ad ad

कारोबार


विद्युतीयतर्फ काठमाडौंको सार्वजनिक यातायात, गुड्न थाले बिजुली ट्याक्सी

विद्युतीयतर्फ काठमाडौंको सार्वजनिक यातायात, गुड्न थाले बिजुली ट्याक्सी

नेपालखबर
बैशाख १६, २०८० शनिबार ७:३, काठमाडौँ

काठमाडौं उपत्यकामा विद्युतीय ट्याक्सी गुड्न थालेका छन्। 

सरकारले विद्युतीय ट्याक्सी गुड्न पाउने मापदण्ड बनाएको ४ वर्षपछि संघीय राजधानीमा गुड्न थालेका हुन्। 

संघीय सरकारले सेडान सेगमेन्टका सवारीलाई ट्याक्सी बनाउने मापदण्ड बनाएको छ। जसमा विद्युतीय र पेट्रोल दुवै सञ्चालन गर्न सकिने व्यवस्था रहेको छ। बागमती प्रदेश सरकारले पेट्रोल इन्जिनको सट्टा विद्युतीय ट्याक्सी चलाउनुपर्ने मापदण्ड बनाएको छ।  

बागमती प्रदेश श्रम तथा यातायात मन्त्रालयका सचिव आस्मान तामाङले पेट्रोल ट्याक्सीको सट्टा विद्युतीय चलाउन सक्ने अवस्था रहेको बताए। उनले बागमतीभित्र माइक्रो र विद्युतीय ट्याक्सी सट्टाभर्ना गर्नसक्ने बताए।

‘हाम्रो मापदण्डले नयाँ विद्युतीय ट्याक्सी दर्ता गर्नसक्ने कानुनी व्यवस्था अहिले छैन’, तामाङले भने, ‘तर २० वर्ष पुराना सार्वजनिक यात्रुवाहक साधनको सट्टा विद्युतीय ट्याक्सी प्रयोग गर्न सकिन्छ।’

प्रदेशले सार्वजनिक यात्रुबाहेक विद्युतीय ट्याक्सी सेवाको गुणस्तर, सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७८ ले साधारण र विशेष ट्याक्सीका रुपमा वर्गीकरण गरेको छ।  

मापदण्डअनुसार काठमाडौं उपत्यकामा पेट्रोलबाट चल्ने र उत्पादन मितिले २० वर्ष नाघेका सार्वजनिक यात्रुवाहक ट्याक्सीको लगतकट्टा गरी सट्टा ट्याक्सी गर्दा विद्युतीय ट्याक्सी दर्ता गर्नुपर्ने व्यवस्था छ। २० वर्षअगावै स्वेच्छाले ट्याक्सीको लगतकट्टा गरी सट्टादर्ता गर्न चाहेमा ट्याक्सीको अवधि उत्पादन मितिले १५ वर्ष पुगेको हुनुपर्नेछ। 

दुर्घटना वा अन्य कारणले सञ्चालन हुनयोग्य नभएमा तोकिएको समयावधिअगावै सट्टा दर्ता सुविधा दिन बाधा पर्नेछैन। ग्यासबाट सञ्चालित सार्वजनिक यात्रुवाहक सवारीलाई एकपटक विद्युतीय ट्याक्सी सट्टामा दर्ता सुविधा दिइने व्यवस्था छ। 

अटो व्यवसायीले सरकारले ल्याएको नीतिको कारण विद्युतीय ट्याक्सी चल्न सक्ने वातावरण बनेको बताएका छन्। अहिले होटल, रिसोर्टले विद्युतीय गाडी प्रयोग गर्न थालेका छन्। व्यवसायीहरुले काठमाडौं उपत्यकामा विद्युतीय ट्याक्सी चल्नसक्ने वातावरण भएको बताएका छन्। 

सार्वजनिक यातायात विज्ञ आशिष गजुरेलले विद्युतीय सवारीसाधनको लागि काठमाडौं उपत्यका उपयुक्त रहेको बताए। 

‘विद्युतीय सवारीसाधनको ग्राउन्ड क्लियरेन्स कम हुन्छ। काठमाडौंका अधिकांश सडक राम्रै अवस्थामा छन्’, गजुरेलले भने, ‘अब हामीले विद्युतीय सार्वजनिक यातायात नै प्रयोग गर्नुको विकल्प छैन।’

उनले काठमाडौं उपत्यकामा विद्युतको अभाव नभएकाले विद्युतीय साधन बढाउन अप्ठ्यारो नभएको बताए। 

यस्तो छ ट्याक्सीको मापदण्ड
मापदण्डले २ प्रकारको ट्याक्सी दर्ता गर्नसक्ने बताएको छ। जसमा  साधारण ट्याक्सीको सिट क्षमता ५ र डिलक्स ट्याक्सीमा ५ देखि ७ सिटको हुनुपर्नेछ। 

ट्याक्सीको ट्रान्समिसन अटोमेटिक हुनुपर्ने, बुट स्पेस (डिक्की) साधारणमा २०० लिटर र डिलक्सको २५० लिटरमाथिको हुनुपर्नेछ। 

त्यस्तै साधारण ट्याक्सीमा मोटर पावर ३० किलोवाटभन्दा माथि र डिलक्समा ४० किलोवाटमाथि, बोडी टाइप साधारणमा सेडान र डिलक्स सेडान अथवा भ्यान, ग्राउन्ड क्लियरेन्स १७० एमए र डिलक्समा १७५ एमए, साधारणमा ड्राइभर एयरब्याग र डिलक्समा डुअल एयरब्याग हुनुपर्नेछ। 

साधारण ट्याक्सीको एकपटकको चार्जमा २१० किलोमिटर र डिलक्स ट्याक्सीको २७५ किलोमिटर बढी हुनुपर्ने व्यवस्था गरेको छ।

त्यसबाहेक हिल एसिस्टेन्ट साधारणमा अप्सनल छ। डिलक्समा अनिवार्य, ब्रेक सिस्टम साधारणमा एबीएस र डिलक्समा एबीएससँगै ईबीडी हुनुपर्छ। 

सेन्ट्रल लकिङ र रियर भ्यु क्यामेरा दुवैमा आवश्यक, पार्किङ सेन्सर साधारणमा अप्सनल छ भने डिलक्समा अनिवार्य, एसी र साउन्ड सिस्टम साधारणमा अप्सनल र डिलक्समा अनिवार्य थियो। ट्याक्सीमा जीपीएस सिस्टम छ।

विद्युतीय ट्याक्सीको पूर्वाधार र चार्जिङ स्टेसन आयातकर्ता कम्पनी तथा निजी क्षेत्रले विद्युतीय ट्याक्सीका लागि पूर्वाधार र चार्जिङ स्टेसन स्थापना र सञ्चालन गर्न मन्त्रालय, विद्युत् प्राधिकरण र सम्बन्धित स्थानीय तहको स्वीकृति लिई गर्नुपर्ने व्यवस्था छ। 

त्यसबाहेक विद्युतीय सवारी प्रोत्साहन गर्न प्रदेश सरकारले संघीय सरकार र स्थानीय तहको समन्वयमा जग्गा प्राप्त गरी सरकारी चार्जिङ स्टेसन निर्माण तथा सञ्चालन गर्न सकिने बताएका छन्। 

‘चार्जिङ स्टेसन बनाउनैपर्ने देखिएको छ’, गजुरेलले भने, ‘ट्याक्सीको लागि पनि घरबाहिर चार्जिङ गर्नको लागि स्टेसन चाहिन्छ।’

टाटाका ट्याक्सी काठमाडौंमा गुड्न थाले 
काठमाडौं उपत्यकाका सडकमा टाटाको विद्युतीय ट्याक्सीहरू गुड्न थालेका छन्। टाटा मोटर्सद्वारा निर्मित यी विद्युतीय सेडान ट्याक्सीहरु नविन एवं समुन्नत विशेषताहरुले सम्पन्न रहेका कम्पनीको दाबी छ।

ट्याक्सीमा २६ किलोवाटको लिथियम आयन ब्याट्री छ। टाटा एक्सप्रेस–टी मा ११० मिनेटको छोटो अवधिमै ० देखि ८० प्रतिशत चार्ज हुन सक्छ। 

ट्याक्सीमा सुरक्षाको लागि एअर ब्याग, ईबीडीसहितको एबीएसलगायतका विशेषताहरु पनि छन्। घरमै १५ एम्पियरमा चार्ज गर्न मिल्ने एक्सप्रेस–टी मा स्वचालित एसीको पनि व्यवस्था छ। 

एक्सप्रेस–टी हरित प्रविधिमा आधारित सवारीसाधन भएकोले आर्थिक रुपले मितव्ययी एवं वातावरणीय दृष्टिकोणले पूर्ण फाइदाजनक रहनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .