फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनमा व्यवसायीहरुले पनि उम्मेदवारी दिएका छन्। पुराना, नयाँ दल तथा स्वतन्त्र रुपमा व्यवसायीहरुले बुधबार मनोयन दर्ता गरेका छन्।
सीजी ग्रुपका अध्यक्ष तथा डलर अर्बपति विनोद चौधरीले नवलपरासी (पश्चिम) निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका हुन्। उनी नेपाली कांग्रेसका उम्मेदवार हुन्।
उम्मेदवारी दर्तापछि चौधरीले भने, ‘म राजनीतिक परिवर्तनको पक्षमा छु। आर्थिक रुपान्तरणको पक्षमा छु। र, जेनजी मुभमेन्टले दिएको सन्देशको मर्मलाई मैले राम्रोसँग बुझेको छु। म यहाँबाट निर्वाचित भएको तीन बर्षमा समृद्ध नवलपरासीका लागि फाउण्डेसन तयार भएको छ। हामी सबैले प्रत्यक्ष देख्न सक्ने गरि नवलपरासी पश्चिमको विकास अभियान अगाडि बढेको छ। यस अभियानलाई पूर्णता दिन आवश्यक छ। त्यसकै लागि मैले नवलपरासी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि आज (मंगलबार) उम्मेदवारी दर्ता गरेको छु। यहाँहरुको शुभेच्छा, साथ र सहयोगका लागि सधैँ आभारी रहनेछु।’
२०७९ को निर्वाचनमा उनी सोही क्षेत्रबाट विजयी भएका थिए। नेकपा एमालेको तर्फबाट (बर्दघाट सुस्ता पूर्व) नवलपुर क्षेत्र नम्बर १ बाट युवा उद्यमी तथा व्यवसायी भागिरथ सापकोटाले उम्मेदवारी दर्ता गराएका छन्। उनी नेपाल उद्योग व्यवसायी महासंघका अध्यक्ष हुन्।
मेडिकल व्यवसायी डाक्टर सुनिलकुमार शर्माले मोरङ ३ बाट नेपाली कांग्रेसबाट उम्मेदवारी दर्ता गराएका छन्। उनले २०७९ को निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए। विराटनगरको नोबल मेडिकल कलेज, काठमाडौंको काठमाडौं मेडिकल कलेज र पिपुल्स डेन्टल कलेजमा उनको लगानी छ। यस अघि पनि उनी सोही क्षेत्रबाट संसदमा निर्वाचित भएका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टीले बाजेको सेकुवाकी निर्देशक नीतिमा कार्की भण्डारीलाई सर्लाही क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाएको छ।
स्याङ्जा क्षेत्र नम्बर १ मा व्यवसायी पुष्ठभूमिका व्यक्तिहरुको त्रिपक्षीय भिडन्त हुने देखिएको छ। यहाँ नेपाली कांग्रेस, नेकपा एमाले र रास्वपाले व्यवसायीलाई उम्मेदवारको रुपमा अघि सारेको छ।
यो क्षेत्रमा कांग्रेस र एमालेले मुक्तिनाथ विकास बैंकका पूर्वअध्यक्षलाई उम्मेदवारको रुपमा खडा गर्दा रास्वपाले पर्यटन व्यवसायीलाई रोजेको छ।
नेपाली कांग्रेसबाट भरतराज ढकाल, एमालेबाट मिनप्रसाद गुरुङलाई छनोट गर्दा रास्वपाको रोजाइमा धनञ्जय रेग्मी परेका छन्। रेग्मी नेपाल पर्यटन बोर्डका पूर्वसीईओका साथै पर्यटन व्यवसायी हुन्।
रास्वपाले काठमाडौं ९ बाट मेनपावर तथा व्यवसायी डीपी अर्याललाई उठाएको छ। उनको सुमिरे टुर्स एण्ड ट्राभल्स, योकोहामा जापानिज ल्याङ्ग्वेज एकेडेमी, हेम्स स्कुल, जनसागर बचत तथा ऋण सहकारी संस्था, इजिलिंक रेमिटेन्समा लगानी छ।
काठमाडौं क्षेत्र नम्बर १ बाट राइड सेयरिङ एप पठाओका सञ्चालक असिममान सिंह बस्नेतले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्।
बारा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दर्ता गराएका शम्भु बढाथोकी उद्यमीका साथै व्यवसायी हुन्। उनी मेची महाकाली सप्लायर्सका सञ्चालक र गंगा इट्टा भट्टाका सञ्चालक हुन्।
जनमत पार्टीका तर्फबाट सिरहा क्षेत्र नम्बर ४ का उम्मेदवार वीरेन्द्रकुमार महतो माछापुच्छ«े बैंकका पूर्वअध्यक्ष हुन्। उनको बैंकिङ, जलविद्युत्, शिक्षा लगयात क्षेत्रमा लगानी छ। गत निर्वाचनमा उनी सोही क्षेत्रमा जनता समाजवादी पार्टीबाट निर्वाचित भएका थिए।
कांग्रेसले धादिङका दुवै क्षेत्रबाट पर्यटन व्यवसायीलाई उम्मेदवार बनाएका छ। धादिङ २ बाट ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)का पूर्वअध्यक्ष रमेश धमला र धादिङ १ बाट कृष्ण रिजालले टिकट पाएका हुन्।
रसुवामा कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका मोहन आचार्य निर्माण व्यवसायी हुन्। अघिल्लो निर्वाचन पनि उनी सोही क्षेत्रबाट विजयी भएका थिए।
गोरखा क्षेत्र नम्बर १ बाट कांग्रेसबाट उम्मेदवार बनेका प्रमेश खत्री पयर्टन तथा घरजग्गा व्यवसायी हुन्।
यशोदा फुड्सका सञ्चालक चुन्नप्रसाद शर्मालाई कांग्रेसले रुपन्देही क्षेत्र नम्बर २ बाट उठाएको छ।
लुम्बिनी सुगर मिल्सका अध्यक्ष वीरेन्द्रकुमार कनौडियालाई एमालेले कपिलवस्तु क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनाएको छ।
मनाङमा एमालेको रोजाइमा परेका उम्मेदवार पोल्देन छोपाङ होटल तथा पर्यटन व्यवसायी हुन्।
कांग्रेसले सोलुखुम्बुमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकार्यसमिति सदस्य प्रकाशसिंह कार्कीलाई उम्मेदवार बनाएको छ।
भक्तपुर १ का रास्वपाका उम्मेदवार रुकेश रञ्जित भक्तपुर उद्योग वाणिज्य संघका महासचिव हुन्।
कांग्रेसले गोरखा १ बाट खत्री पिके भेन्चर्सका प्रबन्धनिर्देशक प्रेम खत्रीलाई उम्मेदवार बनाएको छ।
Shares

प्रतिक्रिया