कारोबार


४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसीको परीक्षण सफल, एक सातामै नियमित विद्युत् उत्पादन हुने

४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसीको परीक्षण सफल, एक सातामै नियमित विद्युत् उत्पादन हुने

नेपालखबर
असार १४, २०७८ सोमबार ३:२७,

स्वदेशी लगानीमा निर्माण भएको नेपालकै सबैभन्दा ठूलो (४५६ मेगावाट) क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको परीक्षण सफल भएको छ।

परीक्षण सफल भएसँगै यसै सताबाट नियमित विद्युत् उत्पादन सुरु हुने आयोजनाले जनाएको छ। आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठका अनुसार आयोजनाको मुख्य संरचना, सुरुङ, बाँध, डिस्यान्डर र मेकानिकल परीक्षण पूरा भएको छ। ‘सबै संरचनाको परीक्षण सफल भयो,’ श्रेष्ठले भने, ‘अब यसै साताबाट आयोजनाबाट विद्युत् उत्पादन नियमित हुनेछ।’

२०६७ सालको भदौबाट माथिल्लो तामाकोसीको निर्माण सुरु भएको थियो। २०७२ सालमा निर्माण सम्पन्न गर्ने लक्ष्य निर्माण कम्पनीको थियो। तर, ०७२ सालमै नेपालमा गएको विनासकारी भूकम्पसहित विभिन्न कारणले निर्माणको काम पूरा हुन ढिलाइ भएको हो।

४८ घण्टा लगाएर आयोजनाको मुख्य सुरुङमा पानी भर्ने काम सफलतापूर्वक सकिएको श्रेष्ठले जानकारी दिए।

माथिल्लो तामाकोसी आयोजनाको विद्युत् प्रवाह हुने २२० केभी खिम्ती–ढल्केबर प्रसारणलाइन तयारी अवस्थामा छ। न्यू खिम्ती सबस्टेसनमा ‘लाइन आउट र लाइन इन’ गर्ने काम पनि आइतबारबाट सुरु भएको श्रेष्ठले बताए। आयोजनाको विजुली केन्द्रीइ प्रसारण प्रणालीमा जोड्नुअघि २४ घन्टाका लागि परीक्षण उत्पादन गरेर हेर्नुपर्ने हुन्छ।

आयोजनाका इलेक्ट्रिकल महाशाखा प्रमुख पूर्णगोपाल रञ्जितले जतिसक्दो चाँडो आयोजनाको विजुली राष्ट्रिय प्रसारणमा जोड्ने गरी काम भइरहेको जानकारी दिए। आयोजनाको विजुली न्यू खिम्ती सबस्टेसनमा आउने र जाने गरी चारवटा ७२ मिटर अग्ला टावर निर्माण गरिएको छ।

सहरेटारबाट उत्तरतिरको टावरबाट माथिल्लो तामाकोसीसहित गर्जाङ–खिम्ती र लिखु–खिम्ती ३ प्रसारण लाइनबाट आएको विद्युत् सबस्टेसनमा जोडिने छ। त्यसैगरी दक्षिणतिरको टावरबाट खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइनमा जोड्ने तयारी छ।

४ वटा टावरको लाइन तानेपछि माथिल्लो तामाकोसीको विद्युत् काठमाडौं र तराईमा एकैसाथ जोड्न सकिनेछ। अबको एक सातामा पहिलो युनिटबाट ७६ मेगावाट विजुली राष्ट्रिय प्रशारण लाइनमा जोडिने छ। आयोजनाका ६ वटै युनिटबाट आगामी भदौसम्ममा विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ।

आयोजनाबाट वार्षिक २ अर्ब २८ करोड युनिट बिजुली उत्पादन हुने छ। आयोजनाले बिजुली बिक्रीबाट वार्षिक ९ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad