नेपाल आर्थिक पत्रकार संघ (नाफिज)सँगको सहकार्यमा मर्चेन्ट बैंकर एशोसिएसन अफ नेपालले आर्थिक पत्रकारहरूको क्षमता अभिवृद्धि तालिम आयोजना गरेको छ।
एशोसिएसले समाचार सम्प्रेषण गर्ने पत्रकारहरूको क्षमता अभिवृद्धि भएमात्र पुँजी बजारका बारेमा सही समाचार आम सर्वसाधारणमा जाने महसुस गरेर आर्थिक पत्रकारको क्षमता विकासका लागि तालिम आयोजना गरेको हो। जसमा नेपाल धितोपत्र बोर्डका नायव कार्यकारी निर्देशक रूपेश केसी र एशोसिएसनका महासचिव पारसमणि ढकालले बुक बिल्डिङबारे प्रस्तुतीकरण दिएका थिए।
कार्यक्रममा एशोसिएसनका अध्यक्ष मेखबहादुर थापाले यस्ता तालीम देशव्यापी आयोजना गर्ने र त्यसका लागि नाफिजसँग सहकार्य गर्ने बताए। सहभागी वक्ताहरूले पुँजीबजारमा गलत सूचना प्रवाहले लाखौं लगानीकर्ताको लगानी जोखिममा पर्न सक्ने बताए।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले आम लगानीकर्ताले पनि सूचना लिँदा आधिकारिक स्रोतको प्रयोग गर्नुपर्नेमा जोड दिए। गलत सूचनाका कारण लाखौं लगानीकर्ता प्रभावित हुने भएकाले सम्बद्ध निकाय पनि सूचना प्रवाहमा सजग हुनुपर्ने जिकिर उनले गरे।
बोर्डका पछिल्ला निर्णय र कार्यले पूँजीबजारमा नयाँ–नयाँ कीर्तिमान कायम हुँदै गएको दाबी उनको छ।
यस्तै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले आम लगानीकर्तालाई सूचनाको व्यवस्थापन गर्न सुझाव दिए। सीडीएस एन्ड क्लियरिङका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले प्राविधिक कारणले सिस्टममा समस्या देखिँदा पनि संस्थालाई जोडेर सूचना प्रवाह हुँदा संस्थाप्रति लगानीकर्ता रुष्ट हुने देखिएको भनाइ राखे।
उनले अर्को साताबाट मेरो सेयरमा कुनै पनि समस्या नदेखिने बताए।
मेरो सेयरको समस्या समाधानका लागि गत हप्ता २ वटा सफ्टवेयर जडान गरिएको छ। तर, पुँजी बजारमा धेरै संस्था आवद्द भएकाले एकमा समस्या आउँदा अर्को प्रभावित हुने गरेको उनको भनाइ छ। कहिले इन्टरनेट राम्रो नचल्दा पनि सीडीएससीलाई नै दोष दिइने गरेको उनको भनाई छ।

प्रतिक्रिया