ad ad

कारोबार


विद्युतीय गाडीको आयात हालसम्मकै उच्च, पेट्रोलका गाडी पनि बढ्न थाले

विद्युतीय गाडीको आयात हालसम्मकै उच्च, पेट्रोलका गाडी पनि बढ्न थाले

वसन्त अर्याल
बैशाख ७, २०८० बिहिबार १७:४०, काठमाडौँ

नेपालमा विद्युतीय गाडी हालसम्मकै सबैभन्दा धेरै आयात भएका छन्। 

साउनदेखि चैतसम्म २४ सय ५१ वटा गाडी भित्रिएका हुन्। अघिल्लो वर्षको तुलनामा यो वर्ष १ हजार बढी विद्युतीय गाडी भित्रिएका छन्। 

नेपाल भित्रिनेमा १०० किलोवाटसम्मका बढी छन्। अघिल्लो वर्ष १०० देखि १५० किलोवाटमाथिका विद्युतीय कारको आयात बढेको थियो भने अहिले १०० किलोवाटसम्मका गाडीको आयात बढेको हो। आर्थिक वर्ष २०७८/०७९ को ९ महिनामा १४ सय ७३ वटा मात्रै भित्रिएका थिए। 

सरकारले १०० किलोवाटमाथिका विद्युतीय गाडीमा कर बढाएसँगै आयातमा कमी आएको हो। १०० किलोवाटसम्मका २ हजार ३७९ वटा आयात भएका छन् भने २०० किलोवाटसम्मका ६५ वटा मात्रै भित्रिएका छन्।  नेपालमा पहिला बढी बिक्री भएको एमजीको जेटएस ईभीमा कर बढेसँगै १०० किलोवाटसम्मको मात्रै भित्र्याउँदै छ। 

टाटा, बीवाईडी, एमजीले १०० किलोवाट कमकै गाडी आयात गरिरहेका छन्। ९ महिनामा ६ अर्ब ८४ करोड रुपैयाँका विद्युतीय जिप, कार, भ्यान आयात भएका छन्। अघिल्लो वर्षको यही अवधिमा ४ अर्ब २९ करोड रुपैयाँको आयात भएको थियो। 

९ महिनामा ३६ अर्ब ४४ करोड रुपैयाँका सवारीसाधन आयात भएका थिए। अघिल्लो वर्ष ९ महिनामै ८२ अर्ब २ करोड रुपैयाँको आयात भएको थियो।

पेट्रोलका गाडी आयात बढ्दै, अघिल्लो वर्षभन्दा कम
पेट्रोल गाडीको आयात विस्तारै बढ्नथालेको छ। चालू आर्थिक वर्षको ९ महिनामा १३ सय ४५ वटा पेट्रोल इन्जिनका गाडी भित्रिएका छन्। जसमा सबैभन्दा बढी १५ सय सीसीसम्मका पेट्रोल इन्जिनका छन्। 

एक हजारदेखि १५ सय सीसीसम्मका ९८८ वटा आयात भएका छन्। १५ सयदेखि २ हजारसम्मका ३४ र दुई हजार सीसीमाथिका १० वटा मात्रै भित्रिएका छन्। 

३ महिना अघिसम्म ६४९ वटा मात्रै पेट्रोल इन्जिनका गाडी आयात भएका थिए। डिजेल इन्जिनका गाडी आयात एकदमै न्यून छ। ९ महिनामा ४६६ वटा मात्रै गाडी भित्रिएका छन्। डिजेल इन्जिनका भने १५ सय सीसीदेखि २५ सय सीसीसम्मका गाडीको २९५ वटा आयात भएको छ। 

अघिल्लो वर्षको तुलनामा भने चालू आर्थिक वर्षमा एकदमै कम पेट्रोलका गाडी आयात भएका छन्। ९ महिनामा १० हजार ८५६ वटा पेट्रोलका गाडी भित्रिएका थिए। 

अटो बजारमा मन्दी आएको समयमा अटो आयातकर्ताले नयाँ मोडलका गाडी ल्याएसँगै बजार चलायमान समेत हुने व्यवसायीको विश्वास छ।

महिन्द्राले मात्रै २ वटा नयाँ मोडल नेपाल भित्र्याएको छ। पुस महिनामा एक्सयूभी ७०० भित्र्याएको कम्पनीले बुधबार एक्सयूभी ३०० पनि सार्वजनिक गरेको छ। 

यसअघि सुजुकीले पनि गत फागुन अन्तिम साता नेपालमा ग्रान्ड भिटारा र नयाँ ब्रेजा सार्वजनिक गरेको थियो।

योसँगै १ वर्षदेखि निष्क्रिय अटो बजारलाई नयाँ मोडलले चलायमान बनाउन सहयोग पुग्ने व्यवसायीको विश्वास छ। 

व्यवसायीले अटो व्यापारमा मन्दी आउनुमा आयातसँगै बैंकको ब्याजदर समेत मुख्य कारण रहेको बताएका छन्। बैंकले गाडीका कर्जा प्रवाह नगर्ने र दिएको कर्जा पनि महंगो हुँदा अटो कारोबार कम भएको उनीहरुको भनाइ छ। 

व्यवसायीले राष्ट्र बैंकलाई अटो कर्जा जोखिमभार घटाउन आग्रह गरिरहेका छन्। गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा जोखिमभारलगायत व्यवसायीका माग सम्बोधन गर्ने आश्वासन दिएका छन्।  

दुईपांग्रे अटो बजार निराशाजनक
सरकारले ४ पांग्रे गाडी आयातमा पूर्ण प्रतिबन्ध लगाउँदा डिजेल पेट्रोलका कम भित्रिएका थिए।

दुईपांग्रेतर्फ १५० सीसीसम्मका मोटरसाइकल आयातमा सरकारले खुल्ला नै राखे पनि बजारमा माग नहुँदा एकदमै कम भित्रिएका छन्। अघिल्लो वर्ष ९ महिनामा १५० सीसीसम्मका मात्रै १ लाख ४५ हजार बिक्री भएका थिए।

चालू आर्थिक वर्षको ९ महिनामा पेट्रोल इन्जिनका दुईपांग्रे ७९ हजार ५२८ वटा आयात भएका छन्। विद्युतीय २ पांग्रे ६ हजार २६३ छन्। अघिल्लो वर्ष ९ महिनामा पेट्रोल इन्जिनका दुईपांग्रे २ लाख २५ हजार मोटरसाइकल छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .