नेपाल धितोपत्र बोर्ड (सेबोन) अहिले भाडामा बसिरहेको छ। पुँजीबजारको नियामक निकाय बोर्डले अहिले खुमलटारको एक घर भाडामा लिएर मासिक ७ लाख तिर्दै आएको छ।
त्यसो त बोर्ड आफ्नै घर बनाउने भनेर हिँडेको पनि झण्डै १० वर्ष पुग्न लागिसकेको छ। तर अहिलेसम्म आफ्नो घर बनाउनसकेको छैन।
दुई वर्षअघि यसकै लागि बोर्डले जडीबुटीमा ७ रोपनी जग्गा खरिद गरेको थियो। ४६ करोड रुपैयाँमा खरिद गरेको उक्त जग्गा अपायक हुने देखिएपछि बोर्ड घर नबनाउने निर्णयमा पुगेको हो।
त्यसबाहेक सातदोबाटोस्थित सशस्त्र प्रहरीको क्याम्प बसेको जग्गा पनि धितोपत्र बोर्डको हो। जुन नेपाल ढलोट कारखानासँग उसले ५० वर्षको लागि लिजमा लिएको हो। तर त्यस जग्गामा सशस्त्र प्रहरी बसेकोले हटाउने र घर बनाउने आँट गरेको छैन।
‘प्राइम लोकेसनको’ राष्ट्रिय वाणिज्य बैंक भवनमा आँखा
अध्यक्षमा रमेश हमाल आएपछि नयाँ घर बनाउने र प्राइम लोकेसनमा राख्ने बहस बोर्डमा निरन्तर जारी छ।
उनले बोर्ड अध्यक्षमा नियुक्त हुनेबित्तिकै आगामी मुख्य कामहरुमा आफ्नो घर बनाउने र तत्कालको लागि बबरमहल, पुतलीसडक, थापाथली क्षेत्रमा सर्ने बताएका थिए। तर अहिलेसम्म सर्न भने सकेको छैन।
तर बोर्डलाई सार्न उपयुक्त स्थानको खोजी भने जारी छ। यसकै लागि थापाथलीमा राष्ट्रिय वाणिज्य बैंकले बनाइरहेको भवनमा आँखा लगाएको छ। सकेसम्म भवन किन्ने मनसाय बोर्डको छ।
सोही कारण उसले ३ महिनाअघि भवन किन्न अर्थ मन्त्रालयमार्फत बैंकलाई निवेदन दिएको थियो। त्यसमा मन्त्रालयले समेत तोक लगाइदिएको थियो। तर भवन बिक्री गर्न वाणिज्य बैंकले मानेन।
बोर्डले बिक्री नगर्ने भए ‘हामीलाई भाडामा देऊ’ समेत भनिसकेको छ।
भाडामा दिन अप्ठ्यारो छ : सीईओ श्रेष्ठ
बोर्डले जसरी पनि लिन खोजिरहे पनि राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरणकुमार श्रेष्ठ भने यो विषय अप्ठ्यारो परिरहेको बताउँछन्।
उनले भने, ‘हाम्रो बिल्डिङ भाडाको लागि अहिले सामाजिक सुरक्षा कोष र सेबोनले चाहेको छ। तर कोषको र बोर्डको रेट नै फरक छ। त्यो अन्तर धेरै ठूलो छ। कोषले पठाएको रेट अब हामीले घटाउनुपर्यो भन्न मिल्दैन। त्यसकारण बोर्डलाई भाडामा दिनसक्छौँ भनेका छैनौँ।’
थापाथलीमा तयार हुँदै गरेको यो बिल्डिङ ६ तल्लाको छ। त्यसमा वाणिज्य बैंकले अहिले आफूलाई तीन तल्ला अनिवार्य चाहिने बताएको छ।
बैंकका अनुसार अहिलेको केन्द्रीय कार्यालयमा ‘स्पेस’ अभाव छ। त्यही भएर बैंकले अहिले ३ वटा महाशाखा नयाँ बिल्डिङमा सार्ने तयारी गरेको छ।
तालिमको लागि अहिले नै स्पेस नभएर होटलमा सञ्चालन गर्नुपरेको बैंकको भनाइ छ। बैंकका अनुसार बिल्डिङ ठूलो भए पनि सञ्जाल वृद्धिसँगै अपुग भएकाले नयाँ बिल्डिङ बनाइएको हो।
राष्ट्र बैंकको व्यवस्था पनि बाधक
त्यसो त नयाँ बिल्डिङ भाडामा दिन राष्ट्र बैंकले समेत रोकेको छ। बैंक तथा वित्तीय संस्था संस्थापना एवं वित्तीय कारोबार गर्ने इजाजतपत्रसम्बन्धी नीतिगत एवं प्रक्रियागत व्यवस्था २०६३ मा बैंक तथा वित्तीय संस्थाले भाडामा लगाउने गरी घरजग्गा खरिद र निर्माण गर्न नपाइने व्यवस्था छ।
जसअनुसार पनि राष्ट्रिय वाणिज्य बैंकको नयाँ बिल्डिङ भाडामा लगाउन गाह्रो देखिएको छ। ‘हामी पनि भाडामा लगाउने मनसायमा त छैनौँ नै। तर सरकारी निकायलाई नै दिनुपरेको खण्डमा नेपाल सरकारको सहमति त लिनैपर्छ’, बैंकका सीईओ श्रेष्ठले भने।
यो बिल्डिङ प्राइम लोकेसनमा परेको कारण भाडा माग्न आउने व्यापारीहरु पनि धेरै रहेको वाणिज्य बैंकले जनाएको छ।
‘हामीले नाफा तथा भाडामा लगाएर कमाउने मनसाय होइन। त्यो कुरा धितोपत्र बोर्डदेखि सामाजिक सुरक्षा कोषलाई समेत भनेका छौँ’, उनले भने।
कमाउनको लागि भाडामा दिन नपाउने राष्ट्र बैंकको व्यवस्थालाई राष्ट्रिय वाणिज्य बैंकले आत्मसात् गर्ने सीईओ श्रेष्ठको भनाइ छ।
प्रतिक्रिया