कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले कृषि उत्पादनको बजारीकरणका लागि सरकारले सुरु गरेको बताएकी छिन्।
हिमालपारिको जिल्ला मुस्ताङमा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत स्याउ जोन मुस्ताङले जिल्लाभित्रका कृषकहरुलाई हाइब्रिड स्याउका बिरुवा वितरण गर्ने कार्यक्रमको आज (सोमबार) शुभारम्भ गर्दै मन्त्री अर्यालले उक्त जानकारी दिएकी हुन्।
स्याउको नर्सरी बनाउनका लागि बजेट तथा कार्यक्रम स्वीकृत भइसकेकोले आगामी दिनमा स्याउ कृषकलाई बिरुवाको अभाव नखड्कीने मन्त्री अर्यालले बताइन्।
जिल्लाभित्रका प्रतिनिधिहरुले आफ्नो भूमिका उत्कृष्ट तवरले निर्वाह गरेको बताउँदै मन्त्री अर्यालले आगामी दिनमा जिल्ला कृषि तथा पशुपक्षीको उत्पादकत्व बढाउने कार्यका लागि आफ्नो उपस्थिति र भूमिका मजबुत बनाउन आग्रह गरिन्।
जोमसोममा स्याउका बिरुवा कृषकलाई हस्तान्तरण गरेर कृषिमन्त्री अर्यालले विरुवा वितरण कार्यक्रमको शुभारम्भ गरेका हुन्।
स्याउ जोन जोमसोमले युरोपियन मुलुक इटालीबाट ल्याएर हाइडेन्सीटी स्याउका बिरुवा वितरण गर्न लागेको स्याउ जोनका वरिष्ठ कृषि अधिकृत सुधीर थापाले बताए।
९ हजार २ सय ३० बिरुवा वितरण गर्ने योजना अनुरुप पहिलो चरणमा सोमबार ६ हजार २ सय ४० विरुवा वितरण गर्न लागिएको वरिष्ठ अधिकृत थापाले बताए।
जिल्लाभित्रका विभिन्न १५ वटा सहकारी तथा समूहले स्याउका बिरुवा माग गरेकोले स्याउ जोन मुस्ताङमार्फत गोल्डेन डेलिसियस, गाला, फुजी र रेड डेलिसियस जातका बिरुवा ल्याएर वितरण गरिएको हो।
नेपालमा बिरुवा उत्पादन नभएको हुनाले हाइडेन्सिटी स्याउ एक मिटरको दूरीमा लगाउन मिल्ने र उत्पादन बढी दिने भएकाले पनि मुस्ताङमा यो स्याउ उत्कृष्ट हुने थापाले बताए।
संघीय सरकारको बजेट अनुरुप ५० प्रतिशत अनुदानमा वितरण गरिएको उक्त स्याउको बिरुवा जोमसोम आइपुग्दा प्रतिबोट एक हजार १ सय ७० रुपैयाँ खर्च लागेको छ।
संघीय सरकारको बजेटमा मुस्ताङ जिल्लाभित्र २ करोड ६० लाखमा स्याउको बिरुवा वितरण, नर्सरी, साना सिँचाइलगायतका कार्यक्रम सञ्चालन हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत स्याउ जोन मुस्ताङका वरिष्ठ कृषि अधिकृत सुधिर थापाले बताए।

प्रतिक्रिया