काठामाडौँको भृकुटीमण्डपमा चलिरहेको नाडा अटो शोको मौका पारेर बैंकहरुले धमाधम सस्तो ब्याजमा सवारी कर्जा उपलब्ध गराइरहेका छन्।
बैंकहरुले न्यूनतम ६.२३ प्रतिशतदेखि अधिकतम ९ प्रतिशतसम्म ब्याज लिने गरी कर्जा उपलब्ध गराएका हुन्। यसअनुसार सबैभन्दा सस्तोमा गाडि कर्जा कृषि विकास बैंकले दिएको छ।
सवारी खरिदकर्ताले कृषि विकास बैंकबाट कर्जा लिन चाहेमा ६.२३ प्रतिशत ब्याजमै कर्जा लिन सक्नेछन्। अझ सवारीको मूल्यको ६० प्रतिशतसम्म कर्जा बैंकले उपलब्ध गराउनेछ। बैंकले फिक्स्ड ब्याजदरमा भने आधारदरमा ४ प्रतिशतसम्म प्रिमियम थप्ने छ।
यता नबिल बैंकले पनि ६.७४ प्रतिशतमै गाडी कर्जा उपलब्ध गराउने भएको छ। बैंकले ७ वर्षमा तिरिसक्ने भए कर्जाको ब्याज ७.९९ प्रतिशत ब्याजमा कुल ६० प्रतिशतसम्मको कर्जा उपलब्ध गराउनेछ।
सस्तो ब्याजमा प्रतिस्पर्धा गर्दै सवारी किन्ने स्थानमै स्टल राखेर कर्जा सेवा प्रदान गर्दै आएका बैंकहरुले कमभन्दा कम ब्याजदरमा धेरैभन्दा धेरै कर्जा उपलब्ध गराइरहेका हुन्।
यहीबीच नेपाल एसबीआई बैंकले छोटो र लामो समयवाधीको लागि छुट्टाछुट्टै ब्याजमा कर्जा उपलब्ध गराउनेछ।
यो बैंकले ३ वर्षमा तिरिसक्ने खरिदकर्ताका लागि ७.९९ प्रतिशतसम्मको ब्याजमा कर्जा उपलब्ध गराउनेछ भने ५ बर्षका लागि ८.४९ प्रतिशत र ७ वर्षका लागि ८.९९प्रतिशत ब्याज लिनेछ।
यस्तै एनएमबी बैंकले पनि ७ वर्षका लागि ७.१३ प्रतिशत ब्याजमा कर्जा उपलब्ध गराउनेछ। एनएमबी ले भने इन्धनमा आधारमा ४.५ प्रतिशत प्रिमियम थपेर ब्याज लिनेछ।
यता हिमालयन बैंकले पनि ७.५ प्रतिशत ब्याजमै कर्जा उपलब्ध गराउने भएको छ। खरिदकर्ताले किन्न चाहेको गाडीको मूल्यको ६० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने छ।
यस्तै सानिमा बैंकले पनि कर्जा तिर्ने अवधिलाई लिएर फरक फरक ब्याजमा कर्जा उपलब्ध गराउँदै आएको छ। बैंकले ६ वर्षका लागि ७.९९ प्रतिशत र ७ वर्षका वर्षका लागि ८.१५ प्रतिशत ब्याजमा ६० प्रतिशतसम्मको कर्जा दिने भएको छ।
लक्ष्मी सनराईज बैंकले भने ७ वर्षका लागि ७.९९ प्रतिशत ब्याजमै गाडीको मूल्यको ६० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने छ।
योबाहेक ग्लोबल आइएमई बैंकले ६.९९ प्रतितशत ब्याजमा गाडीको कुल मूल्यको ६० प्रतिशत कर्जा खरिदकर्तालाई उपलब्ध गराउनेछ।
Shares

प्रतिक्रिया