कारोबार


के यो वर्ष किसानले समयमै मल पाउलान्? यस्तो छ सरकारको तयारी

के यो वर्ष किसानले समयमै मल पाउलान्? यस्तो छ सरकारको तयारी

प्रशान्त लामिछाने
जेठ २०, २०७८ बिहिबार १०:२४,

गत वर्ष धान रोप्ने बेला किसानले रासायनिक मलको हाहाकार व्यहोर्नुपर्यो। ब्याडमा बीउ तयार भएर रोप्ने बेला भइसक्दा पनि किसानले मल पाउन सकेनन्।

समयमै रासायनिक मल नआउँदा मुख्य बाली धानमा मल राख्न नपाउने अवस्था आयो। गत वर्ष रासायनिक मल ल्याउने ठेक्का पाएका कम्पनीले कोरोना महामारीलाई कारण बनाउँदै तर्किएका थिए।

शैलुङ इन्टरप्राइजेज र होनीको मल्टिपलले मलको ठेक्का पाए पनि समयमै मल ल्याउन सकेनन्। मलको हाहाकार भएपछि गत वर्षको भदौमा प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशबाट रासायनिक मल ल्याउने बताए।

उनले बंगलादेशी समकक्षी शेख हसिनालाई टेलिफोन गरेर ५० हजार टन युरिया मल पैँचो दिन आग्रह गरेका थिए।

पैँचो युरिया मल आउन नसकेपछि सरकारले ‘जीटूजी’ प्रक्रियामार्फत बंगलादेश सरकारसँग युरिया मल खरिद गर्ने निर्णय गरेको थियो।

मलको वर्षेनी अभाव झेल्नुपरेपछि सरकारले स्वदेशमै रासायनिक मल कारखाना खोल्ने निर्णय त गरेको छ तर सोहीअनुसार काम भने हुनसकेको छैन।

गत वर्षजस्तै अहिले पनि खेतीपातीको मुख्य मौसम सुरु हुनैलाग्दा किसानहरु रासायनिक मलबारे चिन्तित छन्।

भारतसँग सिधै खरिद गरिँदै
सरकारले यो पटक भारतसँग मल किन्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भारतसँग ‘जीटूजी’ प्रक्रियाबाट रासायनिक मल किन्ने निर्णय गरेको हो।

यो वर्ष साल्ट ट्रेडिङ कम्पनीसँग ४० हजार टन रासायनिक मल मौज्दात रहेको कम्पनीका प्रवक्ता कुमार राजभण्डारीले बताए।

‘आजको दिनमा रासायनिक मलको अभाव छैन’, राजभण्डारीले नेपालखबरसँग भने, ‘आउने वर्षका लागि पनि टेन्डर भइसकेको छ।’

साल्ट ट्रेडिङले जोशी बिजनेस र भारतको इन्डियन पोटास लिमिटेट (आईपीएल)लाई खुला बोलपत्रमार्फत ठेक्का दिएको छ।

जोशीले ५० हजार टन मल ल्याउने र आईपीएलले २५ हजार टन मल ल्याउने ठेक्का पाइसकेका छन्।

हरेक वर्ष देशमा मलको माग सात लाख टन रहँदै आएको छ। 

‘मल अभाव हुँदैन’
कृषि सामग्री संस्थानका प्रबन्धसञ्चालक नेत्र बहादुर भण्डारीका अनुसार असार महिनालाई पुग्ने रासायनिक मल ‘स्टक’ छ।

साल्ट ट्रेडिङ र कृषि सामग्रीसँग रहेको स्टक मलले असारको सिजनलाई मल अभाव नहुने उनी बताउँछन्।

उनका अनुसार कृषि सामग्रीसँग अहिले युरिया मल २० हजार मेट्रिक टन, डीएपी ४० हजार मेट्रिक टन र पोटास ४ हजार मेट्रिक टन मौज्दात रहेको छ।

निषेधाज्ञाका कारण ढुवानीमा समस्या परेका कारण बाहिर जिल्लामा मल पठाउन असजिलो भएको उनले बताए।

‘बैंकिङ कारोबार गर्न पनि अहिले असहज भएको छ। ढुवानीमा पनि समस्या भइरहेको छ’, उनले भने, ‘यसले गर्दा जिल्लामा रहेका केन्द्रमा मल पठाउन कठिनाइ आएको हो। मलको अभाव छैन।’

सीसीएमसीको सूचीमा नपर्दा ढुवानीमा व्यवधान आएको उनले बताए। 

कृषि सामग्रीले बंगलादेशबाट किनिएको ५० हजार मेट्रिक टन रासायनिकक मल नै अहिले वितरण गरेको हो। ५० हजारमध्ये १९ हजार मेट्रिक टन मल आउन बाँकी नै छ।

बंगलादेशबाट मंगलापोर्टमा मल आइपुगे पनि कोरोनाका कारण उक्त मल ढुवानी गर्न नसकिएको उनले बताए।

यस वर्ष गत वर्षजस्तो मल अभाव नहुने बताउँछन् कृषि सचिव डा. योगेन्द्र कुमार कार्की। ढुवानी व्यवस्थामा समस्या देखिएकोमा त्यसलाई पनि सहजीकरण गर्न लागिएको उनले बताए।

‘मल र बीउलाई पनि अत्यावश्यक सामग्रीमा राखेर ढुवानी सहज बनाइने भएको छ’, कार्कीले भने, ‘अब जिल्लाहरुमा मलको अभाव देखिँदैन।’

उनले सरकारको निर्णयअनुसार जीटुजीमार्फत भारतसँग मल खरिदको पनि तयारी भइरहेको बताए।

बंगलादेश र भारतबाट मल आउने बताउँदै गत वर्षजस्तो यो वर्ष अप्ठ्यारो अवस्था नआउने उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .