कारोबार


पर्यटकका रोजाइमा डाग्बुङ पदमार्ग

पर्यटकका रोजाइमा डाग्बुङ पदमार्ग

नेपालखबर
बैशाख ३०, २०८२ मंगलबार १०:४, भाेजपुर

भोजपुरको रामप्रसादराई गाउँपालिकामा निर्माण भएको डाग्बुङ (गुराँस) पदमार्ग पर्यटकको रोजाइमा परेको छ। प्राकृतिक रूपमा मनोरम क्षेत्रलाई समेटेर डाग्बुङ पदमार्ग निर्माण गरिपछि यो क्षेत्र पर्यटकको रोजाइमा परेको हो।

लालीगुराँससँगै फाटिला पहाडका चौरहरूले पर्यटकको मन लोभ्याउने गरेको छ।

स्थानीय परिकारको स्वाद लिँदै, प्राकृतिक दृश्यको अवलोकन गर्न पर्यटक आउने गरेको स्थानीयवासी जगदीश राईले बताए। 

पदमार्ग निर्माणले यहाँको व्यापार व्यवसायसँगै स्थानीय उत्पादनको बजारीकरणमा पनि टेवा पुगेको उनले बताए। ‘डाग्बुङ पदमार्ग निर्माणले आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेको छ’, स्थानीय परिकारको स्वाद लिँदै प्राकृतिक मनोरञ्जन लिन मानिस यहाँ आउने गरेका छन्’, उनले भने।

किरात भाषामा डाग्बुङ अर्थात् गुराँस भनेर यो पदमार्गको नामकरण गरिएको हो। यहाँबाट सगरमाथा, मकालु कञ्चनजङ्गालगायत ठूला हिमश्रृङ्खलाको दृश्यावलोकन गर्न सकिने भुजेलको भनाइ छ। 

पदमार्ग निर्माणले यहाँ आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढेकाले व्यापार व्यवसाय बढ्दै गएको उनको भनाइ छ। यहाँबाट अग्ला हिमशृङ्लासँगै तराईका सुन्दर भू–भागको अवलोकन सकिन्छ।

यो क्षेत्रमा रहेको राष्ट्रिय फूल लालीगुँरासको संरक्षणसँगै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्यका साथ पदमार्ग निर्माण गरिएको रामप्रसादराई–१ का वडाध्यक्ष जोगेन्द्र राईले बताए। 

यसलाई मुख्य पर्यटन क्षेत्रका रूपमा स्थापित गराउने लक्ष्यका साथ निर्माण भइरहेको उनको भनाइ छ। आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढाएर आर्थिक स्रोतका रूपमा जोड्न यहाँ पदमार्ग निर्माण गरिएको वडाध्यक्ष राईको भनाइ छ। यो पदमार्ग निर्माणका लागि हालसम्म करिब रु ७० लाख बजेट खर्च गरिएको उनको भनाइ छ।

‘गुँरासको संरक्षणसँगै यो क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गराउने उद्देश्यले पदमार्ग निर्माण गरिरहेका छौँ’, उनले भने, ‘यो प्राकृतिक रूपमा निकै सुन्दर क्षेत्र रहेकाले यसको विकासमा हामीले जोड दिएका छौँ । यसलाई गाउँपालिकाको मुख्य पर्यटकीय गन्तव्य बनाउने हाम्रो लक्ष्य छ।’ पदमार्ग निर्माणमा नेपाल जलवायु नमूना कार्यक्रमअन्तर्गत यहाँ पदमार्ग निर्माण गरिएको गाउँपालिकाले जनाएको छ।

रामप्रसादराई गाउँपालिका–१ ओख्रेमा निर्माण भइरहेको यो स्थानलाई आधार बनाएर आन्तरिक पर्यटन सर्किट निर्माण गर्ने लक्ष्यका साथ काम भइरहेको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। हाल ओख्रे बजारबाट करिब सात किलोमिटर पदमार्ग निर्माण भएको अध्यक्ष राईले बताए। पदमार्गलाई वडा नं ४ मा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र चुलाचुलीसम्म जोड्ने योजना छ।

पर्यटकलाई लक्षित गरेर यहाँ करिब एक सय रोपनी क्षेत्रमा चियाखेती विस्तार थालिएको छ। यहाँ आउने पर्यटकलाई लक्षित गरेर घरबास (होमस्टे) निर्माण गरिने, यसलाई बृहत मुन्दुम पदमार्गसँग जोड्ने लक्ष्य रहेको अध्यक्ष राईले बताए।

 ‘लालीगुँरासको संरक्षणसँगै यो क्षेत्रको बृहत्तर पर्यटन विकासमा जुटेका छौँ’, अध्यक्ष राईले भने, ‘हाम्रो पालिकामा धेरै ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र छन्। यी क्षेत्रलाई पर्यटनसँग जोडेर आर्थिक स्रोतका रूपमा विकास गर्ने योजना छ। यो डाग्बुङ पदमार्गलाई अन्तरराष्ट्रिय क्षेत्रमा चिनाउने लक्ष्यका साथ काम गरिरहेका छौँ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad