अटो व्यवसायीहरूको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)मा ‘अति राजनीति’ भएको भन्दै गाडी आयात गर्ने र उत्पादन गर्नेले छुट्टै संस्था खडा गरेका छन्।
बुधबार काठमाडौंमा एक कार्यक्रम गरी नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफेक्चरर्स एसोसिएसन (नाइमा)को औपचारिक घोषणा भएको हो।
यसले अटोमोबिलिटीको थिङ्क ट्याङ्कको रूपमा काम गर्ने दाबी गरिएको छ।
नाडामा आयातकर्ता, डिलर, स्पेयरपार्ट्स व्यवसायी, एसेसरिज, वर्कसपहरू समेत सदस्य हुँदा आयातकर्ता र उत्पादकको माग छायामा परेको भन्दै नयाँ संस्था ‘नाइमा’ बनाइएको छ। तर आयातकर्ता र उत्पादकहरूको संस्था भने पनि यसले ठूला घरानाका व्यवसायीमा भने फुट ल्याएको छ।
नेपालमा धेरै ब्रान्ड ‘होल्ड’ गर्ने ३ घरानामध्येको एउटा ‘विशाल ग्रुप’ नयाँ संस्थामा लागेको छ।
चौधरी ग्रुप र एमएडब्लु ग्रुप तथा कमर्सियल र प्यासेन्जर भेहिकलमा ठूलो प्रभाव पार्ने सिप्रदी ट्रेडिङ भने नाडामै छन्।

‘गाडी आयातकर्ता र उत्पादकको आवाज उठाउने संस्था’
नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यले गाडी आयातकर्ता र गाडी उत्पादकको आवाज उठाउन संस्था दर्ता गरेको बताइन्।
‘नाइमाले अटोमोबिलिटी क्षेत्रको थिंकट्यांकको रुपमा काम गर्नेछ’, टोयोटाकी बिक्रेता समेत रहेकी अध्यक्ष वैद्यले भनिन्, ‘यसले नेपाली अटो क्षेत्रमा प्रगतिशील नीति ल्याई दिगो विकास र ग्राहकमाझ सचेतनाका लागि कार्यक्रम गर्नेछ।’
नाइमाले सुरक्षा र पूर्वाधारको गुणस्तर अभिवृद्धि, अटो व्यवसायअनुकूल नीति र कानुनको लबिइङ र दक्ष जनशक्ति उत्पादनमा ध्यान दिँदै आगामी दिनमा सरकार र सरोकारवालासँग सहकार्य गरी अघि बढ्ने वैद्यको भनाइ छ।
‘बजारले ल्याउने उतारचढाव आफ्नै ठाउँमा छन्। सरकार र राष्ट्र बैंकका अटोमोबाइल्ससम्बन्धी साना नीतिगत परिवर्तनले बजारमा ठूलो प्रभाव परिरहेको छ’, सञ्चालक समिति सदस्य सहृदराज घिमिरेले भने, ‘सरकारले सभ्रान्त परिवारले मात्रै गाडी प्रयोग गर्छन् भनी पहिला यही क्षेत्रलाई लक्षित गरी नीति फेरबदल गर्दै आएको छ। एकदिन सबै गाडी बन्द हुँदा अत्यावश्यक हो कि लक्जरी थाहा भइहाल्छ।’
अटो व्यवसायका मुख्य व्यवसायीको सामूहिक आवाजलाई बलियो बनाउन नाइमाले सहयोग पुग्ने उनले उल्लेख गरे।

३ घरानाबाहेकका अटो आयातकर्ता नाइमामा
कम्पनीको रुपमा दर्ता भएको नाइमामा अध्यक्ष ऋतु सिंह वैद्यसहित ११ सदस्य छन्।
नाइमा सञ्चालक समितिमा किया र ईसुजु बिक्री गर्ने कन्टिनेन्टल ट्रेडिङका सुहृदराज घिमिरे, बजाज, केटीएम ट्राइम्प बिक्री गर्ने एचएच एन्ड को.का शेखर गोल्छा, होन्डा बिक्री गर्ने स्याकार ट्रेडिङका सौरभ ज्योति, महिन्द्रा, जावा बिक्री गर्ने अग्नी इन्कका क्याबिनेट श्रेष्ठ छन्।
त्यस्तै, सिट्रोन, लिपमोटर, प्युजोट बिक्री गर्ने सांग्रिला मोटर्सका हेमन्त गोल्छा, ओमोडा, जेको, निशान गाडी बिक्री गर्ने सन्दिप कुमार सारडा, हुन्डाई, एसएमएल ईसुजु, काई, बीएमडब्लु बिक्री गर्ने निराकार श्रेष्ठ, बीवाईडीकी बिक्रेता यमुना श्रेष्ठ, एमजी, बिलिङ माज्दा बिक्री गर्ने प्यारामाउन्ट मोटर्सका निकुञ्ज अग्रवाल र भारतबेन्ज बिक्री गर्ने उदायन काब्रा सञ्चालक सदस्य छन्।
केही दिनअघि नाडा र नाइमाका अध्यक्षले संयुक्त विज्ञप्ति जारी गर्दै सहकार्य गरी अघि बढ्ने उल्लेख गरेका थिए। नाइमाको घोषणासभामा नाडाका पदाधिकारीलाई समेत निम्त्याइएको थियो।
तर नाडा अध्यक्ष करण चौधरी घोषणासभामा गएनन्। बरु नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, निवर्तमान अध्यक्ष ध्रुव थापा, पूर्वअध्यक्ष शम्भु दाहालहरू पुगे।
एमएडब्लु र चौधरी ग्रुपका प्रतिनिधि नयाँ संस्थाको घोषणासभामा नपुगेका हुन्। एमएडब्लुले यामाहा, जिप, स्कोडा, डिप्पल, नामीलगायतका ब्रान्ड होल्ड गर्छ। निर्वाण चौधरीले होल्ड गर्ने आयन, नेटा, स्मार्ट, एक्सपेङ, हिरोलगायतका ब्रान्ड छन्। नाडाका अध्यक्ष चौधरीले सुजुकीको चारपांग्रे गाडी बिक्री गर्छन्।
दुईपांग्रे अधिकांश कम्पनीले नेपालमै उत्पादन थालिसकेका छन् भने चारपांग्रेमा हुन्डाईले एसेम्बल गरी बिक्रीवितरण गर्दै छ। नाइमाका एक सञ्चालक सदस्यले करण चौधरी नाडाको अध्यक्ष भएकाले तत्काल नआएको बताए। एमएडब्लु ग्रुपका विष्णु अग्रवाल र करण चौधरी आफन्त (मामा-भान्जा) हुन्। निर्वाण चौधरी करणका ठूलो बुबाका छोरा हुन्।

‘अटो शो’मा नाडासँग द्वन्द्व
अटो क्षेत्रमा दुई संस्था हुँदा यस क्षेत्रले आयोजना गर्दै आएको ‘अटो शो’बारे पनि द्वन्द्व हुनसक्ने देखिएको छ।
नाडा अटो शो पहिलोपटक सन् १९९८ मा भएको थियो। सो वर्ष २६ वटा स्टलबाट सुरु भएको नाडा अटो शो २०२४ मा १३० वटा स्टलमा विस्तार भइसकेको छ। गत वर्षको अटो शोमा २३ वटा चारपांग्रे र १९ वटा दुईपांग्रेका सवारीसाधन प्रदर्शनीमा रहेका थिए।
हरेक वर्ष नाडाले भदौमा अटो शो गर्दै आएको थियो।
नेपालमा एउटा मात्रै अटो शो हुने गरेकोमा २०२५ बाट २ वटा ठूला अटो शो हुने भएका छन्।
नाइमाले आगामी साउन २१ देखि २५ गतेसम्म अटो मोबिलिटी एक्स्पो सञ्चालन गर्ने जनाइसकेको छ।
त्यस्तै, नाडाले भदौमा अटो शो गर्न स्टल बुकिङ खुल्ला गरिसकेको छ। नाडामा स्पेयर पार्टस, चारपांग्रे, दुईपांग्रेलगायत सबै ब्रान्डको उपस्थिति हुनेछ भने नाइमामा २ पांग्रे र चारपांग्रे गाडीको मात्रै उपस्थिति रहनेछ।
नाइमा सदस्य गौरव सारडाले मोबिलिटी क्षेत्रका लागि अटो एक्स्पो गेम चेन्जर हुने बताए।
‘नाइमाले गर्ने अटो शोमा गाडी कम्पनीलाई २५ प्रतिशत स्टल दर्ताको लागि छुट दिनेछ’, सारडाले भने, ‘मिडिया र व्यवसायीका लागि पहिलो दिन छुट्याइएको छ। दोस्रो दिनबाट सर्वसाधारण प्रवेश गर्न पाउनेछन्।’
उनले व्यवसायीलाई सानो ठाउँ हुँदा अप्ठ्यारो भएकाले अब आफ्ना स्टल बाहिर गार्डेनमा राख्नु नपर्ने बताए।
‘गाडीको बारेमा बुझ्ने ग्राहकलाई साना ठाउँ हुँदा अप्ठ्यारो भइरहेको थियो। अब पर्याप्त ठाउँसहित गाडी वा बाइक प्रदर्शनमा हुनेछन्’, सारडाले भने।
भृकुटीमण्डपमा हुने अटो शो कसले पहिला राख्ने भन्ने प्रतिस्पर्धा भएकाले द्वन्द्व हुने प्रस्ट देखिन्छ।
तर सञ्चालक समिति सदस्य सुहृद घिमिरेले कसैसँग द्वन्द्व बढाउने नभई सबैसँग सहकार्य गरी अघि बढ्ने बताए। नेपाल अटोमोबिलिटी एक्स्पो घोषणा एउटा मात्र नभई अब थुप्रै कार्यक्रम आयोजना हुने बताए।
सरकारी निकायले लक्जरी प्रोडक्टको रूपमा परिभाषित गर्दै अटो व्यवसायीलाई अप्ठ्यारो पार्ने गरेकाले नीतिगत लबिङका लागि नाइमाले काम गर्ने उनले उल्लेख गरे।

नाडाको ५० वर्षे ‘लिगेसी’ अन्योलमा !
नाडा सुरुमा गाडी आयातकर्ताहरूले नै बनाएको संस्था हो। नाडाको पहिलो अध्यक्ष स्वर्गीय तोलाराम दुगड हुन्। २०३२ असोज १० देखि २०३३ असार ६ गतेसम्म उनी अध्यक्ष भएका थिए।
नेपाल अटोमोबाइल डिलर्स एसोसिएसनको नाममा काठमाडौंमा दर्ता भएको नाडा नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत संस्थाको रुपमा छ। १८ जनाबाट सुरु भएको नाडामा अहिले ३ हजार बढी सदस्य पुगिसकेका छन्।
त्यसयता एउटै घरानाका रुप ज्योति, पद्म ज्योति र सौरभ ज्यौति अध्यक्ष भएका छन्। नाडाको २१औँ अध्यक्षको रुपमा सीजी होल्डिङ्सका करण चौधरी छन्। खेतान समूह अहिले अटोमोबाइल व्यवसायबाट बाहिरिसकेको छ। अटोमोबाइल्समा नयाँ घराना स्थापित भइसकेका छन्।
नाडाले आफ्नो संगठन विस्तार सातवटै प्रदेशमा विस्तार गरेको छ। यसरी नाडाले ५० वर्ष लामो विरासत बनाइसकेको अवस्थामा यही क्षेत्रमा अर्को संस्था आउँदा नाडालाई धक्का लागेको छ।
हुन त नयाँ दर्ता भएको नाइमा काठमाडौं केन्द्रित मात्रै हुने, यसमा आयातकर्ता सदस्य हुने भनिएको छ तर त्यसले व्यवसायीमाझ विभाजन सुरु गरिसकेको छ। जुन नाडाजस्तो स्थापित संस्थाका लागि राम्रो होइन।
हाल धेरै व्यवसायी नाडा र नाइमा दुवैमा सदस्य छन्। नाडाका सदस्यले नाइमा पनि सदस्य लिन पाउने व्यवस्था छ। तर उनीहरू आयातकर्ता हुनुपर्ने शर्त छ। भन्नलाई जे भनिए पनि एउटै क्षेत्रमा ५ दशक लामो विरासत बोकेको संस्थाको विकल्प देखिनु अटो क्षेत्रका लागि राम्रो नहुन सक्छ।
ठूला घरानाले नाडामा बढी राजनीति भएको र आयातकर्ता र उत्पादकका मागमा सरकारलाई ‘कन्भिन्स’ गर्न नसकिएको बताउँदै नाइमा गठनको बाटो खोलेका थिए।
सोहीअनुसार नाडाजस्तै अर्को संस्था घोषणा भएको हो।
नाडा र नाइमा दुवै संस्थामा रहेका आकाश गोल्छा नयाँ संस्थाले प्रतिस्पर्धा बढ्ने र अटो शो पनि झन् राम्रो हुने बताउँछन्।
‘अहिले केही ब्रान्ड नाडा अटो शोमा केही अटोमोबिलिटी एक्स्पोमा सहभागी होलान्’, गोल्छाले भने, ‘आगामी दिनमा एउटै शो गरेर पनि जान सकिन्छ। अथवा २ पांग्रे र चारपांग्रेका लागि पनि विकल्पहरू छन्।’
उनले २०२५ मा २ वटा अटो शो भए पनि २०२६ मा सहकार्यअनुसार अरु विकल्प हुनसक्ने बताए।
Shares

प्रतिक्रिया