ad ad

कारोबार


किन सुस्तायो दुईपांग्रे सवारी साधनको बजार? ३ कारण औँल्याउँछन् अटो व्यवसायी

किन सुस्तायो दुईपांग्रे सवारी साधनको बजार? ३ कारण औँल्याउँछन् अटो व्यवसायी

वसन्त अर्याल
साउन १६, २०८१ बुधबार ११:३४, काठमाडौँ

पछिल्लो २ वर्ष विद्युतीय गाडीको बजार गुल्जार रह्यो। दुई हप्ताअघि मात्र सकिएको गएको आर्थिक वर्ष मात्रै अहिलेसम्मकै धेरै १२ हजार बढी विद्युतीय चारपांग्रे भित्रिए।

तर सोही समयमा पेट्रोलका गाडी र दुईपांग्रे साधनको बिक्री भने घट्न पुग्यो। पेट्रोलको गाडी खरिद गर्नेले विकल्पको रुपमा विद्युतीय गाडी खरिद गरेको देखिए पनि दुईपांग्रे सवारीका ग्राहक कता सिफ्ट भए त?

अटो व्यवसायीकै भनाइ मान्ने हो भने तीन कारणले दुईपांग्रे सवारीसाधनको बजार सुस्ताएको हो। यसअनुसार—

पहिलो, युवा विदेशिँदा खरिदकर्ता भएनन्,
दोस्रो, सुस्त अर्थतन्त्रले ग्राहकको खरिद क्षमता नै घट्यो र

तेस्रो, मोटरसाइकलबाट अपग्रेड भएर सस्ता विद्युतीय गाडी खरिद गरे। 

माथिका तीन कारणलाई तथ्यांकको ‘लेन्स’ले हेर्दा तुलनात्मक रुपमा नेपालमा सबैभन्दा बढी दुईपांग्रे (मोटरसाइकल र स्कुटर) आर्थिक वर्ष ०७७/०७८ मा ३ लाख ५३ हजार आयात भएको देखिन्छ। सो वर्ष कुल सवारीसाधनको आयात ९७ अर्ब ३७ करोड रुपैयाँको थियो। 

त्यसपछिको आर्थिक वर्ष २०७८/०७९ मा ९९ अर्ब ४२ करोड रुपैयाँबराबरका सवारीसाधन र पार्टपुर्जा आयात भएको थियो। उक्त वर्ष दुईपांग्रेको आयात पुरानै अवस्थामा फर्कियो। अर्थात् कोभिड महामारीअघिकै सरह २ लाख ७८ हजार दुईपांग्रे भित्रिए। 

कोभिडअघि आर्थिक वर्ष २०७५/०७६ मा पनि दुईपांग्रेको बिक्री २ लाख ७० हजार रहेको थियो।
पछिल्ला २ आर्थिक वर्षको तथ्यांक केलाउँदा गत आर्थिक वर्षमा १ लाख ३४ हजार र अघिल्लो आवमा १ लाख ४ हजार मात्रै दुईपांग्रे आयात भएका थिए। 

पेट्रोलका दुईपांग्रेको विकल्प विद्युतीय दुईपांग्रे बनेका हुन् त? तथ्यांकले त्यस्तो देखाउँदैन। 
गत आर्थिक वर्ष विद्युतीय मोटरसाइकल र स्कुटरको आयात ७ हजार ७४७ वटा मात्र छ भने अघिल्लो वर्ष ७ हजार ११५ मात्रै भित्रिएको देखिन्छ। 

बजारमा दुईपांग्रेको सबैभन्दा बढी हिस्सा बजाज मोटरसाइकलको छ। २ वर्षमा बजाजको बिक्रीमा गिरावट छ।

‘कोभिड महामारीपछि एकै पटक दुईपांग्रेको बिक्री ह्वात्तै बढ्यो। त्यसको प्रभाव पछिल्ला २ वर्षमा परेको देखिन्छ’, बजाज र केटीएम बाइकको बिक्रेता गोल्छा ग्रुपका निर्देशक आकाश गोल्छा भन्छन्, ‘आर्थिक वर्ष २०७७/०७८ लाई आधार मान्दा त धेरै नै गिरावट देखिन्छ। तर हरेक वर्ष त्यति बिक्री हुने बजार होइन।’

व्यवसायीहरु हरेक वर्ष साढे २ लाख दुईपांग्रे बिक्री हुनसक्ने अवस्था मान्छन्। त्यसो त पछिल्ला वर्ष आर्थिक गतिविधि नै सुस्त रहेको सरकारी तथ्यांकले देखाउँछ। यस्तोमा दुईपांग्रे सवारी खरिदकर्ता खर्च अभाव देखाउँदै नियमित सर्भिसमा समेत कम आउने गरेको नाडा कोषाध्यक्ष मिलनबाबु मल्ल बताउँछन्। 

‘मानिसहरु पैसा खर्च गर्न तयार भएकै देखिन्न। नयाँ खरिद मात्रै नभई नियमित सर्भिसमा समेत आउने कम भएको छ’, उनी थप्छन्, ‘सर्भिस गर्न आउनेले समेत कसरी कम खर्च गर्ने भन्ने छ।’

अप्रिला र भेष्पाको बिक्री गर्ने डेल्टा अटोकर्पका विजय महतो दुईपांग्रे बजारमा मन्दी हुनुमा ३ कारण औँल्याउँछन्। 

‘स्नातक र स्नातकोत्तर तहमा विद्यार्थी नै कम हुँदा कलेजहरु समस्यामा छन्। त्यसको अर्थ दुई पांग्रेको लक्षित समूह विदेश गएको छ’, उनी भन्छन्, ‘दोस्रो कारण आर्थिक मन्दी देखिन्छ। धेरै जनाले पैसा खर्च गर्न नै खोजेको देखिँदैन।’

ग्राहकको खरिद गर्ने क्षमता या खर्च गर्ने क्षमतामा कमी आउनुलाई उनले दोस्रो कारण माने। तेस्रोचाहिँ बजार कतै ‘स्याचुरेसन’मा गएको त होइन भन्ने उनको आशंका छ।

‘सहरी क्षेत्रका हरेक घरमा १–२ वटा बाइक भइसकेका छन्’, उनले भने, ‘अब नयाँ बाइक चलाउने प्रयोगकर्ता नै भएनन् कि भन्ने पनि छ।’

युवा पलायनको प्रभाव दुईपांग्रे बजारमा कति?
नेपालमा करिब ३ करोड जनसंख्या रहे पनि १ करोड भारतसहित विदेशी मुलुकमा रहेको अनुमान छ। 

२०७८ को जनगणनाअनुसार २० देखि ३९ उमेरसम्मको जनसंख्या ९४ हजार ३१ लाख अर्थात् ३२.३४ प्रतिशत छ। व्यवसायीहरुले यही उमेर समूह नै दुईपांग्रे मुख्य खरिदकर्ता रहेको बताएका छन्।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा मात्रै ७ लाख ४१ हजार युवा श्रम स्वीकृति लिएर विदेशिएका छन्। त्यसमा थप १ लाख १२ हजार वैदेशिक अध्ययन अनुमतिपत्र लिएका छन्। श्रम स्वीकृति लिएका र अध्ययन अनुमतिपत्र पाएका अधिकांश विदेश जाने भएकाले साढे ८ लाख युवा विदेशिएका छन्। 

राष्ट्रिय परीक्षा बोर्डका अनुसार गत आर्थिक वर्ष ५ लाख ४ हजार विद्यार्थीले एसईईको परीक्षा दिएका थिए। अर्थात् हरेक वर्ष नेपाली बजारमा ५ लाख हाराहारी युवा आउने गरेका छन्। हरेक वर्ष बजारमा आउने युवा र विदेश जाने युवाबीच तुलना गर्दा ३ लाख युवा बढी विदेशिएको देखिन्छ। 

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका कोषाध्यक्ष मल्ल दुईपांग्रे गाडीको बजार बढ्न नसक्नुमा किशोर अवस्थामै युवा विदेशिनुलाई कारण मान्छन्। 

‘दुईपांग्रे सवारीको मुख्य खरिदकर्ता युवाहरु नै हुन्’, यामाहा दुईपांग्रेका बिक्रेता समेत रहेका मल्ल भन्छन्, ‘युवाहरु विदेश जाँदा प्रयोग गरेको बाइक सस्तोमा बिक्री हुँदा नयाँ बिक्री घटेको देखिन्छ।’

बजाज र केटीएम बाइकका बिक्रेता गोल्छा पनि पछिल्ला २ वर्षमा मोटरसाइकल बजारमा गिरावट आउनुमा युवा पलायनलाई नै मुख्य कारण मान्छन्। 

‘हामीले मोटरसाइकल मात्रै बिक्री गर्ने लक्षित समूह १८ वर्षदेखि ३५ वर्षसम्म हो’, उनी भन्छन्, ‘१२ सक्ने र स्नातक अध्ययनकै बीचमा यो समूह अध्ययन तथा रोजगारीको लागि विदेश जाने गरेका छन्। यसले दुईपांग्रे बजारलाई प्रभाव पारेको देखिन्छ।’

दुईपांग्रे ग्राहक सस्तो विद्युतीय गाडीमा गएका हुन्?
बजारमा कतिपयले विद्युतीय गाडी किस्ताबन्दीमा सस्तो मूल्यमै पाउने भएकाले दुईपांग्रेका ग्राहक विद्युतीय गाडीमा गएको बताउने गरेका छन्। तर दुईपांग्रेका बिक्रेताहरुले बाइक र गाडीको लक्षित समूह नै फरक भएकाले ग्राहक ‘सिफ्ट’ भएको मान्न तयार छैनन्। 

‘दुईपांग्रे र गाडी खरिद गर्ने ग्राहक नै फरक छन्। तल्लो मध्यमवर्गमा मानिस दुईपांग्रे प्रयोग गर्छन् भने मध्यम र उच्च मध्यमवर्गले विद्युतीय गाडी खरिद गरेको मान्न सकिन्छ’, नाडा कोषाध्यक्ष मल्ल भन्छन्। 

गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छा विद्युतीय गाडीको बिक्री उच्च देखिए पनि १५ देखि २५ लाखसम्मको सेगमेन्टका गाडीको हिस्सा बढी नभएको बताउँछन्।  

‘मोटरसाइकलका ग्राहक विद्युतीय गाडीमा सिफ्ट भएको अनुमान मिल्दैन’, उनी भन्छन्, ‘विद्युतीय गाडीमा पनि ४० देखि ८० लाखसम्मका धेरै बिक्री भएका छन्। त्यो वर्ग मोटरसाइकल खरिदकर्ता होइन।’

विद्युतीय गाडीमा बैंकले ऋण सुविधा बढी दिँदा बिक्री भएको व्यवसायी बताउँछन्। 

‘विद्युतीय गाडीको सञ्चालन खर्च पनि कम र खरिद गर्न बैंकले ऋण सुविधा दिँदा बजेट अघिसम्म अस्वस्थ प्रतिस्पर्धामा बिक्री देखिन्छ’, महतो भन्छन्, ‘तर दुईपांग्रेका ग्राहक विद्युतीय गाडीतर्फ गएको भन्नेचाहिँ स्थापित हुँदैन।’

भन्सार विभागको तथ्यांकअनुसार गत वर्ष १२ हजार विद्युतीय गाडी भित्रिएकोमा ५० किलोवाटसम्मका ४ हजार ५७१ मात्रै छन्। अघिल्लो वर्ष ३ हजार ७५९ वटा ५० किलोवाटसम्मका गाडी बिक्री भएका थिए। यसमा टाटाको टियागो, बीवाईडीको डल्फिन, एमजीको कमेट बढी बिक्री भएको देखिन्छ।  

पछिल्लो ४ महिनामा दुईपांग्रे सवारीसाधनको बिक्री केही बढिरहेको व्यवसायी बताउँछन्। यसले अघिल्लो आर्थिक वर्षको तुलनामा केही सुधार मान्न सकिने उनीहरुको भनाइ छ। 

‘बजाजको मात्रै कुरा गर्दा पछिल्ला ४ महिनामा २० प्रतिशतले दुईपांग्रेको बिक्री बढेको छ’, गोल्छा भन्छन्, ‘तत्काल पहिलाकै अवस्थामा नपुगे पनि केही सुधार आएको छ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .