कारोबार


सरकारी सम्पत्ति हडप्ने हायात होटल बन्द

सरकारी सम्पत्ति हडप्ने हायात होटल बन्द

नेपालखबर
असार २, २०७६ सोमबार ११:४९,

सरकारी सम्पत्ति गैरकानुनी रूपमा हडपेको तथ्यहरु सार्वजनिक भएसँगै हायात होटल व्यवस्थापनले होटलको सेवा अनिश्चितकालसम्मका लागि बन्द गरेको घोषणा गरेको छ।

होटल सञ्चालन गर्दै आएको तारागाउँ रिजेन्सी होटल्सले सार्वजनिक सूचना जारी गर्दै अनिश्चितकालसम्मका लागि सेवा बन्द गरेको हो।

नेपाल स्टक एक्सचेन्जलाई पत्र लेख्दै मजदुर आन्दोलनको कारण सेवा बन्द गरेको जनाएको छ। स्टक एक्सचेन्जका प्रवक्ता मुराहरि पराजुलीले होटल सञ्चालक समितिले सेवा बन्द गरेकोबारे पत्र पठाएर जानकारी गराएको बताए।

होटल व्यवस्थापनले खाइपाइ आएको सुविधा कटौती गरेको भन्दै विगत पाँच दिनदेखि मजदुरहरु आन्दोलनरत छन्। होटलका आधिकारिक ट्रेड युनियन अखिल नेपाल होटल, रेस्टुराँ तथा क्यासिनो मजदुर संघको आह्वानका पाँच दिनदेखि हड्ताल हुँदै आएको हाे।

‘पहिलेदेखि दिँदै आएको सुविधा बन्द गरेर मजदुरलाई आन्दोलनमा उत्रिन बाध्य पार्ने काम भयो,’ होटल युनियनका अध्यक्ष मुक्ति दाहालले नेपालखबरसँग भने, ‘व्यवस्थापनले भर्ना गरेको उच्च तहका कर्मचारीहरुले तल्लो तहका कर्मचारीमाथि दुव्र्यवहार गर्दै आएका थिए।’

दाहालले यो विषय अब मजदुर र व्यवस्थापनकाे मात्रै नभएर सरकारको समेत भएको बताए। सरकारको समेत स्वामित्वमा रहेको होटलमा भएको अनियमितताबारे अख्तियारले होटल सञ्चालकहरुलाई कारबाही गर्ने प्रक्रिया अघि बढाएको समयमा होटल बन्द गरेर सरकारलाई दबाब दिन खोजेको दाबी पनि गरे।

सार्वजनिक निजी साझेदारी अन्तर्गत सञ्चालन भएको होटलमा सरकारी स्वामित्वमा निजी साझेदारहरुले हडपेको विषयमा संसदका समितिले छानबिन गरेर कारबाहीको सिफारिस गरेको छ।

त्यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरेर मुद्दा दायर गर्ने अन्तिम तयारी गरेको छ। होटल बन्द भएको विषयमा जानकारी लिन जनसम्पर्क अधिकृत गोविन्दराम परियारसँग पटक पटक गर्न खोज्दा सम्पर्कमा आउन चाहेनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .