कारोबार


ईपीसी मोडलमा बन्ने गरी आह्वान भयो सिद्धबाबा सुरुङमार्गको टेन्डर, ५ वर्षको समय

ईपीसी मोडलमा बन्ने गरी आह्वान भयो सिद्धबाबा सुरुङमार्गको टेन्डर, ५ वर्षको समय

नेपालखबर
जेठ ९, २०७८ आइतबार ७:३८,

रुपन्देही र पाल्पाको सिमानामा पर्ने सिद्धबाबामा सुरुङमार्ग निर्माणका लागि ग्लोबल टेन्डर आह्वान भएको छ।

सडक विभागअन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले सिद्धबाबामा सुरुङमार्ग निर्माणको लागि टेन्डर आह्वान गरेको हो।

सिद्धार्थ राजमार्गअन्तर्गतको उक्त सडक प्रयोग गरेर रुपन्देहीबाट पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बाग्लुङ हुँदै म्याग्दीसम्म नियमित गाडी चल्दै आएका छन्।

हरेक वर्ष पहिरोले क्षति पु¥याउँदै आएको सिद्धबाबामा वर्षाैँदेखि सुरुङमार्ग निर्माण गर्ने चर्चा चल्दै आएको थियो।

चर्चा चलेको वर्षौँपछि सरकारले सुरुङको योजना, डिजाइन, इन्जिनियरिङ, खरिद, निर्माण र सञ्चालन (ईपीसी मोडल)मा टेन्डर आह्वान गरेको हो।

सिद्धबाबामा सुरुङमार्ग बनाउन सरकारले बजेट भाषणमै लेखेर सुरुङ मार्ग बनाउन अध्ययन गर्ने बताउँदै आएको पनि ६ वर्ष भइसकेको छ।

पहिलो पटक केपी ओली प्रधानमन्त्री भएको बेला विष्णु पौडेल अर्थमन्त्री हुँदा ०७३/७४ को बजेटमार्फत विस्तृत परियोजना प्रतिवेदन तयार गर्न बजेट समेत विनियोजन गरेका थिए।

स्विस एजेन्सी फर डेभलपमेन्ट एण्ड कर्पोरेसन (एसडीसी) मार्फत सुरुङ मार्गको भौगर्भिक अध्ययन गरिएको थियो। ड्रिलिप नेपालले प्लानेट टेस्ट प्रालिमार्फत गरेको अध्ययनले सुरुङ मार्ग बनाउन सकिने प्रतिवेदन सरकारलाई बुझाएको थियो।

दोस्रोपटक विष्णु पौडेल अर्थमन्त्री भएसँगै मंसिर १ गते मन्त्रिपरिषद् बैठकले उक्त सुरुङ मार्ग निर्माणका लागि १० अर्ब १५ करोड रुपैयाँ प्रदान गर्ने निर्णय गरेको थियो ।

सोहीअनुसार गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले आइतबार ४५ दिने सूचना प्रकाशित गर्दै ग्लोबल टेण्डर आह्वान गरेको छ।

केन्द्रले जारी गरेको टेन्डर प्रक्रियामा भाग लिनेले डबल लेन स्ट्यान्डर्ड हाइवे टनेल, रक शेड स्ट्रक्चर निर्माणगरी ५ वर्ष सडक सञ्चालन तथा मर्मत गर्नुपर्नेछ।

केन्द्रका निर्देशक डा.विजय जोशीले ५ वर्षभित्र सक्ने गरी टेन्डर आह्वान गरिएको बताए।

टेन्डरमा छनोट हुने कम्पनी आफैँले सुरुङमार्गको डिजाइन गर्नुपर्ने हुन्छ।

त्यसको लागि करिब १ वर्ष समय लाग्छ र ४ वर्ष निर्माण अवधि लाग्ने केन्द्रको अनुमान छ।

जोशीले रुपन्देही–पाल्पालाई जोड्ने मात्रै नभई भारतको सुनौली र चीनको कोरना नाका पुग्ने दीर्घकालीन सोचसहित सडक निर्माण भएको बताए।

रुपन्देही र पाल्पाको सिमानामा पर्ने सिद्धबाबामा डेढ किलोमिटर क्षेत्र पहिरो र दुर्घटनाको अत्यधिक जोखिमयुक्त क्षेत्रमा पर्छ। वर्षायामसहित हिउँदमा समेत सुख्खा पहिरो खस्दा ठूलो धनजनको क्षति हुने गरेको छ।

सडक विभागले जारी गरेको टेन्डरमा डबल लेन हाइवे टनेल, रक शेड स्ट्रक्चर, रक फल मिटिगेसन र सडक क्षेत्रमा ईपीसी मोडलमा अन्तर्राष्ट्रिय क्षेत्रमा काम गरेकाले भाग लिन पाउने भएका छन्।

पछिल्लो १० वर्षमा ईपीसी÷टर्नकी वा डिजाइन एन्ड बिल्ड कन्ट्रयाक्टमा काम गरेको हुनुपर्नेछ। पछिल्लो १० वर्षमा कम्तीमा ३ वर्ष २ अर्ब २६ करोड रुपैयाँ टर्नओभर भएको निर्माण कम्पनीले टेन्डर प्रक्रियामा भाग लिन पाउनेछ।

प्रि–बिड मिटिङ १३ जुनमा गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रमा हुँदै छ। सुरुङमार्ग निर्माणमा योग्यता पुगेको कम्पनीले ७ जुलाईसम्ममा सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइटमार्फत निवेदन दिइसक्नुपर्नेछ।

११ सय २६ मिटर सुरुङसहित ५ किमि सडक बन्ने
कुल आयोजना करिब ५ किलोमिटर रहेको छ। जसमा सिद्धबाबा सुरुङमार्ग ११ सय २६ मिटरको हुनेछ। सुरुङमार्गको अगाडि र पछाडि ३ हजार ५ सय मिटरको रकनेट (जाली) राखिनेछ।

७८० मिटरको डबल लेन रक सेड, स्लोप प्रोटेक्सनलगायतका कामहरु आयोजनामा समेटिने सडक विभागले जनाएको छ।

सुरुङ मार्ग पाल्पाको सिद्धबाबा मन्दिरको उत्तरतर्फको चिडियाखोलाको छेउबाट सुरु हुनेछ । चिडियाखोला खोँचबाट सुरु हुने सुरुङ दोभाननजिकै रामापिथेकस पार्कको उत्तरतर्फ निस्किने केन्द्रको भनाइ छ।

केन्द्रका सीडीई थानेश्वर खत्रीले अहिले टेन्डर आह्वान भए पनि मूल्यांकनमा समय लाग्ने बताए।

‘४५ दिन त टेन्डरको समय नै भयो। त्यसपछि ३ महिना मूल्यांकनमै जान्छ’, खत्रीले भने, ‘सम्झौता भई काम सुरु हुन करिब ६ महिना लाग्ने देखिन्छ’

उनले कुनै अवरोध नभए त्योभन्दा पनि अघि नै मूल्यांकन भई खरिद सम्झौता हुनसक्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad