कारोबार


तनहुँमा किन कम फल्न थाल्यो सुन्तला?

तनहुँमा किन कम फल्न थाल्यो सुन्तला?

नेपालखबर
माघ १५, २०८१ मंगलबार ७:१७, तनहुँ

तनहुँको म्याग्दे गाउँपालिका–३ गुञ्जार उमाचोक, देवघाट गाउँपालिका-२ र ३ नम्बर वडा सुन्तलाखेतीको पकेट क्षेत्रका रूपमा चिनिन्छन्। गुञ्जार उमाचोकमा केही वर्षअघि सुन्तला उत्पादन प्रशस्त हुनेमा पछिल्लो समय उत्पादनमा कमी आएको छ। 

‘दुई-तीन वर्षअघिसम्म यहाँ प्रशस्त सुन्तला उत्पादन हुन्थ्यो, आम्दानी पनि मनग्ये हुन्थ्यो’, गुञ्जारका सुन्तला किसान निरे विकले भने, ‘अहिले के भयो-भयो, फल नै लाग्दैन। सुन्तलाको बोटमा विभिन्न रोग देखापर्ने समस्या आएको छ।’ आम्दानीको स्रोत यही भएका किसान मारमा परेका उनले बताए।

‘पहिले समयमा पानी पर् थ्यो।, अहिले सुन्तलाले फूल खेल्ने बेलासम्म पनि पानी पर्दैन’, विकले भने, ‘करिब १५० सुन्तलाको बोटमा रोग देखिएको छ, फल पनि लाग्दैन। के भएको हो, कृषि ज्ञान केन्द्रका प्राविधिकसँग सोधपुछ गरिरहेका छौँ ।’ यसको समाधान केही नभएको प्राविधिकबाट जवाफ पाएको उनले जानकारी दिए। गत वर्ष दुई लाख ५० हजार आम्दानी गरेका उनले  यो वर्ष आधा पनि नहुने भन्दै चिन्ता व्यक्त गरे।

‘सुन्तलाले फूल खेल्ने बेलामा पानी पर्नै छोडेको छ, अचेल मौसम फेरिएको जस्तो पो लाग्छ, पानीको अभावले सुन्तला उत्पादनमा कमी आउन थालेको छ’, किसान रामबहादुर अधिकारीले भने।’  सिँचाइका लागि पानी नहुँदा उत्पादनमा कमी आएको उनको बुझाइ छ । 

‘यहाँ सिँचाइका लागि पानीको मुहान पर्याप्त छैनन्, एकमात्र कुवाको पानी गाउँलेले पिउनुपर्ने र वस्तुभाउलाई खुलाउनुपर्ने बाध्यता छ’, अधिकारीले भने, ‘त्यही मुहानबाहेक अरु छैन, सिँचाइका लागि पानी अभाव छ।’ आकाशे पानीको भरपर्नुपर्ने भए पनि आजकाल पानी पर्ने समय फेरिएको उनले बताए। 

सुन्तला उत्पादन वृद्धि गर्न फूल खेल्ने बेलामा कृत्रिम परागसेचन गराउन प्रविधि प्रयोग गर्न सकिने कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ। सुन्तलाको परागसेचनका लागि प्राकृतिक भए उत्कृष्ट भन्दै नेपालमा कृत्रिम परागसेचन गर्ने प्रविधि प्रयोगमा नआएको केन्द्रका सूचना अधिकारी किरण परियारले बताए। 

‘प्राकृतिक रूपमा हुने उत्पादन जैविक र सेवनका लागि उपयुक्त मानिन्छ। कृषिप्रधान देशमा यस्ता कृत्रिम प्रविधि कम प्रयोग हुन्छन्, वा प्रयोग नै हुँदैनन्’, उनले भने, ‘प्रकृतिमा परिवर्तन आउँदा किसान मारमा परेका छन्।’
    
विकसित मुलुकमाभन्दा विकासिल मुलुकमा बढी जलवायु परिवर्तनको प्रभाव परिरहेको सूचना अधिकारी परियारले बताए।

‘किसानले जलवायु परिवर्तनको प्रभावका कारण यस्ता परिवर्तन भइरहेका भन्ने थाहा पाएका छैनन्। प्रत्यक्ष रूपमा खेतीबालीमा जलवायु परिवर्तनको प्रभाव परिरहेको छ’, उनले भने। सुन्तलामा समस्या आएको किसानबाट गुनासो आउने गरेका भन्दै जलवायु परिवर्तनको प्रभाव भन्ने किसानले नबुझेकाले बुझाउन समस्या हुने गरेको उनले बताए।

सुन्तलामा विभिन्न सङ्क्रमणका कारण लाग्ने रोग र उपचार केन्द्रसँग नभएको परियारले बताए। सामान्य रूपमा सङ्क्रमण न्यूनीकरणका उपाय अनाउने र किसानलाई सिकाउने गरिएको, सिँचाइलाई बढी प्राथमिकता दिन सुझाव दिने गरिएको केन्द्रले जनाएको छ।  

जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल शर्मा लामिछानेले विगतमा ६०० देखि ८०० मिटरसम्मको उचाइ सुन्तला उत्पादन राम्रो हुने गरेको बताए।

‘अहिले बिस्तारै तापक्रम बढ्दै गएको छ, ९०० मिटरभन्दा तलका क्षेत्रमा सुन्तला उत्पादन कम भएका छन्’, उनले भने, ‘सुन्तला उत्पादनका लागि मौसम चिसो आवश्यक पर्छ। पहिला उपयुक्त मौसम थियो, अहिले यहाँको तापक्रम बढ्दो छ, जसले उत्पादन कम हुँदै गएको छ। कतिपय ठाउँमा उत्पादन हुनै छाडेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad