हुन्डाई मोटर्सको ब्रान्ड भ्यालु २३ अर्ब अमेरिकी डलर पुगेको छ।
योसँगै हुन्डाई यो वर्षको उत्कृष्ट विश्व ब्रान्डको ३०औँ वरीयतामा पुगेको हो।
कम्पनीका अनुसार पछिल्लो ५ वर्षयता हुन्डाईको ब्रान्ड भ्यालु ६३ प्रतिशतले बढेको छ। पछिल्लो दुई वर्षयता कम्पनीले लगातार वरीयता सुधार गरेको छ।
यो अवधिमा कम्पनी ३६औँ स्थानबाट ३०औँ स्थानमा आइपुगेको छ। ब्रान्ड भ्यालुमा भएको वृद्धिले पनि १४ वर्षयता निरन्तरता पाएको छ।
कम्पनीको विविध विश्वव्यापी प्रयासका कारण ब्रान्ड भ्यालु वृद्धि भएको कम्पनीले जनाएको छ। यस वर्षको विश्व कार अवार्डमा कम्पनीको आयोनिक ५ एनले वर्ल्ड पर्फमेन्स कारको अवार्ड पाएको थियो।
पछिल्लो समय कम्पनीले रणनैतिक रुपमा व्यवसाय अभिवृद्धि गर्न सफल भएको छ। सिंगापुरमा कम्पनीले हुन्डाई मोटर ग्रुप इन्नोभेसन सेन्टर निर्माण पूरा गरेको छ भने अमेरिकामा हुन्डाई मोटर ग्रुप मेटाप्लान्ट अमेरिका बनाउने योजना बनाएको छ। यसबाहेक उल्सनमै नयाँ ईभी प्लान्ट र साउदी अरेबियामा सीकेडी कारखाना पूरा गर्ने कम्पनीको तयारी छ।
यसबाहेक कम्पनीले ग्राहकसँग जोडिन(स्पोर्ट्सतर्फ आर्चरी, फिफा), ह्विटनी आर्ट म्युजियम लगायत विभिन्न स्पोन्सरसिपहरु गरेको छ। यसबाहेक नाइट फिसिङ फिल्मदेखि सिंगापुरमा ना ओ रेस्टुराँ खोल्नेसम्मका कार्य गरेको छ।
भर्खरै मात्र कम्पनीले हुन्डाई वेजस्तो दीर्घकालीन रणनीति समेत अख्तियार गरेको छ। कम्पनीले भविष्यलाई केन्द्रमा राख्दै यातायात र ऊर्जा क्षेत्रमा नवप्रवर्तनको काम समेत गर्ने जनाएको छ। आफ्ना उत्पादन र सेवालाई सफ्टवेयर र एआईमा आधारित बनाउन कम्पनीले यातायातको इकोसिस्टममै रुपान्तरणको नेतृत्व गर्ने योजनासाथ अघि बढिरहेको जनाएको छ।
Shares

प्रतिक्रिया