कारोबार


इरान युद्धको असर: जापानका दैनिक उपभोग्य वस्तुका प्याकेट रंगीनबाट श्यामश्वेत

इरान युद्धको असर: जापानका दैनिक उपभोग्य वस्तुका प्याकेट रंगीनबाट श्यामश्वेत

नेपालखबर
बैशाख ३०, २०८३ बुधबार ११:४२, काठमाडौँ

इरान युद्धका कारण विश्व आपूर्ति शृङ्खलामा परेको असर अब जापानका दैनिक उपभोग्य वस्तुहरूमा समेत देखिन थालेको छ।

रङ्गीन मसी उत्पादनमा प्रयोग हुने कच्चा पदार्थको अभाव भएपछि जापानका केही लोकप्रिय स्न्याक कम्पनीहरूले आफ्ना प्याकेट रङ्गीनबाट श्यामश्वेतमा रूपान्तरण गर्न थालेका छन्।

जापानको चर्चित खाद्य कम्पनी क्याल्बीले आलुको चिप्स र अन्नजन्य स्न्याकहरूको प्याकेजिङमा प्रयोग हुने मसीको आपूर्ति प्रभावित भएपछि केही उत्पादनको डिजाइन अस्थायी रूपमा परिवर्तन गर्न लागेको जनाएको छ।

कम्पनीका अनुसार उत्पादनको गुणस्तर र स्वादमा कुनै परिवर्तन नहुने भए पनि प्याकेटको बाहिरी रूप भने पहिलेभन्दा निकै साधारण देखिनेछ।

टोकियोस्थित कम्पनीले यस साता जारी गरेको विज्ञप्तिमा ‘उत्पादनको स्थिर आपूर्ति कायम राख्न’ यस्तो कदम चालिएको उल्लेख गरेको छ। कम्पनीका १४ प्रकारका उत्पादनमा मे २५ देखि नयाँ प्याकेजिङ लागु हुनेछ, जसमा प्रयोग हुने मसीका रङ दुईवटामा मात्र सीमित गरिनेछ।

क्याल्बीका लोकप्रिय स्न्याकहरू जापानभरका सुविधा स्टोरमा व्यापक रूपमा बिक्री हुने गर्छन्। कम्पनीका उत्पादन अमेरिका, चीन र अस्ट्रेलियासमेत निर्यात भइरहेका छन्।

सन् १९४९ मा स्थापना भएको क्याल्बीमा पाँच हजारभन्दा बढी कर्मचारी कार्यरत छन्। अहिलेको भूराजनीतिक परिस्थितिका कारण आपूर्ति व्यवस्थापनमा लचिलोपन अपनाउन बाध्य भएको कम्पनीले जनाएको छ। यो परिवर्तन कति समयसम्म जारी रहने भन्नेबारे कम्पनीले स्पष्ट जानकारी दिएको छैन।

इरानमा जारी युद्धका कारण हर्मुज जलघाँटी प्रभावकारी रूपमा अवरुद्ध भएपछि विश्व बजारमा तेल तथा तेलजन्य कच्चा पदार्थको आपूर्तिमा दबाब बढेको छ। त्यसको प्रत्यक्ष असर प्लास्टिक, रसायन र मसी उद्योगमा परेको बताइएको छ।

जापान लगभग पूर्ण रूपमा आयातित तेलमा निर्भर देश भएकाले यस्तो सङ्कटले उत्पादन उद्योगमा थप चुनौती सिर्जना गरेको छ। विशेषगरी ‘नाफ्था’ नामक तेलजन्य पदार्थ प्लास्टिक र मसी उत्पादनमा अत्यावश्यक मानिन्छ।

आपूर्ति अवरोध र मूल्यवृद्धिका कारण उद्योगहरूले उत्पादन लागत घटाउन वैकल्पिक उपाय अपनाउन थालेका छन्। जापानी सरकारले राष्ट्रिय तेल भण्डार पर्याप्त रहेको भन्दै बजारमा देखिएको चिन्ता कम गर्ने प्रयास गरिरहेको भए पनि उपभोक्ताले अब प्रत्यक्ष रूपमा परिवर्तन महसुस गर्न थालेका छन्।

क्याल्बीको लोकप्रिय ‘उसु सिओ’ अर्थात् हल्का नुनिलो चिप्स पहिले चम्किलो सुन्तला रङको प्याकेटमा बिक्री हुने गर्थ्यो, जसमा आलुको कार्टुन पात्र र पहेँला चिप्सका तस्बिर राखिएका हुन्थे। तर नयाँ संस्करणमा भने रङ्गीन डिजाइन हटाएर केवल श्यामश्वेत अक्षर प्रयोग गरिएको छ।

त्यसैगरी कम्पनीको चर्चित झिँगेमाछा (प्राउन) चिप्स ‘काप्पा एबिसेन’ को प्याकेजिङमा पनि समान परिवर्तन लागु गरिने भएको छ। मार्च महिनामा मात्रै कम्पनीले दीर्घकालीन विकास रणनीति सार्वजनिक गरेको थियो।

तर पछिल्लो भूराजनीतिक तनावले उत्पादन र आपूर्ति व्यवस्थापनलाई नयाँ चुनौती दिएको कम्पनीले जनाएको छ। क्याल्बीले आफ्नो विज्ञप्तिमा ‘भूराजनीतिक जोखिमसहित सञ्चालन वातावरणमा आउने परिवर्तनप्रति कम्पनीले छिटो र लचिलो प्रतिक्रिया दिनेछ’ भन्दै सुरक्षित र उच्च गुणस्तरका उत्पादनको निरन्तर आपूर्तिप्रति प्रतिबद्ध रहेको उल्लेख गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad