बीबीसी मास्टर सेफ प्रोफेसनल्स युके–२०२० का उपविजेता सन्तोष शाहलाई नबिल बैंकले यस वर्षको ‘नबिल हिरोज अफ नेपाल’बाट सम्मानित गरेको छ।
शाहको सम्मानका खातिर नेपाली युवाहरुलाई समेत अभिप्रेरित गर्ने उद्देश्यले बैंकले नेपाल प्रज्ञा प्रतिष्ठानमा एक अन्तक्र्रियात्मक कार्यक्रम गरेको हो।
त्यसमा मिस नेपाल (२०१९) अनुष्का श्रेष्ठसँगै बैंकका सीईओ अनिल शाहले सेफ सन्तोषसँग अन्तक्र्रिया गरे।
सो क्रममा सेफ सन्तोष शाहले जीवनमा केही बन्नखोज्ने युवाहरुलाई उत्प्रेरित गरेका छन्।
‘नबिल बैंकको ‘हिरो अफ द इयर’ बन्न पाएको छु तर म यो जिम्मेवारी लिन्न’, कार्यक्रमको सुरुमै उनले भने, ‘नेपाली स्वाद पस्किने होटल खोल्नुपर्छ भन्नुभएको छ। यो भनेको जिम्मेवारी दिएको हो।’
उनले उदाहरण दिए– गाउँघरमा छोरा बिग्रियो भने बिहे गरिदिने भन्छन्। त्यो भनेको जिम्मेवारी दिने भनेको हो।
उनले यसको लागि बैंकलाइ धन्यवाद दिए।
सफलता कसरी पाउने?
‘कुराले मात्रै केही हुँदैन। हामी नमरुन्जेलसम्म सिकिरहेका हुन्छौँ’, उनको सुझाव छ, ‘कुनै पनि क्षेत्रमा हुनुहुन्छ भने नयाँ कुरा सिक्ने अवसर नगुमाउनुहोस्।’
शाह थप्छन्–
मेरो बाल्यकाल अरुको जस्तै हो। मेरो काठको घर, एकपटक साथीहरु बेलायतबाट आएका थिए। उनीहरुले मेरो घरलाई ‘सो एक्सपेन्सिभ हाउस’ भने। हामी बिल्डिंगलाई देख्दा यसो भन्छौँ। आफ्नो आफ्नो हेराइ हो।
सेफ बन्छु भन्ने सन्तोषलाई लागेकै थिएन। यहाँसम्मको यात्रा कसरी सुरु भयो त? सन्तोषले सुनाए–
गरिबीकै कारण भारत लागेँ। पढाइबारे थाहा थिएन। डाक्टर, इन्जिनियर भन्ने त पत्तै थिएन। होटलबारे पनि जानकारी नै थिएन। भारतमा होटल देख्दा दंग परेँ। सेतो पहिरनमा होटलमा काम गरिरहेका मान्छे। गाउँमा देखेभन्दा फरक होटल। अचम्म लाग्थ्यो।
जहाँ जो जेबाट पनि सिक्न सकिने उनको भनाइ छ। भन्छन्, ‘आफू के सिक्ने त्यो व्यक्तिमा निर्भर हुन्छ।’
हामीलाई दैनिक आवश्यक पर्ने पैसाबारे सन्तोषले रोचक शैलीमा सुनाए–
लोभ लाग्ने कुरा भनेको पैसा हो। तर एकदमै चाहिने पनि पैसा नै हो। भारतमा होटलमा काम गर्दा मेरो तलब ९ सय भारु थियो, त्यो भनेको १५ सय नेपाली। यतिले वर्षभरि घरमा आमालाई दाल चामल किन्न पुग्थ्यो।
त्यतिबेला सेफको १६ हजार तलब थियो। तर त्यसपछि भने मलाई आफ्नो तलब निकै कम जस्तो लाग्यो। यसले मलाई अगाडि बढ्न प्रेरणा नै मिल्यो।

युवाहरुलाई उनको सुझाव छ –
कसैलाई नोक्सानी नपुर्याई लोभी बन्नुपर्छ। १६ हजार कमाउनलाई पढाइ चाहिन्छ भन्ने थाहा पाएँ। ‘तलब क्यासमा दिन्थे, मैले पहिलो तलब ५० चोटि गनेँ’, उनले पहिलोपटक अविस्मरणीय क्षण सार्वजनिक गरे।
त्यसपछि उनलाई पढ्नुपर्छ भन्ने भयो तर कलेजै जानुपर्छ भन्ने नभएको उनको भनाइ छ। भन्छन्, ‘यो मेरो व्यक्तिगत विचार हो।’
‘हामी नेपालीमा भाग्यमै छैन भन्ने चलन छ। तर म भन्छु– भाग्य आफैँ बनाउने हो’, थप्दै उनी भन्छन्, ‘भाग्यलाई पनि समय दिनुपर्छ, यतिकै भाग्य बलियो हुँदैन।’
नबिल बैंकबाट सम्मानित गरिरहँदा उनले नबिल बैंकले आफूलाई एक रुपैयाँ पनि नदिएको स्पष्ट पारे।
सीईओ अनिल शाहलाई देखाउँदै उनले भने, ‘यो सम्मानमा के के दिनुहुन्छ, थाहा छैन तर सम्मान पाउने अवस्था मिहिनेतकै कारण आएको हो।’
केही पहिलेको प्रसंग जोड्दै उनले भने –
युवाहरुलाई प्रेरणा बाँड्न नाम्चे जाँदा कति पैसा लिने भनी सोधेका थिए, मैले पैसा लिन्न भने। बरु पाँचवटा च्यारिटीको नाम दिएँ, जहाँ इच्छा लाग्छ त्यहीँ दान गरिदिनुस् भनेँ।
भाग्यमा छ भनेर चुप नबस्न बरु लगनशील हुन सु्झाव दिँदै उनले भने, ‘ज्योतिषलाई आजसम्म हात देखाएको छैन।’
उनको धारणा छ–
भाग्यलाई हामी खिचेर ल्याउने काम गर्छौँ। टिभी हेरेर हामी धेरै दौडिन खोज्छौँ। जीवनमा सामान्य रुपमा सोच्यो भने ठूलो ठूलो काम सहजै बनिदिन सक्छ।
नेपाल आइसकेपछि उनले धेरै ठाउँ घुमिसकेका छन्। यसबीचमा उनलाई धेरै खाले प्रश्नहरु गरिए। त्यसमध्ये एउटा थियो– नेपालमा सुगर र प्रेसरका बिरामी बढेका छन्। यस्ता बिरामीलाई लक्षित गरी खानाबारे पुस्तक निकाल्न अनुरोध गरिएको उनले सुनाए। जवाफमा उनले २५ वर्षअघि यस्तो समस्या नभएको उल्लेख गरे।
‘नेपालमा २५ वर्षअघि अहिलेजस्तो सुगर र प्रेसर थिएन। किनभने हामी मौसमी खाना खान्थ्यौँ’, उनको भनाइ छ, ‘अहिले बाह्रै महिना जे पनि खान पाइन्छ। प्रकृतिविरुद्ध गएपछि यस्ता रोगहरु लाग्नसक्छन्। गर्मीको समयमा योंमरी खाँदा प्रकृतिविरुद्ध भएन र?’
जहिले पनि आफू सिक्ने क्रममै रहेको उनले बताए।
‘क्षमताको हिसाबले आफैँले आफैँलाई सोध्थेँ– ह्वाट इज नेक्स्ट?’
अहिले यो स्थितिमा आइपुग्दा उनलाई तपाईंको गुरु को भन्नेहरु प्रशस्तै रहेको उनले खुलाए। ठ्याक्कै किटेर यही नै हो मेरो गुरु भन्ने अवस्था नरहेको सन्तोषको भनाइ छ। त्यही भएर त उनी भन्छन्– जहाँ जतिबेला पनि जोसुकैसँग केही न केही सिक्न सकिन्छ।

यस्तो नेपाली देख्दा गर्व लाग्छः अनिल शाह
नबिल बैंकका सीईओ अनिल शाह सन्तोष शाहले पाएको सफलताको यात्रामा खुसी छन्।
सोही कार्यक्रममा सन्तोषको प्रशंसा गर्दै उनले भने, ‘अरुले बनाइसकेको बाटोमा हिँडेँ म। सेफ सन्तोष शाह मनको बाटोमा हिँड्नुभयो। सपनालाई साकार गर्न लाग्नुभयो।’
सन्तोषले सधैँ ‘म जहाँबाट आएँ उहाँ निर्धक्क भन्नुहुन्छ– म यो ठाउँबाट आएँ, यो गाउँबाट आएँ भनेर संसारलाई चिनाउने’ गरेकोमा शाहले खुसी प्रकट गरे।
‘म सन्तोषलाई जति पछ्याउँछु, उति गर्व गर्छु। सन्तोष जहाँ जानुहुन्छ, युवाहरुलाई हामी पनि सक्छौँ भन्ने देखाउनुहुन्छ’, शाहले भने।
युवाहरुलाई मात्रै नभई सन्तोषले आफूलाई पनि अभिप्रेरणा दिएको शाहको भनाइ छ।
सन्तोष ९५ प्रतिशत समय नेपालमा युवाहरुसँगै बिताइरहेको भन्दै शाहले उनलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताए।
अन्तर्क्रिया सुरु हुनुअघि शाहले सन्तोषजस्ता व्यक्तिबाट नेपालको पर्यटन क्षेत्रले धेरै लाभ लिनसक्ने बताएका थिए।
‘यो यस्तो व्यवसाय हो, जो नेपाली अर्थतन्त्रको खम्बा हो। पर्यटनले गाउँ गाउँमा हरेक नेपालीको घरमा चुल्हो बाल्नसक्छ’, उनले भने, ‘सन्तोष त्यही क्षेत्रका प्रतिनिधि हुन्।’
सन्तोषजस्ता नेपालीले नेपालमा लाखौँ पर्यटक भित्र्याउन सक्ने उनले बताए।
सीईओ शाहको चाहना छ, ‘सन्तोषको नेपाली मिठाइ, न्युयोर्क र दोहाजस्ता सहरमा पनि किन्न पाऊँ?’

प्रतिक्रिया