हिमालय एयरलाइन्सले आगामी कात्तिक महिनादेखि चीनको राजधानी बेइजिङलगायत मुख्य शहरमा उडान गर्ने भएको छ।
एयसलाईन्सले बेइजिङ, चाङ्सा, नाङचाङ, गुइयाङ, चोङकिङ, अलि र सेन्जेङमा उडान विस्तार गर्ने तयारी गरेको हो।
एयरलाइन्सले आइतबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरेर यसबारे जानकारी गराएको हो। कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले आगामी कात्तिक १० देखि बेइजिङस्थित नवनिर्मित डाक्सिन इन्टरनेशनल विमानस्थलमा हिमालयले उडान सुरु गर्ने जनाकारी दिए। उनले विश्वकै आधुनिक सुविधायुक्त डाक्सिन इन्टरनेसनल विमानस्थल हालै मात्र औपचारिकरूपमा सञ्चालनमा आएको बताउँदै उक्त विमानस्थलमा उडानका लागि ‘स्लट’ पाइसकेको जानाकारी दिए।
एयरलाइन्सका अध्यक्ष झो एन्योङले भने, ‘हाम्रा ग्राहक महानुभावहरुलाई उत्कृष्ट सेवा प्रदान गर्न संस्थामा अर्थपूर्ण सुधारहरु र नयाँ परिवर्तन ल्याउन हामीले अथक परिश्रम गरेका छौं। नेपालमा मात्र नभई एसियामै नेतृत्व गर्ने एयरलाइन्सका रुपमा स्थापित गराउन हामीले धेरैभन्दा धेरै प्रयास गर्दै आएका छौं। हाम्रो निरन्तर प्रयासको फलस्वरुप छिट्टै नै छिमेकी मुलुक ल्हासासहित चीनको बेइजिङ र अन्य प्रमुख शहरहरुमा हाम्रो सञ्जालमा जोडिने छौं।’ उनले हिमालय एयरलाइन्सको नयाँपनले संस्थाको विस्तार र नयाँ उचाई हासिल गर्ने रणनीतिक बाटोलाई पहिल्याउने दावी समेत गरे।
हिमालयनको नयाँ लोगो सार्वजनिक
हिमालय एयरलाइन्स्ले हिमालको चुचुरोमा उड्दै गरे चील अंकित नयाँ लोगो समेत सार्वजनिक गरेको छ।
रोयल सिंगी होटलमा आयोजित पत्रकार सम्मेलनमा हिमालयले आफ्नो नयाँ संस्थागत लोगो सार्वजनिक गरेको हो।
एअरलाइन्सको नयाँ लोगोले बल, सामञ्जस्यता र शान्तिलाई संकेत गरेको छ। सो लोगो एयरलाइन्स्का अध्यक्ष झो एन्योङ र उपाध्यक्ष विजय श्रेष्ठले सार्वजनिक गरेका हुन्।
निर्देशिक सिद्धान्त सुरक्षा, कार्यसम्पादन, ग्राहक सेवा, विजयी भावना र सुसंगत अभ्यास तथा एसियाली क्षेत्रमा सञ्जाल विस्तारका लागि हिमालयले गरिरहेको प्रयासमा आधारित रहेर यो नयाँ ब्रान्ड पहिचान परिवर्तन गरिएको हो।
सन् २०१४ मा स्थापना भएदेखि नै हिमालय एयरलाइन्स व्यवसायको सबै पक्षहरुमा विशिष्ट हुन आफूलाई परिस्कृत गर्दै ल्याएको छ। एउटा जहाज र एउटा गन्तव्य स्थानबाट सुरु गरेको एयरलाइन्सले तीन वर्षको अन्तरालमै आफ्नो स्वामित्वमा तीन ए३२० जहाजमार्फत पाँचवटा गन्तव्यमा उडान भर्ने क्षमता विकास गरेको छ।
आबुधावी, दमाम र दोहालाई नेपालसँग जोड्दै एयरलाइन्सले मध्यपूर्वी मुलुकमा आफ्नो बलियो उपस्थिति जनाएको छ। दुई महिना अगाडि, सन् २०१९ जुलाई २०, मा काठमाडौं–ढाका उडान सुरु गरेको यस एयरलाइन्सले यो रुटमा सेवा सञ्चालनलाई अझ मजबुत बनाउने संकल्प गरेको छ।

प्रतिक्रिया