ने नीति ल्याउन आग्रह गरेको छ। 

डिजिटल कारोबारको ट्रान्सफर शुल्क महँगो रहेको भन्दै संघले नयाँ दर प्रस्ताव गरेको छ। राठीले ब्याज घटेर मात्रै समस्याको समाधान नभएकोले अहिले बैंकमा भएको तरलतालाई कसरी परिचमला गर्ने भन्ने कुरा महत्त्वपूर्ण भएको बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad