ad ad

कारोबार


२ लाखमा बेचेको जग्गाको भाउ ९ वर्षमै ४० लाख पुग्यो

२ लाखमा बेचेको जग्गाको भाउ ९ वर्षमै ४० लाख पुग्यो

भक्तपुरको सूर्यविनायक नगरपालिका–९ नम्खेलमा ग्रिन भिलेजको प्लटिङ। तस्बिर : सरोज नेपाल/नेपालखबर


वसन्त अर्याल
माघ ७, २०७९ शनिबार १२:२१, काठमाडौँ

भक्तपुरको सूर्यविनायक नगरपालिका–९ नम्खेलमा वि.सं.२०७० सम्म आनाको २ लाख रुपैयाँमा जग्गा बिक्री गर्न पनि निकै मुस्किल थियो। 

अहिले समय फेरिएको छ, जग्गाको भाउ आनाकै ४० लाख पुगिसकेको छ। यसबाट दंग छन् यहाँका स्थानीय। नहोऊन् पनि किन? खेत, झाडीसहितको ठाउँमा रातको समयमा हिँड्नै डराउनुपर्ने अवस्था जो थियो। 

नंखेलमा सरकारी पर्ती जग्गा र खोला रहेको छ। जहाँ स्थानीयको केही बारी र भिराला जग्गा छन्। 

केही वर्षअघिसम्म अरनिको राजमार्ग छेउमा घर भएका स्थनीय पहिरोको डरमा थिए। वर्षातमा धमाधम डिल भत्किन्थ्यो। उनीहरुलाई घर जोगाउने चिन्ताले सताउँथ्यो। 

‘घरको छेउमा पहिरो जाँदा हामी चिन्तित थियौँ’, भक्तपुर वाटर फनपार्क सम्मुखमा घर रहेका एक स्थानीय भन्छन्, ‘पहिरोबाट घर जोगाउन वाल पनि उठायौँ। तर पहिरो रोकिएको थिएन।’

मनोहरा जग्गा एकीकरणबाट प्रभावित भएर रियलस्टेट (घरजग्गा) व्यवसायीले व्यवस्थित प्लटिङको योजना बनाए। थुप्रै स्थानीयको जग्गा र सरकारी पर्ती जग्गालाई एकीकरण गरी २ वर्षअघिबाट प्लटिङ थाले। 

ग्रिन भिलेज हाउजिङ प्रा.लि जग्गा एकीकरण आयोजनाले करिब ४०० प्लट निकाल्ने गरी काम गरिरहेको छ। ग्रिन भिलेज हाउजिङ प्रा.लिमा लक्ष्मण अवाले, प्रविन कुस्मालगायतका व्यवसायी आबद्ध छन्। सूर्यविनायक नगरपालिका वडा नम्बर ९ नंखेलमा प्लटिङ बनिरहेको छ। 

‘जग्गा एकीकरणकै मोडलमा प्लटिङ भइरहेको हो’, कम्पनीका एक अधिकारी नेपालखबरसँग भन्छन्, ‘हालसम्म साढे २ सय बढी रोपनी एकीकरण गरिएको छ। जसमा ५४ रोपनी सरकारी पर्ती जग्गा समेत छ।’

आयोजनाभित्रको सबै जग्गालाई एकीकृत गरी प्लट र पर्ती जग्गा छुट्याइएको उनी बताउँछन्।

‘सबै जग्गा कम्पनीको नाममा छैन’, ती अधिकारीले थपे, ‘केही जग्गा कम्पनीको नाममा र केही स्थानीयकै जग्गा व्यवस्थापन गरिएको हो।’

ग्रिन भिलेज हाउजिङले स्थानीयको जग्गा ३० देखि ३५ प्रतिशत लिई सडक, ढल, खुल्ला ठाउँको व्यवस्था गरेको छ। खोलामा बाँध बाँधी दायाँ र बायाँ बाटो तथा किनारामा हरियाली बनाउँदै छ।

‘खोला किनार र बाटो छेउछाउ हरियाली बनाउने हाम्रो उद्देश्य हो’, उनले भने, ‘तर रुख बिरुवा हुर्किन धेरै समय लाग्दो रहेछ।’

खोला किनारामा रुख बिरुवासँगै दुबो लगाइएको छ भने प्लटिङको ५ प्रतिशत क्षेत्र खुल्ला राखिएको छ। कम्पनीले सबै जग्गा एकीकरण गरी पर्ती जग्गा एकै ठाउँमा छुट्याएर राखेको छ। प्लटिङ गरी केही भागमा ढल बिछ्याएर विद्युतीय पोल गाडिएको छ। 

‘प्लटिङभित्र कालोपत्रे गरेसँगै स्थानीयबाहेकका प्लट कम्पनीले बिक्री गर्छ’, ती अधिकारी भन्छन्, ‘स्थानीयलाई सम्झौताअनुसार प्लट उपलब्ध गराई लालपुर्जा दिन्छ।’

‘२ लाखमा बेचेको जग्गा ४० लाख पुग्यो’
व्यवसायीहरुले २०७० सालअघिबाटै जग्गा एकीकरण सुरु गरेका थिए। खेतीपाती राम्रो नहुने भएकाले स्थानीयले भिरालो जग्गा सस्तो मूल्यमै बिक्री गरे। 

‘हामीले २ रोपनी जग्गा लाख आनाको रुपमा बिक्री गरेका हौँ’, एक स्थानीय महिला भन्छिन्, ‘सबैले बेचेपछि हामीले पनि २ लाख आनामै बेचेको हो। अहिले ४० लाख रुपैयाँ आना भन्छन् रे!’

उनका अनुसार २०७० सालमा २ लाख रुपैयाँमा जग्गा खरिद गर्न कोही तयार थिएनन्। तर प्लटिङ गर्ने योजनामा रहेको कम्पनीले बढी पैसा दिएर खरिद गर्यो।

‘जग्गा प्लटिङ गरेको धेरै देखियो। कुनै काम नभएको जग्गा व्यवस्थित गर्दा यस्तो हुने रहेछ, बल्ल थाहा पायौँ’, करिब ५० वर्षका अर्का एक स्थानीय थप्छन्, ‘पहिरो जाने र झाडी ठाउँलाई व्यवस्थित गर्दा राम्रै भएको छ।’

यहाँका स्थानीयका अनुसार सुरुमा कम्पनीले जग्गा खरिद गर्न जग्गाधनीसँग आग्रह गरे पनि अहिले जग्गाधनी आफैँ उपलब्ध गराउन तयार छन्। 

‘पाखोमा केही उत्पादन हुँदैन। त्यसै छाड्दा भ्यालु नै हुँदैन’, स्थानीय भन्छन्, ‘स्थानीय आफैँ हाम्रो पनि प्लटिङ गर्नु भन्दै आग्रह गर्न थालेका छन्।’

प्लट सम्याउन कम्पनीले दैनिक ३५ वटासम्म एक्स्काभेटर, डोजर प्रयोग गरेको थियो। गत बिहीबार नेपालखबर प्रतिनिधि त्यहाँ पुग्दा १५ वटा मेसिन प्लटिङमै थिए।

कम्पनीले प्लटिङको काम भइरहेकाले खुल्ला रुपमा बिक्री सुरु नगरेको जनाएको छ। 

‘कालोपत्रे लगायतको पूर्वाधार तयार भएपछि खुल्ला रुपमा बुकिङ सुरु हुन्छ’, कम्पनीका ती अधिकारी भन्छन्, ‘स्थानीयको मागअनुसार प्लटिङ अझै विस्तार भइरहेको छ। ४०० वटा घर बनाउन सकिने प्लट निकाल्ने लक्ष्य छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .