कारोबार


म्याग्दीमा ३ दशमलव १  प्रतिशतले बढ्यो धान उत्पादन

म्याग्दीमा ३ दशमलव १  प्रतिशतले बढ्यो धान उत्पादन

फाइल तस्बिर


नेपालखबर
मंसिर १०, २०८२ बुधबार १३:५८, म्याग्दी

म्याग्दीमा प्रमुख खाद्यान्नबालीका रूपमा रहेको धानको उत्पादन यस वर्ष बढेको छ। गत वर्षको तुलनामा तीन दशमलव एक प्रतिशतले धान उत्पादन वृद्धि भएको कृषि विकास कार्यालयले जनाएको छ।

अनुकूल मौसम, रोगकिराको समस्या नदेखिएनु, भित्र्याउने समयमा असिना नपर्नु, बेमौसमी वर्षाले कम असर गर्नुलगायत कारणले यस वर्ष तीन दशमलव उक प्रतिशतले धान उत्पादन बढेको कार्यालयका प्रमुख सञ्जीव बास्तोलाले जानकारी दिए।

‘धान रोप्ने र हुर्कने समयमा पर्याप्त वर्षात हुनुका साथै भित्र्याउने समयमा पनि मौसमले साथ दियो’, उनले भने ‘रोगकिराको समस्या नदेखिएको र असिना नपरेकाले धान उत्पादन बढेको हो।’

गत कात्तिकको दोस्रो साता भएको बेमौसमी वर्षाले म्याग्दीका धानबालीमा ठूलो क्षति नपुर्‍याएको कार्यालयले जनाएको छ। जिल्लामा तीन हजार ८०६ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएकामा गत वर्ष प्रतिहेक्टर तीन दशमलव ५९ मेट्रिकटनका दरले १३ हजार ६६३ मेट्रिकटन धान उत्पादन भएको थियो। यस वर्ष प्रतिहेक्टर तीन दशमलव ७० मेट्रिकटनका दरले १४ हजार ८७ मेट्रिकटन धान उत्पादन भएको कार्यालयका प्रमुख बास्तोलाले जानकारी दिए।

जिल्लाका विभिन्न ठाउँमा गरिएको बाली कटान विधिबाट उत्पादनको तथ्यांक संकलन गरिएको कृषि प्रसार अधिकृत गंगा लामिछानेले बताइन्। उनका अनुसार गौरीया, गुडुरा, जेठो बुडो, जर्नेली, पहेँले, मार्सी, शंकर, युएस–३१२ लगायत जातका धानखेती यहाँका मुख्य बाली हुन् ।

भिरालो जमिनमा पनि गर्न सक्ने र सिँचाइ आवश्यक नपर्ने घैया जातको धानखेती लेकाली क्षेत्रका किसानले गर्छन्। पछिल्लो समय उन्नत जातमा किसानको आकर्षण बढेपछि धैया, अनदीलगायत रैथाने जातका धानको खेती घटेको लामिछानेले बताइन्।

रत्नेचौर, ज्यामरुककोट, अर्थुंगे, पुलाचौर, सिंगा, बरङ्जा, बाबियाचौर, कुहुँ, अर्मन, दरबाङ, ताकम, घतान, पात्लेखेत, पिप्ले, भगवती, घार, नारच्याङ, दानालगायत क्षेत्रमा धानखेती हुँदै आएको छ । धौलागिरि गाउँपालिकाको गुर्जा, लुलाङ र अन्नपूर्णको शिख, राम्चेमा चिसोका कारण धान उत्पादन हुँदैन्।

मंगला गाउँपालिका २ सिमका ध्रुव केसीले यस वर्ष ११० मुरी धान उत्पादन भएको बताए। मौसमले साथ दिएकाले उत्पादन बढेको बताउँदै उनले गत वर्ष १०० मुरी मात्र धान उत्पादन भएको जानकारी दिए।

गण्डकी प्रदेश सरकारले धानलगायत खाद्यान्नबालीको खेती प्रवर्द्धनको कार्यक्रम सञ्चालन गरेको छ । गत वर्ष १० लाख बजेट विनियोजन भएको यस कार्यक्रममा चालु आवमा रु १५ लाख विनियोजन भएको छ । कार्यक्रममार्फत सिँचाइ, पूर्वाधार विस्तार र यान्त्रीकरणमा सहयोग गरिन्छ।

स्थानीय तहअनुसार कोटा निर्धारण गरेर रासायनिक मल आपूर्ति र वितरणको व्यवस्था मिलाएकाले किसानले मल अभावको समस्या झेल्नु नपरेको जनाएका छन्। रैथाने बालीको खेती घट्दै जानु, क्षेत्रफल विस्तार हुन नसक्नु, जनशक्तिको कमीलगायत कारणले जिल्लामा धानखेतीको मुख्य चुनौती बनेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad