धितोपत्र बजार उच्च विन्दुमा पुगिरहेका बेला पुनः अर्को एक जलविद्युत् कम्पनीले साधारण सेयर बिक्रीको अनुमति पाएको छ।
बजारले ‘बुलिस ट्रेण्ड’ पछ्याइरहेका बेला नेपाल धितोपत्र बोर्डले सीईडीबी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीलाई आज साधारण सेयर बिक्रीको अनुमति दिएको हो। नयाँ वर्षको अवसरमा साधारण सेयर बिक्रीको अनुमति पाउने सो कम्पनी पहिलो बनेको छ।
कम्पनीले कूल २५ लाख १८ हजार २३० कित्ता साधारण सेयर बिक्री गर्नेछ। प्रतिकित्ता रु १०० बराबरको रु २५ करोड १८ लाख २३ हजार बराबरको साधारण सेयर बिक्री गर्ने गरी बोर्डले अनुमति दिएको हो।
कम्पनीको साधारण सेयर बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ। कम्पनीले ११ मेगावाट क्षमताको तल्लो खारे खोला, १२ मेगावाटको दोर्दी एक, पाँच मेगावाटको रुकुम गाड र ४५ मेगावाटको कसुवा खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। रासस

प्रतिक्रिया