कारोबार


शिवसताक्षीका ४ वटा वडा नुनिया धानको पकेट क्षेत्र घोषित

शिवसताक्षीका ४ वटा वडा नुनिया धानको पकेट क्षेत्र घोषित

नेपालखबर
पुस २, २०८१ मंगलबार ७:५७, झापा

झापाको शिवसताक्षी नगरपालिका परम्परागत धानको संरक्षणमा जुटेको छ। पालिकाले चार वडालाई लोपोन्मुख नुनिया धानको पकेट क्षेत्र घोषणा गरेको छ।

अन्य धानभन्दा ढिलो तर थोरै फल्ने भएकाले किसानले विगतमा खेती गर्न छाडेका कारण कालो नुनिया लोपोन्मुख अवस्थामा पुगेको हो। मिठो स्वाद र सुगन्धका कारण नुनिया धान महँगो मूल्यमा बजारमा बिक्री हुन्छ।

शिवसताक्षी वडा नं ७ मा रहेको कञ्चन जैविक विविधता संरक्षण विकास समितिसँग सहकार्य गरेर नगरपालिकाले नुनिया लगायत परम्परागत धानको बीउ संरक्षण र खेतीका लागि अभियान सञ्चालन गर्दै आएको नगरउपप्रमुख नरमाया कार्कीले बताइन्।

उनले वडा नं १, ४, ७ र १० लाई कालो नुनिया धानको पकेट क्षेत्र घोषणा गरिएको जनाउँदै नुनियाको खेती गर्ने किसानलाई धानखेती गरेको जमिनको मात्राका आधारमा आर्थिक अनुदानसमेत उपलब्ध गराउँदै आएको जानकारी दिइन्।

‘पुराना बालीमध्येको कालो नुनियालाई किसानको खेतबारीमा फलाउने हाम्रो प्रयास सफल भएको छ’, उपप्रमुख कार्कीले भनिन्, ‘नगरपालिकाले किसानलाई बीउ र अनुदान दिने गरेको छ।’

कालो नुनिया धानको भात मिठो हुने र प्रतिमन रु चार हजारका दरले बिक्री हुने जैविक विविधता संरक्षण समितिका अध्यक्ष डिल्ली पौडेल बताउछन् । समितिले किसानलाई कालो नुनियाको खेती गर्न प्रोत्साहित गरिरहेको हुँदा यसको खेती बर्सेनि विस्तार हुँदै गएको दाबी गरे।

पछिल्लो समय कालो नुनिया धानको माग अत्यधिक बढेको हुँदा किसानले पनि खेतीमा चासो बढाएको उनको भनाइ छ । समितिले यसपालि किसानलाई सात टन कालो नुनियाको बीउ बिक्री गरेको जनाएको छ । परम्परागत बाली संरक्षणका लागि शिवसताक्षीमा  २०६५ सालमा समितिको स्थापना भएको थियो । त्यसको एक वर्षपछि शिवसताक्षी वडा नं ७ मा परम्परागत बालीको बीउ बैंक स्थापना गरिएको थियो । बीउ संरक्षणका लागि शिवसताक्षी नगरपालिकाले ५० प्रतिशत लागत व्यहोर्दै आएको अध्यक्ष पौडेलले जानकारी दिए।
 
नगरपालिकाले कालो नुनिया धानमा प्रतिपाँच कठ्ठा रु पाँच सय अनुदान दिँदै आएको छ । विगत दुई वर्षमा अनुदानका लागि नौ सय कठ्ठाको निवेदन परेको शिवसताक्षी नगरपालिकाका कृषि शाखा प्रमुख रविन भट्टराईले बताए । नगरभित्र छ सय बिघा क्षेत्रफलमा कालो नुनिया धान लगाइएको कृषि शाखा प्रमुख भट्टराईले दाबी गरे।

समितिले शिवसताक्षीमा स्थापना गरेको बीउ बैंकमार्फत एक सय २० प्रजातिका परम्परागत धानको संरक्षण गरेको जनाएको छ । शिवसताक्षी–७ को चन्द्रडाँगीमा समितिले भाडामा लिएको तीन कठ्ठा जग्गामा बीउका लागि एक सय सात प्रजातिका धान यसपालि फलाइएको समितिका अध्यक्ष पौडेलले बताए । उनले परम्परागत धानको बीउ देशभरबाट सङ्कलन गरेर एउटै खेतमा रोपेर फलाइएको जानकारी दिए ।

‘जुम्लामा फल्ने मार्सीदेखि पहाडको इलाममा पाइने दूधराज प्रजातिको धान हामीले फलाएका छौँ’, उनले भने, ‘पुराना धान र तरकारी बालीको बीउ नमासिउन् भनेर संरक्षणका लागि हामीले प्रयास गरिरहेका हौँ।’

नुनियाजस्तै बासनादार धानका रूपमा चिनिएको बासमतीका रातो, पहेँलो, कालो र टुँडे प्रजातिका धान यहाँ फलाइएको छ । त्यहाँ फलेका धानमा कतारखेरा, कालो टुँडे बासमती, जङ्गली मन्सुली, रुद्राक्ष, जुङ्गे कालो बासमती, नाजिर, रातो बच्छी, चुल्ठे, बेलगुठी, रातो हाप्सा, होडबच्छी, सेतो बासमती, हाडीफोर, भोटाङे, चम्पासरी, सानो चनाचुर, अनदी, धनकुटे, लालबच्छी, बिरिमफूल, छोटी बासमती, रातो बासमती, रातो अनदी, गोडरा, अम्बरध्वज, दिरुवा, बदलधान, अनदी सेतो, झहर धान, समल चौरी, कोमल धान, गौमा धान, कनकजिर बासमती, कालो रातो अनदी, जिरासरी, अट्टे, राँगा धान, दुधराज, रासधान, मार्सी, अण्डी धान, अनदी रातो, हंसराज, रातो स्थानीय, तिल्की, रातो टुँडे बासमती, श्यामजिरा, घिउकुमारी, दोसरा, ठूलो मनसरा, सिकिचन, रामबेला, आपझुत्ते, जर्नेली र घिउपुरी रहेका छन्।

त्यसैगरी, झिनुवा, मिडिया अनदी, थापाचिनी, सेते धान, कालो नुनिया ठूलो, साधारण कालो नुनिया, कालो नुनिया–१, कालो नुनिया–१०, हरिनकेर, परेवा प्वाँख, बामन चिनी, मधुमाला, मधुकर, पुलिङटार, कालो तृलसी, कस्तुरी, बुढीडाइन–३, बङ्गलादेशी, अनमोल ५५, अनमोल कालो टुँडे र बाघजुङ्गे धान फलाइएको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाम्फेले नगरपालिकाले कृषिलाई प्राथमिकतामा राखेर काम गर्दै आएको र परम्परागत धान संरक्षणमा सहयोग गरिरहेको बताइन्।
 
कञ्चन जैविक विविधता संरक्षण समितिले धान मात्र नभई हिउँदे बालीको पनि बीउ उत्पादन गरी संरक्षण गर्दै आएको छ। जसमा दुई जातिको मकै, तीन जातिको कोदो, दुई जातिको फापर, आठ जातिको कार्तिके बोडी, १३ जातिको हिउँदे सिमी, पाँच जातिको फर्सी, पाँच जातिको लौका, छ जातिको घिरौला, तीन जातिको मास, एक जातिको करेला, एक जातिको बकुल्ला, दुई जातिको पोइसाग, एक जातिको तोरी, एक जातिको फिलुङ्गे र एक जातिको पोथ्रे सिमी रहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad