ad ad

कारोबार


होङ्सीलाई दाङ सिमेन्टमा सवा १३ अर्ब लगानी गर्ने बाटो खोलिँदै

होङ्सीलाई दाङ सिमेन्टमा सवा १३ अर्ब लगानी गर्ने बाटो खोलिँदै

दीपक भट्ट
चैत २७, २०७७ शुक्रबार १६:४७,

दाङ सिमेन्ट कम्पनीमा ठूलो विदेशी लगानीको प्रस्ताव आएको छ। चिनियाँ कम्पनी होङ्सीले लगानी कम्पनीमार्फत दाङ सिमेन्टमा १३ अर्ब ३० करोड रुपैयाँ लगानी गर्ने प्रस्ताव गरेको हो।

तर, औद्योगिक व्यवसाय ऐनमा विदेशी कम्पनीले नेपालमा लगानी गर्ने व्यवस्था नै नभएकाले अप्ठेरो परेको छ। त्यसैले सरकारले सो सिमेन्ट कम्पनीमा विदेशी लगानीको बाटो खोलिदिने भएको छ।

त्यसका लागि उद्योग, वणिज्य तथा आपूर्तिमन्त्रीको नेतृत्वमा रहने औद्योगिक तथा लगानी प्रवद्र्धन बोर्डले निर्णय गराएर मन्त्रिपरिषदमा सिफरिस गर्नुपर्ने हुन्छ। मन्त्रिपरिषदको बैठकले पनि नेपालमा विदेशी लगानी कम्पनीलाई अनुमति दिने निर्णय गरेको खण्डमा त्यसको बाटो खुल्नेछ।

सोही सिफारिसका लागि माघ अन्तिम साता बोर्ड बैठक बसेको थियो। बोर्डको २३३ औं बैठकले २३४औँ बैठकमा औद्योगिक व्यवसाय ऐनमै प्रावधान राखेर नेपालमा विदेशी लगानी कम्पनी स्थापना गर्न दिन सकिने प्रस्ताव गरेको थियो। त्यसका लागि कस्ता कम्पनी र कुन क्षेत्रमा लगानी ल्याउन पाउने भनेर मापदण्ड बनाई पेस गर्न भनिएको थियो।

यो बोर्डको सचिवालय उद्योग विभागमा रहने व्यवस्था छ। विभागले सो बमोजिम भौतिक पूर्वाधार र उत्पादनमूलक उद्योगमा लगानी गर्न मिल्नेगरी नेपालमा विदेशी लगानी कम्पनीलाई अनुमति दिने मापदण्ड राखेर बोर्डमा पेस गरेको थियो।

तर, फागुनमा बसेको बोर्ड बैठकले त्यसलाई स्वीकृत गर्न सकेन। त्यसमा पुनर्मूल्याङ्कन गर्नुपर्ने र तयारी नपुगको भन्दै अर्को बैठकमा निर्णय गर्ने बताइएको थियो।

त्यसपछि अहिले बोर्ड बैठकको तयारी भइरहेको उद्योग विभागले जानकारी दियो। विभागका एक अधिकारीका अनुसार आगामी हप्ता नै बोर्ड बैठक गर्ने र सोबारे निर्णय गर्ने तयारी भइरहेको छ।

‘अहिले तयार भएको मापदण्डमा पनि पूर्वाधार र उत्पादनमूलक उद्योग नै उल्लेख छ। उत्पादनमूलक उद्योगहरुमा पनि खानी उत्खननसँग जोडिएका उद्योगहरुमा लगानी गर्न दिइने उल्लेख छ,’ उनले भने।

यदि यही मापदण्ड पास भएर औद्यागिक व्यवसाय ऐनको अनुसूचीमा समावेश हुने हो भने चीनको ठूलो सिमेन्ट कम्पनी होङ्सीले नै नेपालमा लगानी कम्पनी खोल्न दिएको आवेदन सदर हुनेछ।

होङ्सी (हङकङ रेडलायन) ले नै नेपालमा इन्भेस्टमेन्ट कम्पनीका लागि आवेदन दिनुका साथै दाङ सिमेन्टमा १३ अर्ब ३० करोड लगानी गर्ने प्रस्ताव गरेको छ। होङ्सी (हङकङ रेडलायन)ले अहिले दाङ सिमेन्टको ८५ प्रतिशत सेयर खरिदको प्रक्रिया सुरु गरिसकेको छ।

यस कम्पनीले नै शिवम् होङ्सी सिमेन्टमा लगानी गरिसकेको छ। जुन नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उद्योग हो। सो उद्योगले तीन वर्षदेखि लगातार उत्पादन समेत दिइरहेको छ।

होङ्सी (हङकङ रेडलायन) बाहेक एचएस इन्भेस्टमेन्ट कम्पनीले हाउजिङ क्षेत्रमा लगानी गर्ने गरी आवेदन दिएको छ। यस कम्पनीको भने विस्तृत लगानीको प्रक्रिया नपुगेकोले उद्योग विभागले अहिले नै लगानी प्रस्ताव स्वीकृत गर्ने प्रक्रिया अघि बढाएको छैन।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .