पछिल्लो समय नेपालमै सवारीसाधन उत्पादन (एसेम्बल) गर्न चाहने उद्योगहरुको संख्या बढ्दै गएको छ। यही जेठ महिनामा मात्रै दुईवटा यस्ता उद्योग दर्ताखानामा थपिएका छन्।
योसँगै नेपालमा गाडी उत्पादनको लागि दर्जन बढी उद्योग दर्ता भइसकेका छन्। तर यीमध्ये २ वटाले मात्रै एसेम्बल गर्दै आएका हुन्। हाल नेपालमा गोल्छा ग्रुपको बजाज र शंकर ग्रुपको टीभीएस ब्रान्डमा मोटरसाइकलहरु ‘एसेम्बल्ड’ भइरहेका छन्।
जेठ महिनामा अप्रिला र भेष्पाको आधिकारिक बिक्रेता दुगड ग्रुप र पेट्रोलियम पदार्थको व्यवसायबाट उदाएको एसजी ग्रुपले उद्योग दर्ता गराएका छन्। एसजी ग्रुपले नेपालमा मोटरहेडका मोटरसाइकल बिक्रीवितरण गर्दै आएको छ।
नेपालमा चौधरी ग्रुपदेखि दुगड, लक्ष्मी, एमएडब्लु ग्रुपले उद्योग दर्ता गराए पनि उद्योग सञ्चालन गर्नसकेका छैनन्। दर्ता भएका यी उद्योगले कहिलेबाट उत्पादन थाल्ने निश्चित छैन।
कति छन् दर्ता भएका एसेम्बल उद्योग?
नेपालमै दुई तथा चारपांग्रे सवारीसाधन उत्पादन गर्ने भनी दर्ता भएका उद्योगको संख्या दर्जन पुगिसकेको छ। यस प्रयोजनका लागि आठ वर्ष अघिदेखि नै उद्योग दर्ता हुनथालेको उद्योग विभागको तथ्यांकले देखाएको छ।
वि.सं. २०७१ असोजमा हुलास अटोक्राफ्ट प्रा.लि. विभागमा दर्ता भएको थियो। नवलपरासी जिल्लाको रामग्राम नगरपालिकामा कम्पनीले उद्योग स्थापना गरेको छ। यसले बजाज ब्रान्डका मोटरसाइकलहरु उत्पादन गर्दै आएको छ। यो उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको कम्पनी हो।
विभागको तथ्यांकअनुसार उद्योगले १२५ सीसी, १५० सीसीका मोटरसाइकल उत्पादन गर्दै आएको छ।
त्यस्तै, त्यस्तै एमएडब्लु अटो प्रालिले मोरङमा ५० हजार मोटरसाइकल तथा स्कुटर उत्पादन गर्न उद्योग दर्ता गरेको छ। २०७८ असोजमा दर्ता भएको एडएडब्लु ग्रुपले १ अर्ब ५१ करोड पुँजी राखेर ३१ हजार मोटरसाइकल र १९ हजार स्कुटर वार्षिक उत्पादन गर्ने उल्लेख गरेको छ। एमएडब्ल्यू ग्रुप यामाहा बाइकको आधिकारिक बिक्रेता हो। एमएडब्ल्यू इन्टरप्राइजेजका एमडी नेपाल उद्योग परिसंघ (सीएनआई)का अध्यक्ष विष्णुकुमार अग्रवाल हुन्। यो ग्रुपले नेपालमा जिप, स्कोडा, जेसीबी, फोटोन ब्रान्डका सवारीसाधन बिक्री गर्दै आएको छ।
२०७५ भदौमा हिरोइन अटो इलेक्ट्रिक इन्डष्ट्री प्रालिले कञ्चनपुरमा तीनपांग्रे भ्यान, कार र मिनी ट्रक उत्पादन गर्न उद्योग दर्ता गरेको थियो।
उक्त वर्ष बेला इलेक्ट्रिक अटो प्रालिले विद्युतीय दुईपांग्रे उत्पादन गर्न उद्योग दर्ता गरेको थियो।
त्यसबाहेक मिथिला अटो क्राफ्ट प्रालिले जनकपुरमा ३ पांग्रे टेम्पो, विद्युतीय ५०० रिक्सा र १०० वटा ढुवानी गर्न मिल्ने ३ पांग्रे उत्पादन गर्ने उल्लेख छ।
२०७५ मंसिरमा जगदम्बा अटो ग्रुप प्रालिले बाराको जितपुर सिमरामा उद्योग स्थापना गर्ने भन्दै दर्ता गरेको थियो। कम्पनीले ६० हजार मोटरसाइकल र ४० हजार स्कुटर उत्पादन गर्ने क्षमता रहेको उल्लेख गरेको छ। यो शंकर ग्रुपअन्तर्गतको कम्पनी हो। यसले टीभीएस बाइकहरु उत्पादन तथा बिक्री गर्दै आएको छ।
एभरेष्ट अटोमोबाइल म्यानुफ्याक्चरिङ कम्पनी प्रालिले चारपांग्रे गाडी उत्पादन गर्न उद्योग दर्ता गराएको छ। कम्पनीले वार्षिक २ सय चारपांग्रे उत्पादन गर्ने उल्लेख गरेको छ।
२०७८ साउनमा सीजी अटोमोटिभ इन्डस्ट्री प्रालिले बाराको परवानीपुरमा वार्षिक १० हजार २ पांग्रे, ३ हजार ३ पांग्रे र १० हजार चारपांग्रे उत्पादन गर्ने उद्योग दर्ता गरेको छ। सीजीले १ अर्ब ३१ करोड कुल पुँजी हुने गरी उद्योग दर्ता गराएको छ। कम्पनीले ११३ जनालाई रोजगारी दिनसक्ने दाबी गरेको छ।
ग्लोबल अटोमोबाइल्स प्रालिले पर्सामा २ पांग्रे र ३ पांग्रे उत्पादन गर्ने गरी उद्योग दर्ता गरेको छ। उद्योगले मोटरसाइकल र स्कुटर वार्षिक ३० हजार र ३ पांग्रे अटो रिक्सा ५ हजार उत्पादन गर्न उद्योग दर्ता गराएको छ। उक्त उद्योगले १५० जनालाई रोजगारी दिने बताएको छ।
त्यस्तै दुगड अटो क्लिनिक प्रालिले गत जेठ १२ मा मकवानपुरमा २ पांग्रे र ३ पांग्रे गाडी उत्पादन गर्न उद्योग दर्ता गराएको छ। दुगड ग्रुपले दुईपांग्रे २४ हजार र ३ पांग्रे ४ हजार उत्पादन गर्ने उल्लेख गरेको छ। दुगडले १४५ जनालाई रोजगारी प्रत्यक्ष रोजगारी दिनसक्ने बताएको छ।
एसजी अटोक्राफ्ट प्रालिले बाराकै जीतपुर सिमरामा ३ अर्ब कुल पुँजी राखी उद्योग दर्ता गराएको छ। कम्पनीले वार्षिक ४३१ जनालाई रोजगारी दिनसक्ने उल्लेख गरेको छ।
कम्पनीले विद्युतीय २ पांग्रे २१००, विद्युतीय गाडी ६००, विद्युतीय ३ पांग्रे १२ सय, विद्युतीय बस १२० उत्पादन गर्ने उल्लेख गरेको छ।
त्यसबाहेक पेट्रोल इन्जिनका २ पांग्रे १० हजार ५००, पेट्रोलियम इन्जिनकै ३ पांग्रे १५ सय, चारपांग्रे ६०० र ६ पांग्रे ७५० उत्पादन गर्ने गरी उद्योग दर्ता गराएका छन्।
अस्थिर नीतिले लगानी डुब्ने डर
नाडा उपाध्यक्ष तथा सिप्रदी टेड्रिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ अहिलेकै अवस्थामा गाडीको एसेम्बल उद्योग खोल्ने अवस्था नरहेको बताउँछन्।
‘विद्युतीय गाडीको १ वर्षमा ३ पटकसम्म विद्युतीय गाडीमा कर परिवर्तन गरेको छ’, श्रेष्ठले भने, ‘बारम्बार नीति परिवर्तनले गाडी एसम्बल गर्न कोहि तयार हुँदैनन्।’
श्रेष्ठले एसेम्बल उद्योगमा धेरै लगानी गर्नुपर्ने हुँदा अस्थिर नीतिले लगानी डुब्ने सम्भावना हुने उनले बताए। सरकारले हाल दिँदै आएको छुट छोटो समयमै हटाउनेबित्तिकै उद्योग धराशायी हुने उनको दाबी छ।
दुईपांग्रे सवारी हिरोको आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङका अध्यक्ष अभिक ज्योतिले एसेम्बल उद्योगका लागि कम्पोनेन्ट समेत नेपालमा बनाउन प्रोत्साहन गर्नुपर्ने बताए।
सवारीसाधनको लागि आवश्यक पार्ट्स नेपालमै निर्माण गर्नसके अटो उद्योगले बढी फाइदा गर्ने उनको भनाइ छ।
हाल नेपालमा एसेम्बल गर्ने उद्योगले भारतबाट सबै पार्ट्स ल्याएर जोड्ने काम गर्दै आएका छन्। व्यवसायीका अनुसार हाल एसेम्बल उद्योगले भ्यालुएड गर्ने ठाउँ नै छैन।
‘पोलिसी सेक्युरिटी खोइ?’
सीजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरी एसेम्बल उद्योग सञ्चालनको लागि ‘पोलिसी सेक्युरिटी’ आवश्यक रहेको बताउँछन्। आफूले गाडी उत्पादनको लागि सबै प्रक्रिया पूरा गरेकाले लगानीको लागि विश्वास दिलाउनुपर्ने उनको भनाइ छ।
‘एसेम्बल उद्योग स्थापना गर्ने सबैलाई पोलिसी सेक्युरिटी चाहिन्छ’, चौधरी भन्छन्, ‘अहिले एउटा नीति छ अर्को वर्ष परिवर्तन हुनुभएन।’
सरकारले विद्युतीय गाडीको कर नीति हेर्दा नेपालमा नीतिगत सुरक्षा गर्न नसकेको बताए। उनले नेपालमा गाडी उत्पादनको लागि सुजुकी कम्पनीसँग भेन्चर गरिसकेको बताए। सुजुकीको प्लान्ट भारतबाहेक श्रीलंका, म्यान्मारमा प्लान्ट भएकाले नेपालमा स्थापना गर्न सरकारले विश्वास दिलाउनुपर्ने उनको भनाइ छ।
सरकारले चारपांग्रे विद्युतीय सवारीसाधन उत्पादन वा एसेम्बल गर्ने नयाँ उद्योग स्थापना गरेमा सो उद्योगले कारोबार सुरु गरेको मितिले ६ वर्षसम्म ४० प्रतिशत आयकर छुट दिने व्यवस्था गरेको छ।
नेपालमा चारपांग्रे सवारीसाधन उत्पादन वा एसेम्बल गर्ने उद्योग स्थापना गरेमा सवारीसाधन उत्पादनका लागि चाहिने पार्टपुर्जा वा कच्चा पदार्थको आयातमा उद्योग विभागको सिफारिसमा ५० प्रतिशत अन्तःशुल्क छुटलाई निरन्तरता दिएको छ। सरकारले अहिले भन्सार महसुलमा समेत २५ प्रतिशत छुट दिने नयाँ व्यवस्था गरेको छ।
यसैगरी विद्युतीय रिक्सा र विद्युतीय मोटरसाइकल वा स्कुटर उत्पादन गर्ने उद्योगले प्रयोग गर्ने कच्चा पदार्थ वा पार्टपुर्जामा १ प्रतिशतमात्र भन्सार महशुल लाग्ने व्यवस्था गरेको छ।
Shares
प्रतिक्रिया