ad ad

कारोबार


नयाँ पर्यटन गन्तव्य बन्दै शिवपुरीको सूर्यचौर

नयाँ पर्यटन गन्तव्य बन्दै शिवपुरीको सूर्यचौर

नेपालखबर
असार २१, २०८१ शुक्रबार १३:४५, नुवाकोट

नुवाकोटको सूर्यचौर (सुइरेचौर) आन्तरिक पर्यटकका लागि नयाँ गन्तव्यका रूपमा विकास हुँदै गएको छ। शिवपुरी गाउँपालिकामा रहेको यो ठाउँ घुम्न काठमाडौंलगायत विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक आउने गरेका छन्।

समुद्र सतहदेखि दुई हजार मिटर उचाइमा रहेको सूर्यचौरबाट मुलुकको राजधानी काठमाडौंदेखि नुवाकोटका विभिन्न रमणीय फाँट, गणेश, मनास्लु र अन्नपूर्ण हिमाल देख्न सकिन्छ। काठमाडौंको सामाखुसी चोकदेखि १३ किलोमिटर सडक यात्रा र ककनीबाट चार घण्टाको पैदलयात्रामा यहाँ पुग्न सकिन्छ।

पर्यटकीय गतिविधि बढ्न थालेपछि पछिल्लो समय पर्यटन व्यवसायीले यस क्षेत्रमा लगानीसमेत बढाउन थालेका छन्। यसअघि युवायुवती, साथीभाइदेखि परिवारसम्म पिकनिक र आरामका लागि खाली चौरको उपयोग हुने गरेको थियो। पछिल्लो समय भने नयाँ होटेल तथा रेस्टुराँसमेत सञ्चालनमा आएका छन्। पर्यटन व्यवसायी जग्गा खरिद गरी होटेल तथा रेस्टुराँ निर्माणमा जुटिरहेका छन्।

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष कमल सापकोटा, पर्यटन व्यवसायी राजन सिंखडा, जेबी सिंह, हेमराज बराल र कृष्ण घिमिरेलगायतको समूहले रु। सात करोड लगानीमा ‘सूर्यचौर नेचर रिट्रिट’ सञ्चालनमा ल्याएका छन्। 

२७ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको रिसोर्टमा हाल १० डिलक्स कोठा, चार डिलक्स ‘ग्ल्याम्पिङ टेन्ट’ र पिङ निर्माण गरिएको छ। कुल रु। ३० करोड लगानीमा बन्न लागेको उक्त रिसोर्टभित्र स्विमिङ पुल र सभाहलसहित थप डिलक्स तथा भिला निर्माण हुने सञ्चालक सिंखडा बताउँछन्।

पिकनिक, जिपलाइन, हाइकिङ र बाइकिङको उत्कृष्ट गन्तव्यका रूपमा पनि यहाँको विकास हुँदै गएको छ। सूर्यचौरमा प्याराग्लाइडिङ सञ्चालनका लागि अध्ययन भइसकेको छ भने जिपलाइन दर्ताको कामसमेत सम्पन्न भइसकेको छ।

यस स्थानलाई भगवान् शिवको क्रीडास्थलका रूपमा लिने गरिएको र ऋषि महर्षि र तपस्वीहरूले तपस्या गर्ने गरेको किंवदन्ती छ। त्यसैकारण यस क्षेत्रलाई शिवपुरी भन्ने गरिएको हो। शिवपुरी राष्ट्रिय निकुञ्जसँग जोडिएको यहाँको एक गाउँपालिकाको नामसमेत शिवपुरी राखिएको छ। सोही गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलिया  यस क्षेत्रको विकासका लागि कृषि र पर्यटनलाई उच्च प्राथमिकतामा राखिएको बताउँछन्।

यसैगरी, शिवपुरीभित्रका पर्यटकीय स्थल संरक्षणका लागि पदमार्ग, विश्रामस्थल, प्रचारप्रसारलगायतका कामलाई गाउँपालिकाले प्राथमिकतामा राखेको थपलियाले बताए। 

उनका अनुसार पर्यटन प्रवर्द्धनका लागि शिवपुरीभित्रका विभिन्न गाउँमा होमस्टे सञ्चालन गर्न होमस्टे तालिमसमेत सञ्चालन गरिएको छ। यहाँभित्र रहेको थान्से भुमेको मन्दिर प्रचारप्रसार तथा पर्यटन पार्कसमेत निर्माण भइरहेको छ।

बागमती प्रदेश सरकारले दुप्चेश्वर गाउँपालिका २ र ४, शिवपुरी गाउँपालिका– ७ तथा ककनी गाउँपालिका २ र ५ नम्बर वडालाई समावेश गरी ककनी–सुइरेचौर–चिसापानी–कुटुमसाङलाई जोडेर पदमार्ग निर्माण गर्ने योजनासमेत बनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .