कारोबार


हायात होटलका मजदूर काममा फर्किए

हायात होटलका मजदूर काममा फर्किए

नेपालखबर
असार ४, २०७६ बुधबार ६:५८,

खाइपाइ आएको सुविधा कटौती गर्न नहुने माग राख्दै आन्दोलनमा उत्रिएका पाँचतारे होटल हायातमा कार्यरत मजदूर काममा फर्किएका छन्। श्रम कार्यालयले दुवै पक्षलाई वार्तामा बोलाएसँगै मजदूरले आन्दोलन स्थगित गरेका हुन्।

कर्मचारी काममा फर्किए पनि तत्काल होटलको सेवा सञ्चालनमा नआउने हायात होटलका जनसम्पर्क अधिकृत गोविन्दराम परियाले जानकारी दिए। ‘मजदूरहरु काममा फर्किए पनि यसअघि बुकिङ बन्द रहेका कारण सेवा सञ्चालनमा आउन केही समय लाग्न सक्छ’, उनले भने, ‘सुरक्षाका कारण पाहुना अन्यत्र सारिएको मात्र हो। प्रशासन सधैँ खुलै छ।’

होटलको आधिकारिक ट्रेड युनियन अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुराँ मजदूर संघले अर्बौं अनियमिततामा संलगन सञ्चालकहरुले सेवा बन्द गराई सरकारी कारवाहीबाट जोगिन प्रयास गरेकाले आन्दोलन फिर्ता लिएको जनाएको छ। आफ्ना मागहरु वार्ताबाट पूरा गर्ने आश्वसन सरकारले दिएका कारण पनि आन्दोलन रोकेको उसको भनाइ छ।

‘श्रम विभागले वार्ताका लागि दुवै पक्षलाई बोलाएको छ। आन्दोलन फिर्ता लिएर वार्ताबाट समाधान खोज्न सरकारी पक्षले आग्रह गरेअनुसार हामी तत्काललाइ काममा फर्किएका छौं,’ संघका अध्यक्ष मुक्ति दाहालले नेपालखबरसँग भने, ‘पहिले नै सहमति भएको विषयलाई कार्यान्वयन गर्न आन्दोलन भएको हो तर व्यवस्थापनले सामान्य माग सम्बोधन गर्नुको साटो आन्दोलनलाइ कारण देखाएर ठूलो अनियमितताको सम्भावित कारवाहीबाट जोगिने प्रयास गरेको देखियो। त्यसो हुनाले पनि आन्दोलन फिर्ता लिएका हौं।’

हायात होटलको सञ्चालक कम्पनी सार्वजनिक निजी साझेदारी अन्तर्गतको तारागाउँ रिजेन्सी होटल्स लिमिटेड हो। निजी साझेदारले शेयर संरचनामा चलखेल गरी सरकारको सेयर ३९ प्रतिशतबाट ९ मा झारेको एवं सरकारको जग्गा गैरकानुनी रूपमा नामसारी गरी करिब ५० अर्ब रूपैयाँभन्दा बढीको सरकारी सम्पत्ति हडपेको निष्कर्षसहित संसदीय समितिले कारवाही गर्न सिफारिश गरेको छ। होटल सञ्चालकले गरेको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छुट्टै छानबिन गरिरहेको छ। 

नेपालको इतिहासमै सबैभन्दा ठूलो अनियमितता मानिएको यो प्रकरणमा सञ्चालकहरुले कारवाहीबाट बच्न होटल बन्द गराएरको मजदूरहरुको ठहर छ।

पहिलेको सम्झौताअनुसार कर्मचारीले पाउँदै आएको सेवा सुविधा सन् २०१९ को जनवरीदेखि व्यवस्थापनले रोकेको सहितका माग राखेर कर्मचारी आन्दोलनमा उत्रिएका थिए।

सोही विषयलाइ कारण देखाउँदै होटल सञ्चालक समितिले आवश्यक सेवा सञ्चालन ऐन २०१४ को हवाला दिएर असार १ गते होटलको सेवा स्थगित गरेको सूचना सम्बन्धित निकायलाइ गराएको थियो। होटलमा रहेका पाहुनालाइ याक एन्ड यतिमा सारिएको थियो। सो मितिदेखि होटलले सबै किसिमका रिर्जभेसन लिन बन्द गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad