ad ad

कारोबार


४ अटो कम्पनीले नेपाली बजारमा ल्याउँदै छन् आधा दर्जन नयाँ मोडल

४ अटो कम्पनीले नेपाली बजारमा ल्याउँदै छन् आधा दर्जन नयाँ मोडल

वसन्त अर्याल
माघ ७, २०७९ शनिबार १०:२३, काठमाडौँ

भारतमा सार्वजनिक भएका गाडीका आधा दर्जन नयाँ मोडल नेपालमा भित्रिने भएका छन्। 

टाटा, सुजुकी, हुन्डाई र कियाका मात्रै आधा दर्जन नयाँ गाडी नेपाल भित्रिने भएका हुन्। 

भारतीय अटो एक्स्पो २०२३ मा सार्वजनिक भएका अधिकांश मोडल नेपाल भित्रिने छन्।

नाडा अटोमोबाइल्स एसोसिएसनका अनुसार करिब ९० प्रतिशत सवारी भारतीय बजारबाटै भित्रिने गरेका छन्। 

नेपाली व्यवसायीले पनि भारतमा सार्वजनिक भएका मोडल नेपाल भित्र्याउने गरेका छन्।

सुजुकी ब्रान्डका गाडीको नेपालस्थित बिक्रेता सीजी मोटोकर्पका करण चौधरीले भारतमा सार्वजनिक भएका सुजुकीका नयाँ मोडल नेपालमा छिट्टै देख्न पाइने बताए। 

‘सुजुकीले नयाँ मोडल सार्वजनिक गरेको छ’, ग्रेटर नोयडामा अटो एक्स्पोमा भेटिएका चौधरीले भने, ‘यहाँ सार्वजनिक भएको मोडल छिट्टै नेपाल जानेछन्।’

सुजुकीको जिम्नी : थार र गुर्खासँग प्रतिस्पर्धा 
सुजुकीले नयाँ मोडल र भर्सन प्रदर्शनीमा राखेको थियो। सुजुकीका नयाँ गाडी नेपाल भित्रिने आधिकारिक बिक्रेताले जनाएको छ। 

सुजुकीले २०२५ सम्म पहिलो विद्युतीय गाडी ल्याउने जनाएको छ। भारतमा सबैभन्दा बढी बजार हिस्सा लिँदै आएको सुजुकीको इन्ट्री लेभलका गाडी बढी लोकप्रिय छन्। हाल कम्पनीले २ नयाँ मोडल बजारमा ल्याएको छ।

एन्डभेन्चर्स गाडीको रुपमा सुजुकीको जिम्नी बजारमा ल्याएको हो। लामो समयदेखि ग्राहकको पर्खाइमा रहेको फाइभ डोर आकर्षकको रुपमा यो गाडी छ। थ्रि डोरको सुजुकी जिम्नी बजारमा आइसकेको छ। 

अटो र म्यानुअल ट्रान्समिसनमा उपलब्ध यो गाडीमा १.५ लिटर पेट्रोल इन्जिन छ। जसले १०५ पीएस पावर र १३४ एनएम टर्क जेनेरेट गर्छ। फोरह्विल ड्राइभ सिस्टम रहेको जिम्नीले नेपालमा महिन्द्राको थार र फोर्स मोटर्सको गुर्खासँग प्रतिस्पर्धा गर्नेछ। 

भारतमा सुजुकीको क्रसओभर फ्रोन्क्स सार्वजनिक भएको छ। फ्रोन्क्स सहरी क्षेत्रलाई लक्षित गर्दै बजारमा ल्याएको कम्पनीको भनाइ छ।

एसयूभी सेगमेन्टको गाडीमा २०२५ एमएए ह्लिबेस छ। ९ इन्च टच स्क्रिन भएको गाडी ३ वटा रंगमा बजारमा आएको छ। यसमा ६ वटा एयर ब्याग छन्। 

कम्पनीले ब्लु (निलो) र ब्ल्याक (कालो) रंगमा ग्रान्ड भिटारा र ब्रेजा सार्वजनिक गरेको छ।

यी दुवै मोडल नेपाली बजारमा लोकप्रिय छन्। नेपालमा भिटारा ब्रेजा बढी बिक्री हुने एसयूभी सेगमेन्टमा पर्छ। ग्रान्ड भिटारा भने केही फरक रुपमा आएको छ। 

टाटाको विद्युतीय टियागोसँगै, अल्ट्रोज रेसर 
त्यस्तै अर्को कम्पनी टाटा मोटर्सले पछिल्लो समय विद्युतीय गाडी उत्पादनमा बढी ध्यान दिएको छ। पेट्रोल र डिजेलका नयाँ मोडलभन्दा पनि उसले नयाँ भेरियन्ट ल्याइरहेको छ। 

टाटाले ह्यारियर र सफारी ब्ल्याक इडिसनमा ल्याएको छ। टाटाका लक्जरियस मोडलका रुपमा रहेका यी गाडी ग्राहकको लागि थप विकल्पको रुपमा आएका छन्। कम्पनीले अल्ट्रोजको नयाँ भेरियन्ट रेसर समेत बजारमा ल्याएको छ। 

उसले पेट्रोल इन्जिन र विद्युतीय मोटरसहितको भर्जन एसयूभी कर्भ ल्याउँदै छ। यो गाडी सन् २०२४ मा लञ्च गर्ने अनुमान गरिएको छ।

टाटाका भारतमा सार्वजनिक भएका ब्ल्याक इडिसन ह्यारियर र सफारीसँगै हचब्यागमा अल्ट्रोज रेसर नेपाली बजारमा भित्रिनेछन्। 

भारतमा यसअघि नै टाटा टियागो समेत लञ्च गरेको थियो। नेपालमा टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टियागो छिट्टै ल्याउने जनाएको छ। 

हुन्डाईको विद्युतीय सेडान आयोनिक ६ 
हुन्डाईले भारतीय बजारमा विद्युतीय आयोनिक ५ र ६ सार्वजनिक गरेको छ। नेपालमा हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आयोनिक ५ नेपालमा सार्वजनिक गरिसकेको छ। 

सेडान सेगमेन्टको आयोनिक ६ नेपाल आउने पर्खाइमा छ। आयोनिक ६ विद्युतीय मोटर र ब्याट्री प्याक आयोनिक ५ जस्तै हो। लामो रेञ्जको गाडीमा ७७.४ किलोवाट आवर ब्याट्री छ। ३५० किलोवाट चार्जरबाट ८० प्रतिशतसम्म १८ मिनेटमै चार्ज गर्न सकिने कम्पनीले जनाएको छ। 

भारतमा हाइड्रोजन पावरयुक्त विद्युतीय गाडी शोकेस गरे पनि बजारमा तत्काल आउने सम्भावना छैन। हुन्डाई नेक्सोमा ९५ किलोवाटको हाइड्रोजन फ्युल सेल र ४० किलोवाटको विद्युतीय मोटर रहेको छ। 

भारतमा भएको अटो एक्स्पोमा हुन्डाईले विद्युतीय र हाइड्रोजनबाट चल्ने गाडीलाई प्राथमिकतामा राखेको थियो। 

कियाको ईभी ६, सोनेटको एक्स लाइन
नेपालमा केही समयमै कियाको नयाँ विद्युतीय गाडी आउने देखिएको छ।

कियाको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ प्रालिले १ विद्युतीय मोडलसहित सोनेटको नयाँ भर्सन नेपाल आउने जनाएको छ।

भारतीय बजारमा कियाको सोनेट एक्स लाइन आइसकेको छ। कन्टिनेन्टल ट्रेडिङले विद्युतीय गाडी किया ईभी ६ नेपाली बजारमा ल्याउन लागेको छ। कियाको विद्युतीय निरो नेपालका सडकमा गुडिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .