चौधरी ग्रुपले अटो व्यवसायमा आक्रामक ‘इन्ट्री’ गरेको छ। उद्योग व्यवसायमा प्रतिष्ठित छवि बनाएको ग्रुपले नेपाली अटोबजारमा तीव्र प्रतिस्पर्धा गर्ने देखिएको हो।
चौधरी ग्रुपअन्तर्गतको सीजी मोटोकर्पले मारुती सुजुकीका चारपांग्रे गाडी बिक्री गर्दै आएको छ। अरुण चौधरीका छोरा करणले अटोमोबाइल्स व्यवसाय हेर्दै आएका छन्।
पछिल्लो समय अटो व्यवसायमा विनोद चौधरीका छोरा निर्वाणको प्रवेश भएको छ। योसँगै चौधरी ग्रुपले धमाधम नयाँ ब्रान्ड भित्र्याइरहेको छ। ग्रुपले हालसम्म आधा दर्जन ब्रान्ड होल्ड गरिरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा विद्युतीय गाडीको खपत बढ्दै जाँदा चौधरी ग्रुपले अधिकांश विद्युतीय ब्रान्ड भित्र्याइरहेको छ।
ग्रुपअन्तर्गतको सीजी मोटर्सले नेटा ब्रान्डको प्यासेन्जर कार २०७९ जेठमा बिक्री सुरु गरेको थियो। त्यसलगत्तै कम्पनीले विद्युतीय भ्यान समेत बिक्री गर्न थाल्यो।
गत असोजमा मात्रै उक्त कम्पनीले २ वटा नयाँ ब्रान्ड ल्याउन सम्झौता गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण टोलीमा सहभागी निर्वाण स्मार्ट मोटर्स र जीएसी मोटर्सको आधिकारिक बिक्रेता बनेको थियो। दुवै कम्पनीले विद्युतीय गाडी उत्पादन गर्छन्।
स्मार्ट मोटर्सले मर्सिडिज बेन्जसँगको सहकार्यमा गाडी उत्पादन गर्दै आएको छ। ‘मर्सिडिज बेन्जसँग जोइन्ट भेन्चर्स रहेको स्मार्ट मोटर्ससँग सहकार्य गर्न पाउँदा सीजी मोटर्स खुसी छ’, सम्झौतापछि ग्रुपका निर्देशक चौधरीले भनेका थिए।
मर्सिडिज बेन्ज र गिली होल्डिङबीच विद्युतीय गाडी उत्पादन गर्न विश्वव्यापी ज्वाइन्ट भेन्चर छ। कम्पनीले जर्मनी र चीनमा प्लान्ट स्थापना गरी गाडी उत्पादन गरिरहेको छ।
सन् २०१९ मा स्थापना भएको कम्पनीले २०२२ बाट पहिलो विद्युतीय गाडी बजारमा ल्याएको थियो। नेपालमा स्मार्ट वान र त्यसपछि थ्री मोडल भित्र्याउने योजनामा कम्पनी छ।
कमर्सियल भ्यानमा बजारको नेतृत्वकर्ता
भन्सार विभागको तथ्यांकअनुसार नेपाल भित्रिने विद्युतीय माइक्रोमा सबैभन्दा बढी किङलङ र केवाईसी ब्रान्डका गाडी छन्। यी माइक्रो सार्वजनिक यातायातसँगै विद्यालय, कलेज, हस्पिटल, होटलले प्रयोग गर्न थालेका छन्।
किङलङ र केवाईसी काठमाडौं उपत्यकासहित लामो दूरीमा समेत चल्नथालेका हुन्। केवाईसीका ११ सिटे भ्यान काठमाडौं–कुलेखानी–हेटौंडा–सिमरा–पथलैया हुँदै वीरगन्जसम्म गुड्न थालेका छन्।
यता काठमाडौंबाट चितवन हुँदै नवलपरासीसम्म र पूर्वमा काठमाडौंदेखि गाईघाटसम्म विद्युतीय माइक्रो चलिरहेका छन्। सीजी मोटर्सले बिक्री गरिरहेका विद्युतीय गाडीमा ६० किलोवाट र ४१.८६ किलोवाट आवर क्षमताका ब्याट्री छन्। ११ सिटे गाडीको अधिकतम माइलेज ३०० किमि, गति १०० र ग्राउन्ड क्लियरेन्स १८० एमएम छ।
चिनियाँ ब्रान्ड किङलङका १४ सिटे माइक्रो छन्। ती गाडी एक पटकको चार्जमा ३०० किमिसम्म गुड्छन्। सीजी मोटर्सका मार्केटिङ हेड किरण आचार्यले २ वटा ब्रान्डको बलियो उपस्थिति रहेको बताए।
लामो प्रयासपछि हात पार्यो हिरो
नेपालमा लामो समयदेखि कम्पनीका दुई पांग्रे बिक्री गर्दै आएको ज्योति ग्रुपबाट हिरोको अधिकृत बिक्रेता चौधरी ग्रुपले ल्याएको छ।
हिरो मोटोकर्प र सीजी मोटर्स दुवैले नेपालमा एसेम्बलिङ उत्पादनका लागि पूर्वाधार समेत बनाउने भएका छन्।
नेपालमा सन् २०१४ प्रवेश गरेको कम्पनीका सुपर स्प्लेन्डर, एक्सपल्स २०० जस्ता मोटरसाइकललाई ग्राहकले निकै रुचाएका छन्। हिरो मोटोकर्प र सीजी मोटर्स दुवैले नेपालमा एसेम्बलिङ उत्पादनका लागि पूर्वाधार समेत बनाउने भएका छन्।
चौधरी ग्रुपले नवलपुर जिल्लामा एसेम्बलिङ उद्योग खोल्ने तयारी गरेको छ। वार्षिक ७५ हजार युनिट दुई पांग्रे उत्पादन गर्न सक्ने क्षमताको प्लान्ट आगामी मार्चबाटै सञ्चालनमा आउनेछ।
हिरो मोटोकर्पका ग्लोबल बिजनेस हेड सञ्जय शाहले नेपालमा चौधरी ग्रुप साझेदारी गर्न पाउँदा खुसी लागेको बताए।
‘चौधरी ग्रुप व्यापक व्यावसायिक ज्ञान र विविध व्यावसायिक दक्षताले नेपालमा हाम्रो व्यवसाय फस्टाउनेछ’, उनले भने।
चौधरी ग्रुपका प्रबन्धनिर्देशक निर्वाण चौधरीले विश्वव्यापी व्यावसायिक छवि बनाएको र मोटरसाइकल तथा स्कुटरको उत्पादनमा नेतृत्व गरिरहेको हिरोसँगको साझेदारीसँगै सीजी मोटर्सको अटोबजारमा प्रभाव पार्ने गरी पुनर्प्रवेश भएको बताए।
हिरोका नेपालमा एक्सपल्स २००, एक्सपल्स २००टी, एक्स्ट्रिम रेन्ज, स्प्लेन्डर रेन्ज, ग्लामर र एचएफ डिलक्स मोटरसाइकलहरु छन्। स्कुटरमा डेस्टिनी १२५, मायस्ट्रो एज र प्लेजर प्लस छन्।
नयाँ ब्रान्ड जीएसी बिक्री सुरु गर्दै
चौधरी ग्रुपले नयाँ विद्युतीय ब्रान्ड जीएसी नेपाल भित्र्याउँदै छ। जीएसीको विद्युतीय ‘आयन वाई’ मोडल उत्तरी नाका रसुवागढी नाकामा आइसकेका छन्।
‘आयन वाई मोडल आउने क्रममा छन्। केरुङ भन्सारमा आइपुगेका छन्’, सीजी मोटर्सका बजार प्रमुख आचार्यले भने, ‘पहिलो शोरुम थापाथलीमा बनाउँदै छौँ।’
जीएसी ब्रान्डको विद्युतीय गाडीको शोरुम थापाथलीसँगै अरु ठाउँ पहिचान गरिरहेको बताए।
प्रधानमन्त्री पुष्पकमल दाहाल चीन भ्रमणको समयमा बिजनेस समिटमा भएको सम्झौताअनुसार नयाँ ब्रान्ड भित्र्याएको छ।
केरुङ भन्सार कार्यालयका अनुसार १५० युनिट विद्युतीय गाडी भन्सार आइपुगेका छन्। सन् २०२३ को तथ्यांकले विश्व ईभी मार्केटमा आयन वाई मोडल टप आठभित्र पर्ने देखाएको छ।
Shares
प्रतिक्रिया