गत भदौ २० गतेदेखि छिमेकी मुलुक भारतबाट पुनः सञ्चालन गरिएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवालाई नेपाल टेलिकमले थप १३ मुलुकमा विस्तार गरेको छ। संविधान दिवसको अवसरमा शुक्रबारदेखि यी मुलुकहरुमा डाटा रोमिङ सेवा उपलब्ध गराइनेछ।
सोहीअनुसार अब कम्पनीका जीएसएम पोस्टपेड मोबाइल सेवाका ग्राहकहरु चीन, अष्ट्रेलिया, अमेरिका, क्यानडा, यूएई, कतार, बेलायत, स्विजरल्याण्ड, मलेसिया, सिंगापुर, जापान, कोरिया र थाइल्यान्ड जादा भ्वाइस, एसएमएसका अलावा डाटा रोमिङ सेवा पनि चलाउन सक्नेछन्। साथै कम्पनीका प्रिपेड मोबाइल सेवाका ग्राहकहरुले समेत अब भारत र चीन जादा यी सुविधा (भ्वाइस, एसएमएस र डाटा रोमिङ सेवा) उपभोग गर्न सक्नेछन्।
हाल अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रियाशील अवस्थामा रहेका मोबाइल ग्राहकहरुलाई यो सेवा स्वतः उपलब्ध हुनेछ भने नयाँ रोमिङ सेवा लिने ग्राहकहरुलाई सेवा दर्ता गरेकै समयमा भ्वाइस, एसएमएस तथा डाटा सेवा उपलब्ध हुनेछ ।
केही समयभित्रै डाटा तथा प्रिपेड रोमिङ सेवा अन्य देशहरुमा पनि विस्तार गर्दै लगिने टेलिकमले जनाएको छ। टेलिकमले विगत लामो समयदेखि आफ्ना पोस्टपेड ग्राहकहरुलाई लक्षित गरी ८७ मुलुकका १ सय ९२ भन्दा बढी दूरसञ्चार सेवाप्रदायक कम्पनीहरुसँगको सहकार्यमा अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध गराइरहेको छ।
गत २०७६ वैशाख १६ बाट जीएसएम प्रिपेड मोबाइल सेवाका ग्राहकहरुका लागि पनि दुई छिमेकी मुलुकहरु भारत र चीनमा रोमिङ सेवा (भ्वाइस तथा एसएमएस) उपलब्ध गराइएको थियो।

प्रतिक्रिया