ad ad

कारोबार


नेपाली डेटिङ एप : पुरुषले कुर्नुपर्ने, महिलालाई रोजाइको साथी

नेपाली डेटिङ एप : पुरुषले कुर्नुपर्ने, महिलालाई रोजाइको साथी

नेपालखबर
फागुन २, २०८० बुधबार ७:३३, काठमाडौँ

पुरुषको तुलनामा महिलाको सहभागिता कम हुँदा नेपालमा डेटिङ एपको व्यवसाय विस्तार सुस्त छ।

नेपालमा आफ्नो जोडी खोज्न विभिन्न एप सार्वजनिक गरिए पनि पुरुष प्रयोगकर्ता मात्रै बढी देखिएका हुन्। 

इन्टरनेटको आगमनसँगै पछिल्लो समय नेपाली समाजमा युवायुवतीको जोडी खोज्ने लमीको स्थान सामाजिक सञ्जालले लिँदै आएका थिए। 

त्यसबाट पनि समय निकै अघि बढ्दा अहिले डेटिङ, मेरिटिय एपले यसको ठाउँ लिँदै गएका छन्। पश्चिमा मुलुकसँगै भारतमा समेत पछिल्लो समय यस्ता एपको प्रयोग बाक्लिँदै गएको छ। 

नेपालमै समेत नेपालीलाई लक्षित गरी करिब १ दर्जन बढी डेटिङ एप आइसकेका छन्। बिहे नेपाल, मिल्यो, मोचे, नेपाली लभ, क्याड, एस्टर क्लिक, नेपाल डेटिङ, लमी नेपाल, बिहेबारीलगायतका एप तथा वेबसाइट यसका उदाहरण हुन्। 

रोजाइमा विदेशी ‘टिन्डर’, कमले चलाउँछन् नेपाली एप   
तर नेपाली प्रयोगकर्ता भने सबैभन्दा बढी अन्तर्राष्ट्रिय रुपमा चर्चित टिन्डरमा नै बढी आकर्षित देखिएका छन्। यसमा सबैभन्दा बढी पुरुष प्रयोगकर्ता छन्। 

बिहे नेपाल पछिल्लो समय नेपालमा खुलेको चर्चित डेटिङ एप हो। साथी, डेट र बिहे गराउने उद्देश्यले स्थापना भएको बिहे नेपालको एप गुगल प्लेमा ९५ हजार बढी र एप्पल स्टोरबाट ३२ हजार ४०० बढीले डाउनलोड गरिसकेका छन्। 

बिहे नेपालकी संस्थापक श्रद्धा कटुवालले नेपालमा मात्रै नभई विदेशमा समेत पुरुष र महिलाको सहभागिता बराबर नहुने बताइन्। 

‘१ महिला जोडिँदा २० देखि २५ पुरुष जोडिएका हुन्छन्। सुरुमा महिलाको सहभागिता कम थियो, अहिले भने विस्तारै बढ्दै गएका छन्’, कटुवाल भन्छिन्, ‘डेटिङ एपमा पुरुषको लागि बढी कुर्नुपर्ने अवस्था छ। धैर्य गर्नेले जोडी भेट्टाइरहेका पनि छन्।’

व्यावसायिक सफलताको प्रतीक्षा
प्रयोगकर्ता बढ्दै गए पनि बिहे नेपालले व्यावसायिक सफलता पाउन समय लाग्ने कटुवाल बताउँछिन्। 

सन् २०२३ को एक अध्ययनले विश्वभर चर्चित एप टिन्डरमा करिब २२ प्रतिशत मात्रै महिला र ७८ प्रतिशत पुरुष रहेको देखाएको छ। टिन्डरमा महिलाको सहभागिता ३० प्रतिशतसम्म पुगेको आकलन छ। 

भारतमा भने महिलाको सहभागिता बढ्दो क्रममा रहेको देखिएको छ। जहाँ ६२ प्रतिशत पुरुष र ३८ प्रतिशत महिला टिन्डर प्रयोगकर्ता छन्।

विश्वभर साढे ७ करोड बढी यसका मासिक सक्रिय प्रयोगकर्ता छन्। कम्पनीले वार्षिक १ अर्ब ८० करोड अमेरिकी डलर आम्दानी गरिरहेको छ।

कम्पनीका अनुसार यसमा ६० प्रतिशत प्रयोगकर्ता ३५ वर्षमुनिका छन्। विश्वबजारमा टिन्डरजस्तै बम्बल, बाडो, मिट मी, डब्लु वाच, ट्याग्डजस्ता चर्चित एपहरु छन्। यी एपमा ६० प्रतिशत पुरुष र ४० प्रतिशत महिला प्रयोगकर्ता रहेको देखिएको छ। 

छिमेकी मुलुक भारतमा सादी डटकम, भारत म्याट्रियोमनीलगायतका एप चर्चित छन्। सादी डटकममा साढे ३ करोड बढी जोडिइसकेका छन्।

स्टार्टअप कम्पनीको रुपमा सुरु गरेका अनुपम मित्तलको कम्पनीले २०२४ मा २९ करोड ७० लाख अमेरिकी डलर आम्दानी गर्ने अनुमान गरिएको छ। 

परिचय खुलाउँदैनन् महिला
महिलाको सहभागिता एपको प्रकृतिअनुसार फरक हुने देखिएको छ।

आफ्नो परिचय खुल्ने गरी प्रोफाइल बनाउनुपर्ने डेटिङ एपमा महिलाको सहभागिता कम र नाम, उमेर जे राख्दा पनि हुने एपमा तुलनात्मक सहभागिता बढी हुने गरेको देखिएको छ। 

गत वर्ष क्यान इन्फोटेकमा सार्वजनिक भएको एस्टर क्लिकका डेभलपर्स   दिनेश न्यौपानेले डेटिङ एपलाई नकारात्मक रुपमा हेर्ने कारणले महिलाको सहभागिता कम रहेको बताए। 

उनले एस्टर क्लिकजस्ता वास्तविक प्रोफाइल राख्नुपर्ने ठाउँमा महिलाहरु आउन हिच्किचाएको बताए। 

सुरक्षाको प्रत्याभूति नहुँदा महिलाको सहभागिता कम रहेको हुनसक्ने उनको बुझाइ छ। एस्टर क्लिकमा महिलाको तुलनामा पुरुष नै बढी रहेको पनि उनले जानकारी दिए। 

‘महिलाहरु जेन्युन प्लेटफर्म भए खुलेर आउन सक्छन्। नभए महिलाले सधैँ असुरक्षाको अनुभूति गर्दा रहेछन्’, न्यौपानेले भने,‘आफूलाई परिवार साथीहरुले कसरी हेर्ला भन्ने डर नै मुख्य कारण हो।’

‘भेरिफाई’ गर्न हिच्किचाउँछन् प्रयोगकर्ता 
एस्टर क्लिकमा आफ्नो प्रोफाइल भेरिफाई (प्रमाणीकरण) गर्न नागरिकता नै अपलोड गर्नुपर्छ। वास्तविक प्रोफाइल हुँदा आफ्ना व्यक्तिगत विवरण देखिने हुँदा जोडिन चाहने कम हुन्छन्।

उमेरलगायतका विषय गलत राख्न नपाउने ठाउँमा अप्ठ्यारो मान्ने गरेका छन्। अहिले डेट गर्ने र भविष्यमा आफ्नो जीवनसाथी खोज्ने ठाउँ विकास गरिएको उनी सुनाउँछन्। जहाँ रियल प्रोफाइल राख्नुपर्ने हुन्छ। 

‘हाम्रो सामाजिक पक्षले नकारात्मक रुपमा हेर्ने गरेको छ। परिवार, साथीभाइले थाहा पाए किन डेटिङ एपमा जोडिएको भनी प्रश्न गर्छन्’, न्यौपानेले भने, ‘आफ्नो रियल बायोग्राफी राख्दा पारिवारिक तथा साथीभाइबाटै नकारात्मक रुपमा हेर्ने चलन छ।’

उक्त एपमा १४ दिनको ट्रायल (परीक्षण) समय हुन्छ। त्यो समयमा वास्तविक तथ्यांक नराखे स्वतः हट्छ। सुरुमा महिला जोडिए पनि नागरिकताको विवरण राख्नुपर्ने बाध्यकारी व्यवस्थाले बाहिरिने गरेको न्यौपाने बताउँछन्। 

उता विदेशमा सूचना प्रविधि क्षेत्रमा काम गरिरहेका युवाले विभिन्न डेटिङ एप चलाइरहेका छन्। 

आईफोनमा मात्र चल्ने ‘मिल्यो’
एस्टर क्लिकजस्तै ‘मिल्यो’ पनि नेपाली डेटिङ एप हो। तर यो एप आइफोन मोबाइलमा मात्रै उपलब्ध छ। हालसम्म ४० हजार बढीले यसलाई डाउनलोड गरिसकेको कम्पनीले जनाएको छ।  

२०२३ मा फोर्ब्सले अमेरिकामा गरेको एक सर्भेले डेटिङ एप प्रयोगकर्तामध्ये ७० प्रतिशतले ‘रोमान्टिक’ अनुभव गरेको देखाएको छ भने २८ प्रतिशतले आफ्नो अनुभव नराम्रो रहेको बताएका छन्।

अमेरिकामा ४० देखि ६० वर्ष उमेरका मानिसले अनलाइन डेटिङ एपमार्फत सम्बन्ध बनाउने गरेको देखिएको छ। उक्त सर्भेअनुसार ७५ प्रतिशत पुरुष डेटिङ एपमार्फत महिलासँग सम्बन्ध बनाउँदा खुसी देखिएका छन्।

तुलनात्मक रुपमा केही कम अर्थात् ६६ प्रतिशत महिला पनि यसरी खुसी देखिएका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .