पछिल्लो समय बागलुङमा उत्पादित छुर्पीले राम्रो बजार पाएको छ। सहकारीमार्फत संकलित दूधबाट उत्पादित यहाँको छुर्पीको माग उच्च छ।
यहाँ उत्पादित छुर्पी काठमाडौँ हुँदै अमेरिका निर्यात हुने गरेको छ। बागलुङ दुग्ध उत्पादक सहकारी संघमार्फत दूध संकलन, प्रशोधन र बजारीकरण हुने गरेको छ।
वार्षिक आठ करोड रुपैयाँ को दूध तथा दुग्धजन्य पदार्थको कारोबार गर्ने सहकारी संघले आर्थिक वर्ष २०८०/८१ मा मात्रै ३८ लाख ५४ हजार चार सय १० को छुर्पी अमेरिका निर्यात गरेको हो।
दुग्ध सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमकाअनुसार सहकारीबाट उत्पादित दूध, दही, घ्यू, पनिर, छुर्पी र खुवामध्ये छुर्पीको माग अन्तर्राष्ट्रिय बजारमा उच्च छ। ‘दूध, तथा अन्य उत्पादन बागलुङमै खपत भइरहेको हुन्छ, तर छुर्पीको बजार अन्तर्राष्ट्रियस्तरमा छ’, उनले भने।
दुग्ध उत्पादक सहकारी संघमा एक हजार ५०० किसान आबद्ध छन्। संघले किसानबाट सङ्कलित दूधसहित सात प्रकारका परिकार उत्पादन गरी बिक्री तथा वितरण गर्दै आएको छ।
संघले बागलुङ जिल्ला दूधमा आत्मनिर्भर बनाएको छ। सहकारीले गत आवमा सात करोड ८३ लाखको दूध, एक करोडको दही, २० लाखको घ्यू, ३२ लाखको पनिर र ८० हजारको खुवा बिक्री गरेको जनाएको छ।
सहकारी संघमा १६ कर्मचारीले सङ्कलित दूध बागलुङ बजारका घरघरमै लगेर बिक्री गर्ने गरेको सहकारीका लेखापाल गणेश खड्काले बताए।
कृषकले उत्पादन गर्ने, सहकारीले संकलन गर्ने र सहकारी संघले दूध प्रशोधन गरी दुग्धजन्य पदार्थ बिक्री गरेर सहकारीको असल अभ्यास गरेको राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा सहकारी अभियन्ता रामबहादुर जिसीको भनाइ छ।
यहाँका काठेखोला गाउँपालिका र बागलुङ नगरपालिका किसानले उत्पादन गरेको दूध दैनिक खरिद गरी १४ वटा सहकारीमार्फत संघले बजारीकरण गर्दै आएको छ। रासस
Shares

प्रतिक्रिया