ad ad

कारोबार


उदाउँदो ईभी बजारमा मस्कलाई वाङ च्वान्फुको टक्कर

विश्व व्यवसायमा टेस्लासँग यसरी भिड्दै छ बीवाईडी
उदाउँदो ईभी बजारमा मस्कलाई वाङ च्वान्फुको टक्कर

बीवाईडीका वाङ र टेस्लाका इलोन


रोजा डी अकोस्टा
चैत २४, २०८० शनिबार ७:१०, काठमाडौँ

सन् १९९५ मा विज्ञान तथा प्रविधिअन्तर्गत धातुसम्बन्धी (मेटालर्जी) विषय पढेका वाङ च्वान्फुले जापानी प्रतिस्पर्धीभन्दा निकै सस्तोमा रिचार्ज गर्न मिल्ने निकेल–क्याडमियम ब्याट्रीहरु उत्पादन गर्ने लक्ष्यसहित एउटा सानो कम्पनी बीवाईडीको स्थापना गरेका थिए। 

त्यसको झण्डै ३० वर्षपछि शेन्जेनको यो कम्पनी विश्वकै नेतृत्वदायी विद्युतीय सवारीसाधन निर्माताको रुपमा उदाएको छ।

यसले चर्चित अर्बपति इलोन मस्कको टेस्लालाई समेत सन् २०२३ को अन्तिम त्रैमासिकमा पूर्ण विद्युतीय कारको विश्वव्यापी बिक्रीमा उछिनेर आफूलाई बजारमा उभ्याएको छ। 

तर सन् २०२४ को पहिलो त्रैमासिकमा टेस्लाले उक्त स्थानलाई पुनः प्राप्त गरे पनि यी दुई कम्पनी अहिले सँगसँगै को ठूलो उत्पादक र बिक्रीकर्ता बन्ने दौडमा देखिन्छन्। 

बजार पुँजीमा पहिलो टेस्ला, छैठौँ बीवाईडी  
सन् २०१० जुनमा सेयरबजारमा सूचीकृत हुँदा टेस्ला सेयर मात्र १७ डलर प्रतिकित्ता मूल्यमा कारोबार भएको थियो। त्यसको १४ वर्षपछि टेस्ला सेयर १६६ प्रतिकित्ता अमेरिकी डलर पुगेको छ।

योसँगै कम्पनीको बजार पुँजीकरण नै साढे ५ खर्ब डलर बढी पुगेको छ। यसले कम्पनीलाई संसारकै उच्च मूल्यवान् कम्पनीको रुपमा उभ्याएको छ। त्यतिमात्र नभई टेस्ला संसारभर बजार पुँजीका हिसाबले सबैभन्दा ठूलो कम्पनी बनेको छ। 

यता बीवाईडीको बजार पुँजीकरण ८१ अर्ब अमेरिकी डलर छ। विश्वमा बीवाईडी शीर्ष १० ठूला सवारीसाधन उत्पादकभित्र पर्ने लन्डनको डेटा विश्लेषक कम्पनी ग्लोबल डेटाले जनाएको छ। 

यस हिसाबले टेस्ला र अन्य धेरै कार कम्पनीहरुभन्दा बीवाईडी निकै पछि छ। तर यसले बीएमडब्लु र फोर्डलाई पछि पारिसकेको छ भने मर्सिडिज बेन्ज र फरारीलाई पनि पछि पार्ने संघारमा छ। 

ग्लोबल डेटाका अनुसार बजार पुँजीकरणका हिसाबले टेस्ला ५ खर्ब ५९ अर्ब डलर, टोयोटा ४ खर्ब १० अर्ब डलर, स्टेलान्डिस ८९ अर्ब डलर, मर्सिडिज बेन्ज ८५ अर्ब डलर, फरारी ८४ अर्ब डलर, बीवाईडी ८१ अर्ब डलर, बीएमडब्लु ७३ अर्ब डलर, फक्सवागन ७२ अर्ब डलर, होन्डा ६५ अर्ब डलर र फोर्ड ५२ अर्ब डलरको वरीयतामा छन्। 

सन् २०२३ मा टेस्लाले बीवाईडीले भन्दा झण्डै २ लाख ३० हजार धेरै कार बिक्री गरेको थियो। तर यी दुईबीचको अन्तर क्रमशः घटिरहेको छ। २०२१ मा यस्तो अन्तर ६ लाख रहेकामा २०२२ मा ४ लाखमा झरेको थियो। 

सन् २०२३ को अन्तिम त्रैमासिक आउँदा बीवाईडीले कोशेढुंगा पार गर्न सफल भयो। उसले मस्कको कम्पनीले भन्दा धेरै ब्याट्री इलेक्ट्रिक भेहिकल (बेभ्स) बिक्री गर्यो। चिनियाँ बजारमा माग घट्दा टेस्ला ईभीको बजार सुस्त भएको थियो। 

यद्यपि चिनियाँ कम्पनीको बजार पनि सन् २०२४ को सुरुवातमा खस्किएको छ। बीवाईडीले पहिलो ३ महिनामा ३ लाख १ सय १४ बेभ्स मात्रै बिक्री गरेको छ। जुन गत वर्षको अन्तिम ३ महिनामा गरेको ५ लाख २५ हजार ४ सय ९ वटा कार बिक्रीभन्दा धेरैले कम हो। 

जुन टेस्लाका लागि पहिलो स्थानमा आउन पर्याप्त रह्यो। टेस्लाले सोही समयमा ३ लाख ८६ हजार ८ सय १० बेभ्स बिक्री गरेको छ। 

बीवाईडीलाई मूल्य कटौतीको मद्दत 
बीवाईडीको प्रतिस्पर्धी बजार मूल्यले ईभी तालिकामा यसको उदयमा भूमिका खेलेको छ। खासगरी टेस्लाका कारहरु निकै महंगा छन्। तर दुवैका लागि विश्वको ठूलो कार बजारमा प्रतिस्पर्धा भने चर्को भइरहेको छ। 

मार्च ४ मा बीवाईडीले नयाँ भर्सनको धेरै रुचाइएको मोडलमध्येको युआन प्लस क्रसओभर (चीनबाहिर अट्टो ३ नामको) सार्वजनिक गरेको थियो। पहिलोको तुलनामा यसको मूल्य समेत १० प्रतिशतले घटाएर १६ हजार ६ सय ४४ (११९८०० युआन) मा झारेको छ।

त्यसको केही दिनमै आफ्नो सस्तो कार सिगलको नयाँ भर्सनको समेत ५ प्रतिशत मूल्य कटौती गरी १० हजार डलरभन्दा कम मूल्य राखेको छ। 

टेस्लाले पनि चीनमा गत वर्ष केही मोडलहरुको मूल्य नघटाएको भने होइन। यसका मोडल ३ र मोडल वाईको मूल्य अझै पनि बीवाईडी कारको तुलनामा दोब्बर बढी छ। 

चीन अमेरिकापछि टेस्लाको सबैभन्दा ठूलो बजार हो। सन् २०२३ मा कुल विश्वव्यापी बिक्रीको ३३ प्रतिशत हिस्सा चिनियाँ बजारले ओगटेको बेलायती परामर्श कम्पनी रो मोसनले जनाएको छ। टेस्लाले सन् २०१९ देखि सांघाईको गिगाफ्याक्ट्रीबाट उत्पादन सुरु गरेको थियो। गत वर्ष उक्त फ्याक्ट्री टेस्लाकै मुख्य निर्यात हब बनेको छ। जहाँबाट ९ लाख ४७ हजार कार डेलिभरी भएको थियो। 

बीवाईडीले अमेरिकामा कार बिक्री गर्दैन। तर क्यालिफोर्नियामा उसको बस उत्पादन प्लान्ट भने छ। टेस्ला र बीवाईडी दुवैले घरेलु बजारबाहिर फ्याक्ट्रीहरुमा लगानी गर्दै व्यवसाय विस्तार गरिरहेका छन्। 

विश्व व्यवसाय विस्तारमा प्रतिस्पर्धा 
अमेरिका, मेक्सिको, जर्मनी र चीनमा टेस्लाको सवारीसाधन उत्पादन भइरहेका छन् भने बीवाईडीले पनि मेक्सिको, ब्राजिल, हंगेरी, उज्बेकिस्तान, चीन, थाइल्यान्ड र इन्डोनेसियामा प्लान्ट विस्तार गरेको (गरिरहेको) छ। 

सन् २०२३ मा विश्वभर १ करोड ३६ लाख ईभी (बेभ्स र हाइब्रिडसहित) बिक्री भएको छ। जुन अघिल्लो वर्षभन्दा ३० प्रतिशतले बढी हो। सो वर्ष चिनियाँ बजार समेत ३० प्रतिशतले बढ्दा ७९ लाख युनिट बिक्री भएका छन्। 

तुलनात्मक रुपमा सन् २०२४ मा बिक्री बढेर चीनमा मात्रै १ करोड कार बिक्री पुग्ने अनुमान छ। 

यसरी हेर्दा बीवाईडीले सन् २०२३ मा हाइब्रिड समेत गरी ३० लाख विद्युतीय कार बिक्री गरेको छ जसमा बेभ्सको हिस्सा १६ लाख छ। यता टेस्लाले भने हाइब्रिड कार बिक्री गर्दैन। उसले गत वर्ष विश्वभर १८ लाख कार डलिभरी गरेको छ। जुन बेभ्सको विश्वव्यापी बजार हिस्साको १९ प्रतिशतजति हो। 

अमेरिका र क्यानडाले मात्रै टेस्लाका ७ लाख कार खरिद गरेका थिए भने चीनमा ६ लाख कार बिक्री भएको थियो। उसले युरोपमा करिब ४ लाख कार बिक्री गरेको थियो। 

यो वर्ष टेस्ला र बीवाईडी दुवैको सेयर घटिरहेको छ। तुलनात्मक रुपमा बीवाईडीभन्दा टेस्लाको सेयर धेरैले घटेको छ। सीएनएनबाट  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .